२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

विराटनगरमा दिउँसै १४ लाख लुटपाट

विराटनगर महानगरपालिका–३ स्थित नेपाल आयाल निगम नजिकबाट आइतबार दिउँसो एक व्यवसायीको कार्यालयबाट १४ लाख रुपैयाँ लुटपाट भएको छ। विवेक कर्णको पाथीभरा म्यानपावर सप्लायर्सको कार्यालयबाट १४ लाख ४७ हजार रुपैयाँ लुटपाट भएको हो। कर्णको कार्यालयबाट रकम लुटपाट भएको खबर घटना भएको करिब २ घण्टापछि मात्रै थाहा पाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए। 

घटनाबारे मिडियामा समाचार आएपछि मात्रै थाहा पाएको बताउँदै, डिएसपी जोशीले भने, ‘कसैको पनि थोरै रकम हराए वा लुटपाट भए तत्कालै प्रहरीलाई खबर गर्ने वा वरपर हल्ला गर्ने हुन्छ। तर, यहाँ त्यस्तो केही भएको छैन। अफिस कोठाभित्र टेबलमा राखेको १४ लाख ४७ हजार रुपैयाँ लुटपाट भएको भन्ने साचारबाट मात्रै थाहा पायौं। उहाँहरुले कसैले पनि प्रहरी वा वरपर खबर गर्नु भएन। त्यसका कारण घटना भएको भनिएको समयभन्दा करिब २ घण्टा ढिला समाचार आएपछि थाहा थयो।’

‘मिडियामा घटना सार्वजनिक हुने बित्तिकै सम्बन्धित व्यक्ति र कार्यालयका कर्मचारीलाई सम्पर्क गर्न खोज्दा कोही पनि सम्पर्कमा आउनु भएन। लुटपाटको घटना हो भने उहाँहरु कसैले पनि प्रहरीलाई तत्कालै खबर गर्नु पथ्यो। हामीले उहाँहरुलाई फोनमार्फत सुरुमा सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन नमानेपछि प्रहरीको टोली नै त्यहाँ पुगेर घटनाबारे अनुसन्धान थालेको बताउँदै, डिएसपी जोशीले भने, ‘विवेक कर्णको कार्यालय भए पनि सम्पूर्ण रेखदेखदेखि कार्यालयको सम्पूर्ण काम कारबाही उनका भान्जी ज्वाइँ नाताका अमरेशकुमार कर्णको जिम्मा रहेछ। अमरेशकुमारको कोठाभित्र रहेको टेबलबाट रुपैयाँ लुटपाट भएको भनिएको छ।’

अमरेशकुमारलाई उद्दृत गर्दै डिएसपी जोशीले भने, ‘पाथीभरा म्यानपावर सप्लायर्सका कामदारहरूको भुक्तानीका लागि कञ्चनबारीको एभरेष्ट बैंकबाट रकम निकालेर घर गएँ, घरमा खाना खाएपछि कार्यालय आएर आफ्नो अफिस कोठामा रहेको टेबलमा रकम भएको ब्याग राखी नजिकैको दराजमा कागजपत्र खोज्न थाले। त्यसको केही समयमै टेबलमा हेर्दा ब्याग देखिन। ब्याग नदेखेपछि बाहिर आएर हेर्दा २ जना मान्छे मोटरसाइलकमा आयल निगमतर्फ जाँदै गरेको देखेँ।’

घटनाको विभिन्न तवरबाट अनुसन्धान थालेको डिएसपी जोशीको भनाइ छ। घटनाको अनुसन्धानमा घटनामा प्रहरी व्यापक रुपमा परिचालन गरिएको उनले बताए। बैंक, सडकमा रहेका सिसी क्यामेरा हेर्नेदेखि अन्य अनुसन्धानका पाटो केलाएर अघि बढी सकेको हुँदा छिटोभन्दा छिटो घटनाबारे यर्थाथ बाहिर आउने प्रहरीले जनादएको छ। 

प्रकाशित: ७ श्रावण २०८१ ०७:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App