२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

राजधानीमा फस्टाउँदै ‘लोकल ब्रान्ड’

राजधानीवासीलाई मधेस तथा जनकपुरको मिथिला परिकारको स्वाद चखाउन जनकपुरधाममा स्थापित ‘मिथिला थाली’ होटललाई राजधानीको गौशाला र ललितपुरको झम्सिखेलमा ‘मिथिला बाई सन्तोष साह’ नामसहित विस्तार गरिएको छ।

‘हामीले मिथिला थाली होटलमा परम्परागत रूपमा माटीको चुलोमा पकाउने, तरकारीका मसला सिलौटामा पिसेर प्रयोग गर्ने, बिरिया, तिलौरी, फुलौरी र आँपका अचार बजारबाट नकिनेर गाउँघरमा बनाइएको प्रयोग गरिरहेका छौं,’ मास्टर सेफ सन्तोष साहले भने, ‘मिथिला खाना शुद्ध शाकाहारी हुने र मांसाहारीतर्फ मिथिलाको पहिचान माछाको विशेष परिकार थालीको आकर्षण रहने भएकाले राजधानीवासीलाई यसको स्वाद चखाउन मिथिला थालीको शाखा गौशाला र झम्सिखेलमा मिथिला बाई सन्तोष साह सञ्चालनमा ल्याइएको हो।’

झन्डै डेढ करोड लागतमा सञ्चालनमा ल्याइएको यो रेस्टुरेन्टमा मधेस तथा जनकपुरका स्थानीय १७ वटा खानाका परिकार उपलब्ध छन्। साहको ‘मिथिला बाई सन्तोष साह’ मा थाली ५५०, मिथिला थाली चिकेन ७००, मिथिला थाई फिस ७५० र मिथिला थाई मटन ८५० रहेका छन्। मिथिला थाली ५५० रूपैयाँअन्तर्गत चोखा, भात, रोटी, तिलौरी, सलादको संयोजन गरेका छन्।

‘ग्राहकले खाना खाएबापत तिरेको शुल्कमध्ये केही रकम च्यारिटीमा छुट्याइएको छ। राजधानीमा मिथिलाको खाना र संस्कृति प्रचार गर्न जनकपुरधामको मिथिला थालीलाई यहाँ विस्तार गरिएको हो’, उनले भने, ‘मिथिला खानामा सबै अर्गानिक तथा गुणस्तरयुक्त वस्तु प्रयोग गरिएको हुँदा हाम्रो कारणले किसानदेखि सर्वसाधारणको जीवन सुधार्न सकियोस् भन्ने छ।’

राजधानीको गौशालामा रहेको ‘मिथिला थाली’ मा शाकाहारी खानालाई जोड दिइएको उनले बताए। पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने दर्शनार्थीलाई लक्षित गरी सञ्चालनमा ल्याइएको सो शाखामा मिथिला खानाका परिकार उपलब्ध छन्।

बुटवलवासीलाई अनेक प्रकारको स्वाद चखाएर स्थापित ड्याडिज किचनले राजधानीवासीलाई प्रेसर कुकरबाट कफी बनाएर खुवाउँदै आएको छ। प्रेसर कुकरमा भात, दाल वा मासु सिठी लाग्छ भन्ने मान्यतालाई चिर्दै राजधानीको आलोकनगरमा सञ्चालित ड्याडिज किचनको कुकर कफी क्याफे एन्ड रेस्टुरेन्टले राजधानीवासीलाई प्रेसर कुकरबाट कफी बनाएर बिक्री गर्दै आइरहेका छन्।

कोरोना भाइरस महामारीपछि सन् २०२० देखि राजधानीवासीलाई कुकर कफीको स्वाद चखाउँदै आएको यो क्याफे बुटवलबाट राजधानी भित्रिएको हो। विगत १५ वर्षदेखि बुटवलवासीमाझ परिचित ड्याडिज समूहका ड्याडिज किचन, फुड ट्रेलर र फुड ट्रेक हुँदै संस्थापक बनेका कमलजंग कुँवरले यसको आउटलेटलाई पोखरा र राजधानीमा समेत विस्तार गरेका छन्। ड्याडिज समूहको कुकर कफीलाई भने संस्थापक कुँवरका भतिज पदमजंग कुँवरले सम्हालिरहेका छन्।

‘२१ वर्षअघि साँझपख बुटवलका सडकछेउछाउ कुकरमा सिठी लगाएर कफी बनाएर बिक्री गरिरहेको दृश्यबाट प्रेरित भएर सोही विधिलाई पछ्याउँदै हामीले राजधानीमा कुकर कफी सञ्चालनमा ल्याएका हौं’, कुकर कफी क्याफे एन्ड रेन्टुरेन्ट बाई ड्याडिज किचनका सञ्चालक पदमजंग कुँवर भन्छन्, ‘करिब ६० लाख रूपैयाँको लगानीमा खोलिएको यो क्याफे वातावरणमैत्री बनाएर सञ्चालन गरिरहेका छौं। मैले रेस्टुरेन्टहरू खोलेर टिक्न गाह्रो भएपछि बन्द भएको धेरै देखेको छु। अहिलेसम्म हामीले त्यस्तो नियत भोग्नुपरेको छैन। बरु यसको शाखा उपत्यकावरपर विस्तार गर्ने तयारी गरिरहेका छौं।’

यसअघि ड्याडिज किचनले राजधानी केन्द्रित गरेर लगनखेलमा रहेको सञ्चयकोष भवनमा आफ्नो शाखा विस्तार गरेको थियो। पाँच वर्षको सम्झौता गरेर सञ्चालनमा ल्याउँदै गर्दा ठमेलमा रहेको सञ्चयकोष भवन सार्नुपर्ने भएपछि ड्याडिज किचन बानेश्वरमा सारिएको थियो।

