२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

वर्षाले रुप्साका २२ घर जोखिममा

असार ३० गते रातिको वर्षाले कालीकोटको जनजीवन अस्तव्यस्त बनाएको छ । यहाँको नरहरिनाथ गाउँपालिका–५ रुप्सा गाउँमा मात्र २२ घर पहिरोको जोखिममा परेका छन्। केही घर भत्किसकेको र केही घर भत्किने खतरा भएकाले २२ परिवारका १४२ जना विस्थापित भएर आफन्तको घरमा बसिरहेका वडाध्यक्ष मानबहादुर सहकारीले बताए।

‘पहिरोले जमिन पुरै चिरेकाले घरमा बस्न सकिने अवस्था छैन,’ उनले भने, ‘सातवटा घर त पूर्ण रूपले भत्किसके, अरू घर पनि चर्किएका छन्।’ 

उनका अनुसार नरहरिनाथ गाउँपालिका–५ रुप्सा गाउँ पुरै जोखिममा परेको छ। उनले विस्थापित परिवारलाई आफन्त र विद्यालयमा बसालेको जानकारी दिए।

वर्षाले गोठ भत्किँदा माझआँगनका जयसुर सहकारीका दुईवटा भैंसी मरे भने नरहरिनाथ गाउँपालिका–७ माल्कोटका बिर्केस बटालाका एक हल गोरु पनि मरेको स्थानीय पदमबहादुर विष्टले बताए । नरहरिनाथ–५ का पदमबहादुर सहकारी, दिलबहादुर सहकारी, आउसे सहकारी, गोविन्द सहकारी, भुवनसिंगे सहकारी, मन सहकारी, जयरूप सहकारी, मिम सहकारी लगायतको घर भत्किएको छ।

त्यस्तै मनसिंगे सहकारी, रतने सहकारी, अमर सहकारी, धनबहादुर सहकारी, मनरूप सहकारी, धर्मे सहकारी, पदमबहादुर सहकारी, आउसे सहकारी, जुद्ध सहकारी, दुर्ग सहकारी, वीरबहादुर सहकारी, मिम सहकारी, जयरूप सहकारी, कृषना सहकारी, दिलबहादुर सहकारी, दिव्य सहकारी, जगतबहादुर सहकारीलगायत घर उच्च जोखिममा रहेको ५ नम्बर वडा कार्यालयले जनाएको छ।

पहिरोले घर भत्किएपछि खाने र बस्ने ठाउँ नभएको स्थानीय मनीषा बोगटीले गुनासो पोखिन् । ‘गाउँमा रुवावासी छ,’ उनले भनिन्, ‘हिँडडुल गर्ने बाटो पनि छैन।’

वर्षाले नरहरिनाथ गाउँपालिकाका विभिन्न वडाका गरी नौवटा खानेपानी योजना, १३ वटा कुलो बगाएको गाउँपालिका उपाध्यक्ष कमल शाहले बताए।

उनका अनुसार मकै र धानखेतीमा ४० प्रतिशत क्षति पुगेको छ। वडा नम्बर ३ को माडे गाउँको खानेपानी र कुलो पहिरोले बगाएको स्थानीय विपीन भट्टराईले बताए। आइतबार रातिदेखिको वर्षाले नरहिरनाथ गाउँपालिकामा पाँच, खाँडाचक्र नगरपालिकामा तीन र सान्नी त्रिवेणी गाउँपालिकामा चार गरी १२ वटा घर भत्किएको र नरहरिनाथ गाउँपालिकाभर ३३ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले जानकारी दिए।

वर्षापछि खोला बढ्दा पलाता–७ दुर्सी खोलानजिकैको खोरमा राखिएका पलाता–७ का धनबहादुर बम, राजबहादुर बम र गणेश बमका ८० मध्ये ५५ वटा बाख्रा दुर्सी खोलाले बगाएको छ। इलाका प्रहरी चौकी थिर्पुबाट गएको प्रहरी सहायक निरीक्षक लक्ष्मीप्रसाद कँडेलसहितको टोलीले बाख्रा मरेको मुचुल्का उठाएर जिल्ला प्रहरीमा जाहेरी पठाएको छ। पहिरोले अवरुद्ध कर्णाली करिडोर र राजमार्ग सञ्चालनमा आए पनि स्थानीय तह जोड्ने ग्रामीण सडक पुरै अवरुद्ध छन्।

सडकमा जताततै पहिरो

मनसुनको पहिलो झरीमै कालीकोटका ग्रामीण सडक बन्द भएका छन्। स्थानीय तहको प्राथमिकतामा सडक नै परेपछि प्रत्येक टोलटोलमा वातावरणीय प्रभाव अध्ययन नगरी बनाइएका सडकले पहिरोको जोखिम पनि निम्त्याएको छ। वर्षाका कारण कच्ची बाटो भत्किएर हिलाम्मे मात्रै भएका छैनन्। सडक नै पहिरोले बगाएको छ।

गाउँगाउँमा सडक पुर्‍याउने मुख्य योजना बनाएका कालीकोटका स्थानीय सरकारको होडबाजीले जथाभावी डोजर चलाउन छोडेका छैनन्। कतिपय स्थानीय तहले उपभोक्ता समितिमार्फत योजनाबिनै अनुमानका भरमा सडक निर्माण गरिरहेका छन् भने कतिपय ठाउँमा प्राविधिकबिना नै सडक बनेका छन्।

कालीकोटको शुभकालिका गाउँपालिकाको सुकाटिया, भर्ता जोड्ने सडक अहिले अवरुद्ध छ। यस्तै सान्नीत्रिवेणी जोड्ने सडक र कर्णाली राजमार्गसँगै कर्णाली करिडोर पनि पहिरोको चपेटामा रहेको छ। विभिन्न ठाउँमा पहिरो जाँदा सडक पटकपटक बन्द हुने गरेका छन् भने कर्णाली राजमार्ग अहिले पनि यात्रा गर्दा ध्यान दिनुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ। 

प्रकाशित: ४ श्रावण २०८१ ०६:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App