२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

बदनाम म्यानपावर बजारमा ‘आकर्षण’को सुनाम

२०औं वर्षदेखि गुमनाम एउटा म्यानपावर कम्पनी छ, जसले १०औं हजारलाई सहजै बिनाशुल्क मलेसिया रोजगारीमा पठाएर लोकप्रियता हासिल गरिरहेको छ। यसमार्फत विदेश जाने सर्वसाधारण यसको प्रशंसा गरेर थाक्दैनन्। एजेन्ट पालेर बसेका नेपाल सरकारमा दर्तावाल म्यानपावर कम्पनीहरूले वैदेशिक रोजगारीका नाममा मच्चाएको ठगीधन्दालाई यसले रोकिरहेको छ। त्रिभुवन विमानस्थलनजिकै कार्यालय रहेको आकर्षण इन्टरनेसनल नामक म्यानपावर संस्थाले पारदर्शी किसिमले शून्य लागतमा श्रमिकलाई मलेसिया पठाइरहेको छ।

वैदेशिक रोजगारीका लागि भिसा आइसकेपछि युवा समूह खडा गर्दै प्रायः म्यानपावर कम्पनीले भिडियो गर्छन्, ‘हामीले तपाईंहरूसँग एक रूपैयाँ पनि लिएका छौं त ?’ जबाफमा पीडितलाई भन्न लगाइन्छ, ‘छैन, हजुर।’ मोबाइलमा रेकर्ड गर्दै म्यानपावर कम्पनीवालाहरूले फेरि भन्छन्, ‘तपाईंहरू फ्री भिसा फ्री टिकटमा विदेश जान लाग्नुभएको हो नि ?’ जबाफमा पीडितहरू भन्छन्, ‘हो हजुर ।’ यसरी वैदेशिक रोजगारीमा जाने युवाबाट म्यानपावर कम्पनीहरूले घुमाउरो तरिकाले लाखौं रूपैयाँ असुल्ने गरेका छन्।

अचेल प्रायः म्यानपावरले नयाँ तवरबाट युवालाई ठग्ने गरेका छन्। वैदेशिक रोजगारीका विभिन्न देश जान लागेका युवालाई म्यानपावर व्यवसायीले घुमाउरो तरिकाले एजेन्ट लगाएर ठग्न थालेका छन् । एजेन्ट लिएर आएका युवालाई आकर्षणले ढोकाबाटै बिदा गर्छ।

श्रमिक विदेश जाँदा भिसा, टिकट, मेडिकल परीक्षण, बिमा, कल्याणकारी कोष, सामाजिक सुरक्षा कोषसहित अन्तर्वार्तादेखि उडानसम्मको प्रक्रियामा आउनेजाने गाडीभाडा, खानेबस्ने व्यवस्थापन एवं राहदानीबापतको शुल्क भुक्तानीको समेत व्यवस्था आकर्षण आफैंले मिलाउने गरेको छ। विदेश पठाउने मात्र होइन, फर्केर आएपछि घर पुग्नेसम्मको खर्चसमेत आकर्षण म्यानपावरले बेहोरिरहेको छ। शून्य लागतको प्रक्रियाबाट वैदेशिक रोजगारीमा जाँदा श्रमिकहरूको घरपरिवारमा आर्थिक भार नपरेसँगै राज्यको ढुकुटीमा समेत टेवा पुग्ने गर्छ।

मलेसिया गई काममा रमाइरहेकी हेटौंडाकी पार्वती तामाङ आकर्षण म्यानपावरबाट दुई वर्षअघि मलेसियाको एनएक्सपी कम्पनीमा पुगेकी हुन्। भरपर्दो एक मात्रै म्यानपावर हो आकर्षण,’ उनी भन्छिन्, ‘वैदेशिक रोजगारीका लागि भौतारिएका युवाको रगत चुस्न बसेका अन्य म्यानपावरको तुलनामा आकर्षण म्यानपावर भगवान् हो। मलेसिया भनेर के गर्नु र ? यहाँ खानबस्न, काम र तलबसँगै सम्पूर्ण सुविधा छ। अरू मानिसहरू युरोपलगायत खाडी जानुपूर्व ठगिएका हुन्छन्। विदेश पुगेपछि पनि भनेझैं काम र सेवा–सुविधासहितको तलब हुँदैन।’ आकर्षणले पठाएको सयभन्दा बढी नेपाली एनएक्सपी कम्पनीमा काममा रमाएको उनी बताउँछिन्।

