२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

विमानस्थलमै जहाज दुर्घटना: उद्धारमा लापरबाही

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पेरिमिटिरभित्र बुधबार बिहान जहाज दुर्घटना भएपछि तत्काल उद्धारमा ढिलासुस्ती गरिएको छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार बिहान ११ः११ बजे जहाज दुर्घटनामा परेको हो। सिसिटिभी फुटेजमा पनि जहाज दुर्घटना भएको देख्न सकिन्छ। प्रहरीले विमान दुर्घटनामा परेको डेढ मिनेटमै थाहा पाएको थियो। प्रहरीले तुरुन्तै सञ्चार सेटमार्फत नागरिक उड्डयन प्राधिकरणसहित सबै निकायलाई दुर्घटनाको खबर गरिसकेको अवस्थामा विमानस्थल परिसरमा रहेकै दमकल भने समयमा परिचालन हुन सकेन।

विमान दुर्घटना भएको १५ मिनेटसम्म पनि उक्त दमकल दुर्घटनास्थलमा पुग्न सकेन। दुर्घटनास्थलमा दमकल कताबाट लैजाने भन्ने छलफल गर्दागर्दै ढिला भयो। दुर्घटनाको कारण छानबिन समितिले खोज्ला। तर दुर्घटनास्थलमा समयमै दमल नपुग्नुमा विमानस्थल प्रशासन र प्राधिकरणको गम्भीर लापरबाही देखिएको छ।

आइकाओको अन्तर्राष्ट्रिय मापदण्डअनुसार विमानस्थलको पेरिमिटरभित्र विमान दुर्घटना भए कम्तीमा दुई मिनेटभित्र दमकल पुगिसक्नुपर्छ। तर बुधबार १५ मिनेटसम्म पनि दुर्घटनास्थलमा दमकल पुगेन। करिब–करिब जहाज जलिसकेपछि दमकल पुगेको थियो।

यसमा नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमन र व्यवस्थापन पक्षको कमजोरी प्रष्ट देखिएको छ। ‘सेफ्टी रेगुलेसन’मा प्राधिकरण चुकेको छ । दमकल पुगेपछि पनि आगो निभाउन कम्तीमा २५ मिनेट लागेको थियो । आगो नियन्त्रणमा आउँदा करिब–करिब ११ः५५ भएको थियो।

तर विमानस्थल प्रशासनले ११ः४० बजे नै नियन्त्रणमा आएको भनेर प्रचार गर्‍यो। दुर्घटना भएको पाँच मिनेटमै नेपाली सेनाको बम डिस्पोजल टोलीका प्रमुख सेनानी ( कर्णेल) रामज्योति बोहोरा परिचालित भएका थिए। उनकै टोलीले पाइलट मनिष शाक्यलाई उद्धार गरेको हो। शाक्यको उद्धार गरेर अस्पताल पुर्‍याउँदासम्म दुर्घटनास्थलमा दमकल पुगेको थिएन।

उनको उद्धार ११ः३० बजे भएको थियो। शाक्यसँगै अन्य तीनजनालाई पनि सोही समयमा उद्धार गरी त्रिवि शिक्षण अस्पतालमा पठाइएको थियो। त्यस बेलासम्म विमानस्थलमा रहेका दमकल घट्नास्थलमा नपुग्नुले गम्भीर लापारवाही भएको पुष्टि हुन्छ।

गत जेठ २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भए कसरी उद्धार गर्ने भन्ने अभ्यास गरिएको थियो। विमानस्थलमा आपत्कालीन अवस्थामा सम्बन्धित निकायले प्रभावकारी रूपमा उद्धारको काम गर्न सक्छन् कि सक्दैनन् भन्ने जाँच गर्न एयरपोर्ट इमरजेन्सी प्लानअनुसार यस्तो अभ्यास गरिएको हो। तर बुधबार सबै प्रक्रियामा प्राधिकरण प्रशासन चुकेको देखियो। यसैबीच सरकारले विमान दुर्घटनाको शोकमा बिहीबार राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको छ।

प्रकाशित: १० श्रावण २०८१ ०६:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App