२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

भरतपुर महानगरमा ३३ वर्षमा तीन वटा दमकल

चितवनको भरतपुर महानगरपालिकाले बारुण यन्त्र (दमकल) सेवा विस्तार गरेको छ । पश्चिम भरतपुरलाई लक्षित गर्दै महानगरपालिकाले वडा नम्बर २० मा सेवा पुर्‍याउने गरी विस्तार गरेको हो । महानगरपालिका प्रमुख रेनु दाहालले दमकल इकाईको उद्घाटन गर्दै पश्चिम भरतपुरका झण्डै १५ वटा वडाहरुमा हुने गरेका विपद तथा विपदजन्य घटनाहरुलाई न्यूनिकरण गर्न यस इकाइले महत्वपूर्ण भूमिका खेल्ने बताईन् । उनले पश्चिम चितवनमा आगलागी जस्ता विपत्तिका घट्नाहरु बढी हुने भएकाले सेवा विस्तार गर्न परेको जानकारी दिइन् ।  

उपप्रमुख चित्रसेन अधिकारीले महानगरपाकिाले भरतपुर २० मा बारुण यन्त्र केन्द्र स्थापना गरी जनतालाई थप सुरक्षित महशुस गराउने प्रयास गरेको बताए ।  

यससंगै भरतपुर महानगरपालिकामा तीन वटा दमकल भएका छन् । महानगरपालिकाले दुई महिना पहिले एक वटा थप गरेको थियो । तर, जनसंख्याको हिसाबले पुगेको छैन । यद्यपि सेवा केन्द्र थपले केही सहज हुने भरतपुर महानगरपालिकाका दमकल शाखा प्रमुख देवेन्द्र रेग्मी बताउँछन् । ‘यसले पश्चिम चितवनको रिक्स कभर गर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भने ‘पूर्ण कभर चाँही अझै हुन सक्दैन ।’  

उनका अनुसार गत आर्थिक बर्षमा भरतपुर महानगरपालिका भित्र १ सय १४ आगोलागिका घट्ना भएका छन् । त्यसमध्ये सबैभन्दा धेरै पश्चिम चितवनमा भएको उनले बताए । ‘आगोलागिका ९० प्रतिशत घट्ना घर, गोठ र टौवामा हुन्छन् । केही वन, पोल्ट्री, बाख्रा फर्म र उद्योगमा भइरहेका छन्’–रेग्मीले भने ।

रेग्मीले भरतपुर महानगरमा पश्चिम चितवन क्षेत्रको लागि दमकल अति आवश्यक भएको बताए । उनले भने, ‘गोलाघाटमा आगो लाग्यो भने यहाँबाट जाँदाजाँदै धेरै क्षति भइसकेको हुन्थ्यो । त्यसैले पश्चिम चितवनको लागि एउटा दमकल स्टेशन आवश्यक थियो ।’  

प्रत्येक पाँच किलोमिटरमा एउटा दमकल स्टेशन हुनुपर्छ भन्ने मान्यता छ । तर, भरतपुर महानगरको दमकलले कम्तीमा ३० किलोमिटरको क्षेत्रमा जानुपर्ने अवस्था थियो । भरतपुर महानगरकै गोलाघाटसम्म जाँदा हामीलाई ४० मिनेट छ । टाढाको दुरीसम्म दमकल पुग्दा धेरै क्षति भइसक्थ्यो, उनले भने ‘अब त्यहाँ २० मिनेट भित्र नै जान सक्छौँ ।’ अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रत्येक १० किलोमिटरमा दुई वटा दमकल स्टेशन हुनेपर्ने माध्यता छ । तर, चितवनका कालिका केही पालिकामा दमकल समेत छैन । कालिका, रत्ननगर र गैँडाकोट नगरपालिकामा भरतपुरका दमकल पुग्ने गरेको उनले बताए ।  

भरतपुरमा २०४८ साल चैत्र ७ गते पहिलो दमकल ल्याइएको थियो । त्यसपछि थप गर्दै तीन वटा पुर्‍याईएको छ ।  

प्रकाशित: ४ श्रावण २०८१ १५:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App