‘यस कम्पनीमा आकर्षण म्यानपावरमार्फत आएका करिब ४० महिला र ६० भन्दा बढी पुरुष कार्यरत छन्,’ तामाङ भन्छिन्, ‘उनीहरू सबैको अनुहार खुसीले भरिएको छ। नेपालमा तोकिएको भन्दा बढी तलब यहाँ पाउने गरेका छौं। सातामा दुई दिन बिदा हुन्छ। काम गर्न चाहेको खण्डमा त्यो दिन पनि काम गर्न सकिन्छ। ओभरटाइमको पैसा छुट्टै आउँछ।’

सुरुमा आकर्षणबाट मलेसियामा आउँदा २ हजार देखि २२ रिंगेट (नेपाली करिब ५८ हजार देखि ६३ हजार रूपैयाँ) सम्म तलब हुने उनले बताइन्। उनका अनुसार नेपालदेखि शून्य लागतमा आएर खान, बस्नलगायत यति तलब पाउनु धेरै राम्रो हो। ‘गाउँदेखि काठमाडौं आएसँगै खाएको बसेको खर्च मात्रै होइन, पासपोर्ट बनाउने कामसमेत आकर्षणले गर्ने गरेको छ,’ उनी भन्छिन्, ‘मलेसियासम्म आइपुग्दा मेरो एक रूपैयाँ पनि खर्च भएन। यहाँ आएका सम्पूर्ण साथीभाइ कसैको आफ्नो खर्च लागेको छैन। पुरै लागत आकर्षणले बेहोरेको हो । यसमा हामीले गौरव गर्नुपर्छ।’

आकर्षणको दैलोमा पुग्नुअघि उनले अन्य धेरै म्यानपावरबाट हन्डर ठक्कर खाएकी थिइन्। ‘आकर्षणमा जानुपूर्व धेरै म्यानपावर कम्पनीमा पुगेको थिएँ। अधिकांश म्यानपावरको देखाउने दाँत एउटा र चपाउने दाँत अर्को भेटियो । फ्री भिजा फ्री टिकटको बोर्डसहितका थुप्रै म्यानपावर कम्पनी भिजिट पनि गरेका थियौं । तर भित्र छिर्दा फ्री भिजा फ्री टिकट नाम मात्रै हुन्थ्यो । खाडी जान पनि लाखौंलाखको माग हुन्थ्यो,’ उनले भनिन्। उनी अन्य म्यानपावरबाट वाक्क भएर आकर्षण पुगेकी हुन्। उनलाई त्यसप्रति विश्वास थिएन। तर पछि आकर्षणले उनलाई विश्वास दिलाएरै छाड्यो।

तामाङको जस्तै कथा आकर्षणबाट जाने अर्का टंक पौडेलको पनि छ। उनी पनि आकर्षणबाट शून्य लागतमा मलेसिया पुगेर त्यहाँ माइक्रोन मेमोरी एसडिएन बिएचडी कम्पनीमा करिब वर्ष दिनदेखि कार्यरत छन्। ‘नेपालकै एक मात्र राम्रो म्यानपावर आकर्षण हो। देशमा यस्तै म्यानपावर अरू पनि भइदिए कोही पनि ठगिनुपर्दैनथ्यो,’ उनले भने, ‘कसैले जग्गा बेचेरै तथा ऋणधन गरेर विदेश धाउनुपर्दैनथ्यो। ऋण गरेर म्यानपावरलाई बुझाएको पैसा विदेशमा कमाउँदाकमाउँदै जुग बित्छ। त्यसरी गरिबसँग चुसेको म्यानपावरलाई सरकारले पनि केही गर्दैनन्।’ उक्त कम्पनीमा आकर्षणबाट गएका नेपाली मात्रै ११ सयजना कार्यरत रहेको उनले बताए।

त्यति मात्रै नभएर गाउँदेखि काठमाडौं आएर बस्न, खानसँगै पासपोर्टसमेत आकर्षण म्यानपावरले बनाइदिएको मलेसिया पुगेका अर्का एक नेपाली कामदारले बताएका छन्। उनका अनुसार यो शून्य लागत म्यानपावर हो। नेपालको एक शीर्ष एजेन्सी हो। ‘यो म्यानपावरले कुनै पनि प्रकारको भेदभाव गर्दैन,’ आकर्षण म्यानपावरबाट शून्य लागतमा मलेसिया पुगेका उनी भन्छन्, ‘बिनालागत विदेश आइपुगिन्छ भन्ने पहिला कहिले कल्पना नगरिएको कुरा हो। 

