२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

युनिसेफले कर्णालीका बालबालिकासँग जोडिएर काम गर्ने

नेपालका लागि युनिसेफ प्रतिनिधि एलिस आकुंगाले कर्णालीमा स्वास्थ्य, पोषण, शिक्षा, बालविवाह, संरक्षणका मुद्दाहरू अझै पनि चिन्ताको विषय बनेको बताएकी छन्। युनिसेफको कर्णाली प्रदेशस्तरीय कार्यालय हालै सुर्खेतमा उद्घाटन गर्दै आकुंगाले कर्णालीको मातृ मृत्युदर राष्ट्रिय औसतभन्दा बढी रहेको र पुड्कोपनाले बालबालिकाको ठुलो हिस्सालाई प्रभावित पारेको पनि बताइन्।

उनले कर्णालीमा पूर्वप्राथमिक भर्ना दर न्यून हुनु तथा उच्च माध्यमिक कक्षामा विद्यालय छाड्ने दर उच्च रहनु पनि चिन्ताको विषय भएको बताइन्। उनले सुरक्षित खानेपानीमा न्यून पहुँच हुँदा जनस्वास्थ्यमा असर परिरहेको बताइन्। उनले विभिन्न खाले हिंसाले महिला तथा बालबालिकाको जीवनमा असर परिरहेको पनि बताइन्।

‘कर्णालीमा बालविवाह र लैंगिक हिंसा धेरै छ,’ उनले भनिन्, ‘यसले महिला तथा बालबालिकाको गुणस्तरीय जीवनमा असर पारिरहेको छ।’ उनले गत कात्तिकमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको स्मरण गर्दै कर्णाली प्रदेश पहिरो, खडेरी, भूकम्प, बाढी, हिमपातजस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको बताइन्।

‘हामी सबै त्यो विनाशकारी भूकम्पको प्रभावबारे अवगत नै छौं,’ उनले भनिन्, ‘जुन प्रभावहरूको सामना गर्न हामी अझै पनि समुदायहरूमा प्रतिकार्य, पुनस्र्थापना तथा पुनर्निर्माणमा सहयोग गरिरहेका छौं।’ उनले यस्ता विपद्हरूले कर्णालीका बालबालिका र परिवारहरूमा थप चुनौती बढाउनुका साथै जीविकोपार्जन र अत्यावश्यक सेवाहरूको पहुँचमा बाधा पुर्‍याएको बताइन्।

आकुंगाले युनिसेफका कार्यक्रमलाई सरकारका नीति तथा योजनाहरूसँग निरन्तर समाहित गर्दै आइरहेको जानकारी गराइन्। ‘हाम्रा कार्यक्रमहरू सबै तहका सरकारसँगको सहकार्य र साझेदारीमा अगाडि बढाउँछौं,’ उनले भनिन्, ‘हाम्रा प्रयासहरू विश्वव्यापी दिगो विकास लक्ष्य-२०३० अन्तर्गत नेपाल सरकारले निर्धारण गरेका लक्ष्यहरू हासिल गर्न सहयोगी हुने दिशामा केन्द्रित छन्।’

आकुंगाले भूकम्पपछि युनिसेफ अझ नजिक आउनुपर्छ भन्ने समुदायको अनुरोध र सुझावका आधारमा कर्णालीमा कार्यालय स्थापना गरिएको बताइन्। ‘जाजरकोट, रुकुम पश्चिमजस्ता ठाउँहरूको भ्रमणका क्रममा मैले समुदायका सदस्य र स्थानीय अगुवाबाट युनिसेफ अझ नजिक आउनुपर्छ भन्ने अनुरोध र सुझाव बारम्बार सुनें,’ उनले भनिन्, ‘त्यसैले हामीले उहाँहरूको सुझाव मनन गर्‍यौं र सुर्खेतमा कर्णाली प्रदेश कार्यालय स्थापना गर्ने निर्यण गर्‍यौं।’

उनले कर्णालीका बालबालिका र परिवारसँग युनिसेफले निकटता बढाउने प्रतिबद्धता जनाइन्। ‘नजिक हुनुको अर्थ हामी आपत्कालीन अवस्थामा अझ बढी छिटो र छरितोसँग प्रतिकार्यमा प्रदेश, स्थानीय सरकार र साझेदार संस्थाहरूसँग हातेमालो गर्न, स्थानीय आवश्यकता पूरा गर्न, कार्यक्रमहरू अझ प्रभावकारी तरिकाले योजना तयार गर्न र कार्यान्वयन गर्नका साथै समुदायसँग बलियो सम्बन्ध निर्माण गर्न सक्छौं,’ उनले भनिन्, ‘यसको अर्थ कर्णाली प्रदेशका बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण र सर्वांगीण विकासमा सुधार ल्याउन हाम्रो प्रयास अझ प्रभावकारी हुन सक्छं।’

आकुंगाले युनिसेफको मुख्य उद्देश्य कुनै पनि बालबालिका जोसुकै वा जुन कुनै क्षेत्रको भए पनि पछाडि नपरून् भन्ने रहिआएको बताइन्। 

प्रकाशित: ११ श्रावण २०८१ ०६:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App