२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

नारायण नगरपालिकामा शिक्षक र कर्मचारी भर्नामा अनियमितता

दैलेखको नारायण नगरपालिकाका जनप्रतिनिधिले शिक्षक र कर्मचारी भर्नामा अनियमितता गरेको आरोप लागेको छ। प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर जनप्रतिनिधिले शिक्षक र कर्मचारी भर्नामा अनियमितता भएको आरोप गरेका हुन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार आचार्यले नगरपालिकाको लेटर प्याडमा पत्र लेखेर आफूलाई जनप्रतिनिधिहरूले धम्क्याएर करार सेवाका कर्मचारीको अवधि थप्न लगाएको समेत उल्लेख गरेका छन्।

आचार्यले मन्त्रालयलाई तीनवटा पत्र लेखेका छन्, जसमा सेवा करार अवधि नहुने सम्बन्धमा आफूलाई दुव्र्यवहार, अवहेलना र ज्यान मार्नेसमेत धम्की गरेकाले सेवा निरन्तरता गर्न बाध्य भएको बताएका छन्।

अर्को पत्रमा शिक्षक करार नियुक्ति सम्बन्धमा लेखेका छन्, जसमा वडा १ देखि वडा ११ सम्मका विद्यालयहरूमा कुनै पनि रकम विनियोजन नगरी ४५ जना शिक्षकलाई नगर प्रमुख लोमक शर्माले मौखिक निर्देशनको भरमा कामकाज गराएको उल्लेख छ।

कुनै पनि रकम विनियोजन नगरी २०८१ वैशाखदेखि असारसम्म तलब दिन्छु भनेर नगर प्रमुखले भनेको र करिब ३४ लाख रकम राज्यलाई आर्थिक दायित्व गराएको आरोप प्रमुख प्रशासकीय अधिकृत आचार्यले लगाउँदै सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेका छन्।

त्यस्तै उनले नारायण नगरपालिका ६ का वडाध्यक्ष जनक न्यौपानेले आफ्नी श्रीमतीलाई कार्यालय सहयोगीका रूपमा राखेर घरायसी काम गराई कार्यालयमा उपस्थित नभएर गुन्डागर्दीका भरमा तलब भत्ता भुक्तानी गराइरहेकाले छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बोधार्थ दिएर संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेका छन्।

उनले नगरपालिकामा कर्मचारी भर्नामा अनियमितता भएको भन्दै छानबिनका लागि पत्र लेखेका छन्। नगर सभामा वडा ९ का अध्यक्ष महेन्द्र खड्काले प्रमुख प्रशासकीय अधिृकतबाट कर्मचारी भर्नामा अनियमितता भएको भनेर मन्त्रालयलाई लेखेको पत्रहरू आफ्नो हातमा रहेको भन्दै सभामा पढेर छानबिनको समेत माग गरेका छन्।

प्रशासकीय अधिकृतको सरुवा पत्र आएपछि रक्सी खाएर कपोलकल्पित रूपमा नगरलाई आँच आउने गरी पत्र लेखेको आरोप नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले बताए। ‘प्रमुख प्रशासकीय अधिकृतले लेखेको पत्रमा कुनै पनि सत्यता छैन।’ नगर प्रमुख शर्माले भने, ‘सरुवाको पत्र आएपछि रक्सी खाएर नगरपालिकालाई आँच आउने पत्र लेख्नुभएछ, त्यो गलत छ।’

प्रकाशित: २९ असार २०८१ १३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App