तर आकर्षण म्यानपावरले धेरै राम्रो गरेको छ ।’ उनी थप्छन्, ‘त्यहाँका कर्मचारीले पनि पैसाको कुरा गरेको सुन्न पाइन्न। उल्टै हामीले गाउँदेखि काठमाडौं र काठमाडौंदेखि विदेशसम्म आउँदाको खर्च पनि आकर्षणले दिने गरेको छ। गरिबहरूलाई फ्रीमा काम लगाइदिने काम गर्ने आकर्षक म्यानपावरलाई धन्यवाद छ।’

आकर्षण म्यानपावर नेपालकै नमुना रहेको मलेसिया पुगेका पौडेल बताउँछन्। नेपाल सरकारका दर्तावाल म्यानपावर कम्पनीहरूले सरकारले तोकेका नीतिनियम पालना गरी विदेश पठाउनुपर्छ । तर अधिकांश म्यानपावर कम्पनीहरूले १०/१५ जना एजेन्ट खटाएर वैदेशिक रोजगारीमा जान भौंतारिरहेका युवासँग आफूले चाहेअनुसारको पैसा उठाउने र विभिन्न देशसम्बन्धी जानकारी दिने गरेका हुन्छन्।

वैदेशिक रोजगारीका लागि बिनाएजेन्ट कुनै म्यानपावर कम्पनीमा पुगे भने युवालाई सहयोग हुँदैन । ठग्न बसेका म्यानपावर कम्पनीद्वारा उनीहरूलाई भनिन्छ, ‘यहाँ कुनै देशबाट पनि माग आएको छैन, दुईचार दिनमा राम्रा देशहरूबाट माग आउनेवाला छ। एकजना हाम्रै मान्छे हुनुहुन्छ, उहाँको सम्पर्क नम्बर लैजानुस्, उहाँसँगै कुराकानी गरेर उतै पैसा बुझाउनुस्।’ यस्ता म्यानपावरले गर्दा आज राम्रो काम गरिरहेका म्यानपावरहरू ओझेलमा परेका छन् । कुबाटोमा हिँडेका म्यानपावरले सुबाटोमा हिँडेका म्यानपावरलाई अल्झाउने गर्छन्।

न्यायोचित रूपमा लागेका आकर्षणजस्ता म्यानपावर कम्पनीलाई हौसला र दक्षता अभिवृद्धि गराउन श्रम र परराष्ट्र मन्त्रालय, विभाग र दूतावासबाट आवश्यक सहयोग पु¥याउनु जरुरी छ। वास्तवमा आकर्षण इन्टरनेसनल म्यानपावरले एजेन्टसँग आएका युवालाई फर्काइदिने गरेका छन्। आकर्षण म्यानपावरको बारेमा थाहा पाई आफैं आउनेहरूले घरकै सदस्यजस्तो व्यवहार गरिन्छ।

वैदेशिक रोजगारीको पठाउन भनेर सक्रिय रहेका कैयौं एजेन्ट हुन्छन्। तर आकर्षण म्यानपावरले विदेश जाने सोच बनाएका युवालाई बारम्बार सोध्ने गर्छन्, ‘तपाईहरू एजेन्टमार्फत आउनुभएको त, होइन नि ? एजेन्टमार्फत यहाँ आउनुभएको रहेछ भने तुरुन्त फर्किनुस्। कुनै एजेन्टले म आकर्षणको मान्छे हुँ यति पैसा हाल्दिनुस्, तपाईंको काम पक्का भन्यो भन्दैमा त्यसमा नफस्नुहोला। हाम्रो अनुरोध छ।’ त्यस्तो हो भने कुनै पनि माध्यमबाट खबर गर्न आकर्षणले भन्ने गरेको मलेसियामा कार्यरत पौडेलले बताए। ‘अरू म्यानपावरमा जानु र एजेन्टसँग भेट्नु एउटै हो। तर आकर्षणबाट जोकोही विदेश जानु भनेको ढुक्कै हो,’ मलेसिया पुगेका नेपाली युवा नागरिककर्मीसँग ह्वाट्यापमार्फत बताए।  

