२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

दक्षिण कोरियामा मृत्यु भएका अधिकारीको परिवारलाई ३० लाख सहयोग

रोजगारीका लागि दक्षिण कोरिया गएको एक सातामै मृत्यु भएका जाजरकोटको छेडागाड नगरपालिका–३ हरिचन्द्र अधिकारीको परिवारलाई कोरियामा रहेका नेपालीहरुले ३० लाखबढी सहयोग गरेका छन्।

दक्षिण कोरियामा कार्यरत विभिन्न सामाजिक संघ–संस्थाहरुले अधिकारीको परिवारलाई आर्थिक सहयोग गर्न अभियान चलाएका थिए। उक्त अभियानबाट संकलन भएको ३० लाख १६ हजार ९२८ रुपैयाँ कर्णाली प्रदेशसभा सांसद राजीवविक्रम शाहको रोहबरमा मृतक अधिकारीका बुवा लछिराम जैसी र श्रीमती प्रतिक्षा अधिकारीलाई कर्णाली प्रदेश समाज दक्षिण कोरियाका सल्लाहकार लक्ष्मीनारायण बस्नेतले हस्तान्तरण गरे। अधिकारीको गत जेठ २५ गते दक्षिण कोरियाको बुसान मि¥यास्थित कृषि कम्पनीमा मृत्यु भएको थियो।

कर्णाली प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष धर्मराज तिवारी, सुर्खेत समाज दक्षिण कोरियाका अध्यक्ष पुष्कर बुढाथोकी, दैलेख समाज दक्षिण कोरियाका कमल कार्की, सल्यान समाज दक्षिण कोरियाका टरसिंह पुन, कालिकोट समाज दक्षिण कोरियाका गोपालबहादुर शाही, जाजरकोट समाज दक्षिण कोरियाका मोहन बस्नेत, पश्चिम रुकुम समाज दक्षिण कोरियाका संयोजक भानु मगर, जुम्ली समाज दक्षिण कोरिया, हान्वा ओसन नेपाली एकता समाजलगायतको नेतृत्वमा आर्थिक सहयोग अभियान सुुरु गरिएको थियो।

कोरियामा कार्यरत नेपालीहरुले पठाएको रकम बुझेपछि मृतककी श्रीमती प्रतिक्षा अधिकारीले प्राप्त रकम छोरीको लालनपालन र शिक्षामा खर्चिने बताइन्। मृतक अधिकारीकी साढे दुई वर्षकी छोरी छन्। कर्णाली प्रदेश समाजका सल्लाहकार बस्नेतले छोरीको नाममा खाता खोलेर प्राप्त रकम मध्ये २० लाख जम्मा गरिएको बताए। ‘छोरी १८ वर्ष नपुग्दासम्म मुलधन ननिकाल्न मिल्ने गरेर जम्मा गरिदिएका छौं,’ उनले भने, ‘ब्याज भने मासिक निकालेर दैनिकी चलाउन मिल्छ।’ बाँकी रकम ससुरा र बुहारीको संयुक्त खातामा जम्मा गरिएको उनले बताए।

प्रकाशित: २४ असार २०८१ १०:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App