२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

१०औँ दिनमा पनि भेटिएनन् त्रिशूलीमा खसेका बस र ३७ यात्रु

चितवनको सिमलतालबाट खसेर त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बस अझै भेटिएका छैनन । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विशेषज्ञ टोलीले अघिल्लो शुक्रबारदेखि खोज्दा असफल भएपछि भारतीय टोलीसमेत लाग्दा यी बस र बसमा सवार अधिकांश यात्रु नभेटिएका हुन् ।

सिमलतालको पहिरोमा परेर वीरगन्जबाट काठमाडौं आउँदै गरेका बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २४९५ नम्बरको गणपति बस असार २८ गते त्रिशूलीमा बगेका थिए ।  जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार हालसम्म २५ यात्रुको शव भेटिएको छ । त्यसमध्ये १८ जना यात्रुको शव पहिचान भएको सहायक प्रमुख जिल्ला अधिकारी खिमान्द भुसालले जानकारी दिए । शव पहिचान हुनेमा १३ जना नेपाली र पाँच जना भारतीय नागरिक छन् । दुई वटा बसमा ६५ यात्रु सवार रहेकोमा तीन जनाले हाम फालेर ज्यान जोगाउन सफल भएका थिए । ६२ यात्रु बेपत्ता थिए ।

शव पहिचान हुने मध्येमा भारतका ऋषि पाल शाह, जयप्रकाश ठाकुर, सजाद अन्सारी, साहनबाज आलम र विवेक कुमार रहेका छन् । त्यस्तै चितवनका विकास परियार, सुदिप विक, रौतहटका किशोर कुमार चौधरी, अशोक कुमार यादव, अमृता कुमारी, तुलसी दास, सर्लाहीका रमित कुमार माझी, जितेन्द्र राम महरा, पर्साका चन्द्र प्रभा कुमार चौधरी, बाराका परमानन्द पण्डित, मेलम्ची नगरपालिका १ का ठाकुरप्रसाद चौलागाई, भक्तपुरका राजेन्द्र लामिछाने रहेका छन् । भेटिएका मध्ये १३ वटा शव भारतीय भूमिमा फेला परेका हुन् ।

यसलाई मध्यनजर गर्दै सुरक्षा निकायले घटना स्थलदेखि तलको भूभाग, नवलपरासी(बर्दघाट सुस्ता पूर्व र पश्चिम)का जिल्ला र भारतसंग समन्वय गरी खोजी कार्य जारी राखेको सहायक प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए।

 ‘छिमेकी जिल्ला र भारतसंग समन्वय गरी खोज तथा उद्धार कार्यलाई नेपालका प्रविधि प्रयोग गरेर तीव्रता दिइरहेका छौँ,’ भुसालले भने ‘अपेक्षाकृत नतिजा आउन सकेको छैन ।’ घटना घटेको अवधिमा नदीमा बहाव अत्यन्त बढेको र गण्डक नहर ब्यारेजबाट पानीको बहावले शवहरू बगाउन सक्ने हुनाले भारतस्थित बिहार राज्यको पश्चिम चम्पा नगर जिल्लासंग पनि समन्वय भएको उनले बताए । खोज तथा उद्धारका लागि नेपालमा भएका वाटर ड्रोन(सोनार) क्यामेरा, र्‍याफ्टििङ बोट, मोटर बोट, गोताखोर साथै नदी किनारहरूमा सुरक्षाकर्मीले पैदल यात्रा मार्फत खोजी कार्यलाई जारी राखेका छन् ।

पानीको चाप अत्यधिक र नदी धमिलो भएकाले खोजी कार्य गर्न सुरक्षा निकायलाई समेत कठिन भएको छ । खोज तथा उद्धारका लागि ५ सयभन्दा बढी दक्ष जनशक्ति परिचालन भएका छन् । 

खोज तथा उद्धारका लागि भारतीय टोली परिचालित

सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बस तथा यात्रुको खोजीका लागि भारतीय टोली परिचालित भएको छ । विभिन्न उपकरणसहित आएको भारतको नेशनल डिजास्टर रेक्पोन्स र्फोस (एनडिआरएफ)को १२ जनाको टोली आइतबार बिहानदेखि परिचालित भएका हुन् । सात दिनको लागि आएका उनीहरुले पहिलो दिन घट्नास्थल सिमलताल क्षेत्र र देवघाट क्षेत्रमा खोज तथा उद्धारको लागि खटिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

 उनका अनुसार टोलीले सोमबार बिहानदेखि देवघाटभन्दा तल खोजिकार्य गर्नेछ । भारतीय टोलीमा तीन वटा सोनार क्यामेरा सहित चार जना गोताखोर रहेका छन् । एनडिआरएफका डिसी कुनाल तिवारीले भारतमा पनि यस्ता घट्नाका काम गरेको अनुभव रहेकाले खोजिकार्यमा समस्या नहुने बताएका छन् । ‘नेपालको जस्तो भौगोलिक वातावरण र नदी नाला भारतमा पनि छन् ।  त्यहाँ उद्धार कार्यमा नियमित सहभागी भएका हुन्छौँ,’ उनले भने ‘हामीले खोजिकार्यका लागि सक्दो प्रयास गर्नेछौँ ।’ लामो समयसम्म पनि बस नभेटिएपछि सरकारले भारतबाट गोताखोर टोली ल्याएको हो । 

प्रकाशित: ६ श्रावण २०८१ १९:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App