 ‘प्राविधिक कारणले त्यसबेला राजधानीलक्षित गरेर खोलिएको ड्याडिज किचनलाई बन्द गर्नुपरेको थियो’, उनले स्मरण गरे, ‘बुटवलमा विस्थापित हुँदै गएको प्रेसर कुकर कफीलाई हामीले राजधानीमा भित्र्याएका हौं। अहिले दैनिक आठ सय हाराहारीका ग्राहक हाम्रो प्रेसर कुकर कफीको स्वाद चाख्न आउने गर्छन्।’

ड्याडिज किचनले कुकर कफी क्याफे एन्ड रेस्टुरेन्टको शाखा उपत्यकाभित्र विस्तार गर्ने तयारी गरिरहेको छ। ‘प्रायले रेस्टुरेन्ट सहज रूपमा खोल्छन्’, उनले भने, ‘तर टिकाउन नसकेर बन्द भएका धेरै उदाहरण छन्। हामीले ग्राहकको बजेटलाई ध्यानमा राखेर त्यहीअनुसारको खानाको मूल्य निर्धारण गरेका छौं। जसले गर्दा सबै वर्गका ग्राहक रेस्टुरेस्टमा आएर खानाको स्वाद लिन सक्छन्।’

२०५४ सालमा कैलालीको टीकापुरमा सामान्य खाजा पसल खोलेर सञ्चालनमा ल्याइएको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिले यतिखेर देशभर आफ्ना क्याफे, रेस्टुरेन्ट, कटेज, होटल र रिसोर्ट विस्तार गरिसकेको छ। यसले व्यावसायिक यात्रा स्थापनाको २५औं वर्षमा आइपुग्दा रूपन्देहीको भैरहवामा पाँचतारे सिद्धार्थ इन्टरनेसनल होटल सञ्चालनमा ल्याउँदै छ।

ग्रुपका अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपानेका अनुसार सिद्धार्थ होटल तथा रिसोर्टका नाममा भैरहवाबाहेक चितवन, दाङ र विराटनगरमा पाँचतारेदेखि लक्जरी रिसोर्टसम्म सञ्चालनमा आइरहेका छन्। सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिले चारवटा रिसोर्ट, १९ वटा होटल र ३० वटा हाराहारीका क्याफेका आउटलेट देशभर विस्तार गरिसकेको छ।

५० को दशकमा पूर्वबाट उदाएको संगम स्विट्सले राजधानीको कमलादी, नयाँबानेश्वर, कालीमाटी, बुढानीलकण्ठ, मध्य बानेश्वर, झापाको दमक र बित्तामोड गरी सातवटा आउटलेटमार्फत दक्षिण भारतीय शाकाहारी खानाको स्वाद दिइरहेको छ। यसका सञ्चालक संगम शर्माले भारतीय स्वादका शाकाहारी खानालाई प्राथमिकतामा राखेर सर्वप्रथम दमकमा संगम स्विट्स खोलेका थिए।

पूर्वी नेपालमा भारतीय शाकाहारी खानाका पारखीलाई लक्षित गरेर खोलिएको यसले सन् २०१० देखि राजधानीको कमलादीमा पहिलोपटक आफ्नो नयाँ शाखा खोलेको थियो। हाल यसले दक्षिण भारतीय शाकाहारी खानाबाहेक चाइनिज र कन्टिनेन्टल खाना समेत बिक्री गर्दै आएको छ।

२०७७ सालमा सोलुखुम्बु क्षेत्रमा पर्यटन व्यवसाय गरिरहेका दिदीबहिनी पासाङमाया, विमला, अञ्जु र छेची शेर्पाले लुक्लामा सुरु गरेको थकाली रेस्टुरेन्ट चल्न थालेपछि ट्रेकिङलाई आवश्यक पर्ने कपडा उत्पादन गरी ‘लुक्ला आउटडोर’ ब्रान्ड सञ्चालनमा ल्याएका थिए। पर्वतारोहण र पदयात्रा क्षेत्रमा अनुभवी उनीहरूले १२ महिना चिसो हुने खुम्बु क्षेत्रलाई लक्षित गरेर सन् २०१९ मा सञ्चालनमा ल्याएको ‘लुक्ला आउटडोर’ ले राजधानीको ठमेलमा स्वदेशी र विदेशी ग्राहकलाई ब्रान्डका कपडा बिक्री गरिरहेको छ।

कोरोना भाइरस महामारीयता राजधानीको मन्डिखाटारदेखि न्यानो ट्रेकिङसम्बन्धी कपडा बिक्री गर्न सुरु गरेको ‘लुक्ला आउटडोर’ ले ठमेलबाट राजधानी र विदेशमा आफ्नो ब्रान्ड स्थापित गरिरहेको म्यानेजर दोर्जे शेर्पाले जानकारी दिए।

‘राजधानी र विदेशलाई लक्षित गरेर हामीले हाम्रा ब्रान्डलाई प्रमोट गरिरहेका छौं’, उनले भने, ‘सुरुवातीका दिन लुक्लाबाट राजधानी आउँदा चुनौती महसुस भए पनि अहिले सबै खालका ग्राहक हाम्रो ब्रान्डका कपडा लैजाने गर्छन्। गुणस्तरमा सम्झौता नगरी सबैलाई सहज हुने मूल्य स्थापना गरी कपडा उपलब्ध गराएका कारण छोटो समयमा हाम्रो ब्रान्डले लोकप्रियता हासिल गरेको छ। अहिले स्वदेशमा मात्र नभई विदेशबाट पनि राम्रो माग आइरहेको छ।’

प्रकाशित: २४ असार २०८१ ०७:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App