काठमाडौंस्थित सप्तकोसी ह्युमन रिसोर्स म्यानपावरका एजेन्ट रमेशकुमार बस्नेतलाई केही समयअघि वैदेशिक रोजगारीका लागि मलेसिया जान लागेका कैलालीका तपेन्द्रबहादुर बुढाले २ लाख ५० हजार रूपैयाँ बुझाएका थिए। यसरी कुनै म्यानपावरले घरदेखि विदेश पुग्ने खर्चसम्म रोजगारदातालाई तिर्न लगाई ‘शून्य लागतका नाममा’ विदेश पठाउँछन्। अधिकांश ठग प्रवृत्तिका म्यानपावरले विदेश जान लागेका कामदार र रोजगारदातासँग पनि पैसा लिने गर्छन्। यसरी पैसा बुझाइसकेपछि म्यानपावर कम्पनीले पैसा लिएको छैन भनेर भिडियोसमेत बनाउने गर्छन्।

बिदेसिने योजना बुनेका युवाहरूलाई रोजगारीको आकर्षक सपना देखाएर म्यानपावर कम्पनीले नराम्रोसँग फसाउँदै आएका छन्। अझै देशमै हुँदा होस् या विदेशमा, आफू ठगिएको उजुरी वैदेशिक रोजगार विभागमा दिन पुग्दा म्यानपावरकै हातमा विभाग हुन्छ। आफू पीडित भएको प्रमाणसहित उजुरी लिएर पीडित विभाग पुग्दा अझै त्यहाँका कर्मचारीले यता जा र उता जा भन्दै हप्काउने गरेको थुप्रै पीडितको गुनासो छ।

वैदेशिक रोजगारीमा पठाउने नाममा म्यानपावरद्वारा ठगिएको भन्दै दैनिक सयौं पीडित रुँदै विभाग धाउने गरेका हुन्छन्। तर आकर्षणबाट बिदेसिएका युवा ठगिनुपर्छ भन्ने कल्पना पनि गर्दैनन्। बरु आकर्षणबाट बिदेसिनुपर्दा खुसीले गद्गद् हुन्छन्। विभागका महानिर्देशक डुण्डुराज घिमिरेका अनुसार म्यानपावर कम्पनीहरूका एजेन्ट तथा ब्रोकरहरू नियुक्त गर्दा विभागमा व्यक्तिगत ठगीका घटना बढिरहेका छन्। म्यानपावर कम्पनीहरूले सिधै पैसा लिन नमिल्ने कानुनी प्रक्रिया भएपछि उनीहरूले दलाल खडा गर्दै विदेश जान चाहने युवाबाट पैसा उठाउने गरेको उनी सुनाउँछन्। जसले गर्दा त्यस्ता म्यानपावर कम्पनीहरू पानीमाथि ओभानो हुने गरेको उनको भनाइ छ।

आकर्षण म्यानपावरका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार श्रमिकहरूको सम्पूर्ण हक, अधिकार र सुरक्षाको प्रत्याभूति गराई वैदेशिक रोजगारीमा पठाएका छौं। मलेसिया गएका श्रमिकको भर्ना प्रक्रिया पारदर्शी भएको उनले बताए। आकर्षण म्यानपावरले गरेको राम्रो कामलाई उनीहरूले बाहिर ल्याउन सकेका छैनन्। ‘विदेश जाँदादेखि विदेशबाट फर्किने खर्चको व्यवस्थासमेत श्रमिकलाई भुक्तानी गर्ने गरेका छौं,’ अध्यक्ष केसीले भने, ‘अझै भनौं फोटो खिच्न लाग्ने खर्चसमेत श्रमिकलाई तिराउँदैनौं। यसको सम्पूर्ण अडिट रोजगारदाताबाटै हुन्छ । हामीले १० वर्षदेखि शून्य लागतमा काम गर्दै आइरहेका छौं। यो काम चाहेको खण्डमा सबैले गर्न सक्छन्।’

