२ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

युएईमा बन्धक ५४ नेपाली कामदारबारे मानव अधिकार आयोगको चासो

वैदेशिक रोजगारका लागि संयुक्त अरब इमिरेट्स (युएई) पुगेका ५४ जना नेपाली कामदार एक महिनाभन्दा बढी समयदेखि बन्धकमा परेको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ। आयोगले वैदेशिक रोजगार विभाग र परराष्ट्र मन्त्रालयलाई पत्र पठाएर यसबारे आवश्यक पहल र ध्यानाकर्षणका निम्ति आग्रह गरेको हो।

काठमाडौं नयाँ बानेश्वरस्थित म्यानपावर कम्पनी ओशो रिक्रुटिङ एजेन्सीले श्रम सम्झौताबमोजिम उनीहरूलाई रोजगारीका लागि पठाएको हो। युएईको टोर्नाडो ग्रुपमा गार्डेनरका रूपमा काम गर्न भनेर पठाए पनि सम्झौताअनुसारको काम नपाएपछि उनीहरू समस्यामा परेका हुन्।

युएईमा बन्धक रहेका पीडितहरूका बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन आयोगले पत्राचार गरेपछि वैदेशिक रोजगार विभागबाट ओसो म्यानपावरलाई स्पष्टीकरण दिन बोलाएको मौखिक जानकारी आयोगलाई दिएको छ। 

राष्ट्रिय मानव अधिकार आयोगका आप्रवासी क्षेत्र अनुगमनको जिम्मेवारीमा रहेका उपसचिव कमल थापा क्षेत्रीका अनुसार वैदेशिक रोजगारीका निम्ति युएई पुगेका युवाहरू अप्ठेरोमा परेको भन्दै परराष्ट्र र वैदेशिक रोजगार विभागलाई चिठी लेखेका थियौं। 

परराष्ट्रबाट अनौपचारिक तवरले उद्धार भइरहेको सूचना आए पनि औपचारिक कुनै जानकारी नआएको उपसचिव क्षेत्रीले बताए। युएईमा बन्धक पीडितबारे विभागले ओसो म्यानपावरलाई बोलाएर स्पष्टीकरण लिने जानकारी आयोगलाई दिएको क्षेत्रीले बताए।

‘युएईमा पीडित युवाहरूलाई स्वदेश फिर्ता गराउन अविलम्ब आवश्यक सहजीकरण गराउने हिसाबले परराष्ट्र मन्त्रालय र विभागलाई चिठी पठाएका थियौं’, उनले नागरिकसँग भने, ‘म्यानपावरलाई उत्तरदायी बनाउने, स्पष्टीकरण लिने र दिने निर्देशन विभागलाई हुन्छ। त्यो हिसाबले विभागले ‘रेस्पोन्स’ गरेको छ। ध्यानाकर्षण भएको भन्ने खबर हामीले प्राप्त गरेका छौं।’

उनले भने, ‘परराष्ट्र मन्त्रालयको चाहिँ मिसनबाट काम भइरहेको छ भन्ने खालको जानकारी अनौपचारिक रूपमा दिएको छ। औपचारिक जानकारी हामीले प्राप्त गरिसकेका छैनौं । सबै काम भइसकेपछि उहाँहरूले सबै जानकार गराउनु होला ।’

वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार राष्ट्रिय मानवअधिकार आयोगबाट एउटा चिठी आएको थियो। ओसो म्यानपावरलाई बोलाएर स्पष्टीकरण लिने योजनामै रहेको उनले बताए।

एउटै कोठामा २५ जनाभन्दा बढीलाई भेडाबाख्रा झैं थुनेर राखिएको पीडितहरूको गुनासोसहितको समाचार नागरिकले प्रकाशन गरेको थियो। गर्मीमा गुम्सिएर पिउने पानीसमेत नपाई भोकैले मरिन्छ कि भन्ने पीडितहरूको गुनासो थियो। बन्धकमा परेकाहरू ओसो म्यानपावरमार्फत दुई समुह गरेर युएई पुगेका थिए।

गत जेठ ३१ गते युएई पुगेको दोस्रो समूह र त्यसअघि पुगेको पहिलो समूहलाई गार्डेनरको काम भनेर झुक्याई साउदी अरेबियाको सीमानजिकैको घनघोर जंगल रेखदेख र खजुर टिप्ने काम दिइएको पीडितले बताएका थिए। भोक मार्न नसकेर अरूसँग खानेकुरा माग्दै खाइरहेको पीडितको गुनासो थियो।

गार्डेनमा फूल रोप्नुका साथै फूलका बिरुवा कटिङ गर्ने भनी श्रम सम्झौता गरेर आफूसँग करिब दुई लाख रूपैयाँ ओसो म्यानपावरले लिएको पीडितहरूको दाबी छ। 

ओसो म्यानपावरले उनीहरूलाई सुक्खा तलब १२ सय दिराम (नेपाली ४३ हजार ६ सय ६८ रूपैयाँ) हुन्छ भनेका थिए। ओसो म्यानपावरबाट ३८ जनाको पहिलो समूह र बाँकी १६ जना दोस्रो समूहमा गएको युएईमा बन्धक पीडितहरूले बताएका थिए।

फूलबाबु यादव एजेन्ट र म्यानपावरलाई सम्पर्क गर्दा उल्टै धाकधम्की दिने गरेको पीडितहरूले बताएका थिए। युएई पुगेका ५४ जनाले सकुशल स्वदेश फर्कन पाऊँ भन्दै उद्धारका लागि हात फैलाइरहेका थिए।

श्रम, रोजगार सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता गोविन्द रिजालका अनुसार युएईमा रहेका ती सबै पीडित समस्यामुक्त भएका छन्। ‘श्रम सहचारी पठाएर उनीहरूका समस्या बुझेर समाधान गरेका छन्’, उनले भने, ‘उनीहरू अहिले समस्यामा छैनन्। समस्यामा नभएको मलाई एउटा मेल पनि आएको थियो। 

प्रकाशित: १६ श्रावण २०८१ ०७:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App