आफूले राम्रो काम गर्दा गर्दै पनि म्यानपावर व्यवसायी हुँ भनेर ढुक्कले भन्ने कुनै ठाउँ नभएको केसी बताउँछन्। ‘नेपालमा म्यानपावर व्यवसायी हुँ भनेर गर्व महसुस गर्ने ठाउँ छैन। त्यस्तो दिन कहिले आउँला भन्ने लाग्छ,’ उनी भन्छन्, ‘विदेश कमाउन जान्छु भनेर हिँडेका श्रमिकलाई हामीले चुस्ने होइन, सहयोग गर्ने हो। हामीले काम गर्ने शैली र श्रमिकप्रतिको उन्नतिको भावना अरूको पनि भइदिए पीडितका गुनासो कहिले सुन्नुपर्दैनथ्यो।’ यहाँबाट शून्य लागतमा विदेश पठाइन्छ रे भन्ने खबर सुनेर युवाहरू आकर्षण म्यानपावर आउने गरेको अध्यक्ष केसी सुनाउँछन्।

दैनिकजसो केसी आफ्नो कार्यालय पुग्दा मलेसिया जाने भनेर दुईतिन हजार युवा पुग्ने गरेको उनी सुनाउँछन् । राम्रो काम गर्नु भनेकै आनन्दले निदाउनु हो। जसले लिन्छ, त्यो राम्ररी खान्छ। जसले दिन्छ, त्यो राम्ररी सुत्छ। हो, त्यस्तै भएको छ आकर्षण म्यानपावरलाई। त्यहाँका कर्मचारीको मन आनन्दसँगै खुलेआम ढुक्कसाथ छाती फुलाएर हिँड्छन्।

‘विदेश जान लागेका युवा एजेन्ट समातेर आउँथे। अझै बढी त तराईका मानिसहरू बिनाएजेन्ट पनि काम हुन्छन् र भनेर प्रश्न गर्ने गर्छन्। बिनाएजेन्ट काम हुन्छ भन्नेमा उनीहरूलाई विश्वास नै छैन,’ अध्यक्ष केसी सुनाउँछन्। वैदेशिक रोजगारीमा शून्य लागतमा मलेसिया पुगेका साथीभाइ तथा इष्टमित्रबाट आकर्षणका बारेमा थाहा पाएर उक्त म्यानपावर आउने गरेको त्यहाँका कर्मचारीहरू पनि बताउँछन्। ‘मलेसिया धेरै राम्रो देश हो। त्यहाँ धेरै ठुला र राम्रा कम्पनीहरू छन्। शून्य लागतमा कामदार लैजाने रोजगारदाता मलेसियामा बढ्दो छ,’ केसीले भने, ‘त्यहाँ असल कामदार पठाउन सक्यौं भने हाम्रा लागि त्यही ठुलो कुरा हो।’

यो काम गर्न सजिलो नभएसँगै कहीँबाट साथ सहयोग नपाएको आकर्षण म्यानपावरको गुनासो पनि छ। सरकारी निकायले कदरको कमी गरेको आकर्षण परिवारले महसुस गरेको छ। जुन म्यानपावर शून्य लागतमा काम गरिरहेको छ, त्यही म्यानपावरलाई श्रम मन्त्रालयका कर्मचारीले फोन गर्दै भन्छन्– मेरो आफ्नै मान्छे त्यहाँ पठाएको छु। मलेसिया पठाउनुपर्‍यो, अलिअलि पैसा लिएर मलेसिया पठाइदिनुपर्‍यो।’ आकर्षणले शून्य लागतमा काम गरिरहेको श्रम मन्त्रालयलाई थाहा हुँदाहुँदै पैसा लिएर आफ्नो मान्छे मलेसिया पठाइदिनू भनी दबाब दिने गरेको एक कर्मचारीले बताए।  

‘हामी आफैंले गोरेटो बाटो बनाएका छौं । त्यसलाई सरकारले आएर ठुलो बनाइदिन्छ भन्नु त आकाशको फल आँखा तरी मर भनेजस्तै हो। त्यो बाटोलाई ठुलो बनाएर पिच पनि आफैंले गर्ने हो। यहाँ कसैले कसैका लागि गरिदिँदैनन्,’ आकर्षणका अध्यक्ष केसीले भने। करिब २० वर्षदेखि सञ्चालनमा रहेको आकर्षण इन्टरनेसनल प्रालिले तथ्यांकअनुसार सन् २०१५ देखि शून्य लागतमा १० हजारभन्दा बढी नेपाली युवालाई मलेसिया पठाएको तथ्यांक छ। 

प्रकाशित: २६ असार २०८१ ०७:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App