२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

सांसदकै घरमा बाल श्रमिक, काठमाडौं महानगरद्वारा उजुरी दर्ता

जेठ १४ गते काठमाडौं महानगरको टोली लुम्बिनी प्रदेश सभा सांसद रेखा कुमारी शर्माको धुम्बाराहिस्थित घरमा पुग्यो। शर्माको घरमा बालश्रमीक छन् भन्ने विशेष सूचनाको आधारमा महानगरको टोली उनको घरमा पुगेको थियो। नभन्दै शर्माको घरमा काम गर्न बसेकी करिब १४ वर्षीया बालिका महानगरको टोलीले भेटायो।

महानगर टोलीले बालिकालाई उद्दार गरेर सेफ हाउसमा राखेको र सांसद शर्माविरुद्ध जाहेरी दर्ता गरेको महानगरका मेयरको सचिवालय सदस्य धिरज जोशी बताउँछन्।

जोशी भन्छन्, विशेष सूचनाको आधारमा हामी उहाँको घरमा गएका थियौँ। उहाँको घरमा बालिका भेटेपछि हामीले बालिकालाई उद्दार गरी सेफ हाउसमा राखेका छौँ। उहाँ आठ वर्षदेखि उक्त घरमा श्रम गरिरहेको भन्ने खुलेको छ। अहिले कक्षा सातमा अध्ययन गर्दै गरेको भन्ने छ।

बालिकाको  राम्रोसंग नबोल्ने गरेकाे जोशीले बताए। बालिका राम्रोसँग नबोल्ने, आफ्नो केही कुराहरु पनि भन्न हिचकिचाउने गरेको उनले बताए। ‘बालिका राम्रोसँग बोल्दिनन्। आफ्नो केही कुराहरु पनि भन्न हिचकिचाउने गरेको छिन, उनले भने।

बालिका त्यहाँ बसेदेखि परिवारसँग भेट्न घर पनि नदिएको पाइएको छ । आठ वर्षको हुँदा उनलाई त्यहाँ ल्याइएको र अहिलेसम्म परिवारसँग भेट्न नदिएको जोशीले बताए।

उनले भने, ‘बालिका उहाँकै घर छेउतिरको हो भन्ने खुलेको छ। आठ वर्षको हुँदा बालिकालाई त्यहाँ ल्याइएको रहेछ। त्यहाँ आएपछि परिवारसँग उनको अहिलेसम्म भेट भएको छैन। उद्धार गरेपछि भने बालिकाको बुबा भेट्न आउनु भएको थियो।’

बालिकाले आफूलाई घरको सबै काम गर्न लगाएको बताएको जोशीको भनाइ छ। जोशीले भने, ‘बालिकाले आफूलाई घरमा खाना पकाउन लगाउने, घर सफा गर्न लगाउने, लुगा धुन लगाउने जस्ता कामहरू लगाउने गरेको बताएकी छिन्। उनले घरको सबै काम आफूले गर्ने गरेको बताएकी छिन्।’

काठमाडौँमा राखेर पढाइदिने भन्दै सांसद शर्माले बालिकालाई काठमाडौं ल्याएकी थिइन्। महानगरका मेयरको सचिवालय सदस्य जोशीले भने, बालिकालाई पढाउने भन्दै काठमाडौं ल्याइएको रहेछ। यहाँ उनलाई घरको सबै काम लगाइएको देखियो। हामीले बालिकाको उद्धार गरेपछि बुबा लिन आउनु भएपनि हामीले पठाएका भने छैनौँ । बालिकालाई केही समय सेफ हाउसमा राख्ने र पछि मात्र के गर्ने भनी निर्णय लिने छौँ। 

बुधबार महानगरको टोलीले प्रहरी परिसर टेकुमा बालबालिकासम्बन्धी कसुरअन्तर्गत शर्माविरुद्ध जाहेरी दर्ता गरेको छ । जोशीले भने, ‘बुधबार प्रहरी परिसर टेकुमा बालबालिकासम्बन्धी कसुरअन्तर्गत सांसद शर्माविरुद्ध जाहेरी दर्ता गराएका छौँ। अब हामी कानुनी प्रक्रियामा जान्छौँ।’

यता काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले आफू कार्यालय बाहिर रहेको हुँदा जाहेरीको बारेमा भन्न नसक्ने बताए। उनले भने, ‘म यति बेला कार्यालय बाहिर छु। सबै जाहेरीको बारेमा जानकारी हुँदैन।’

यो विषयमा प्रतिक्रिया लिन खोज्दा प्रदेशसभा सदस्य रेखाकुमारी शर्माको भने मोबाइल अफ रहेको थियो । 

प्रकाशित: ३१ जेष्ठ २०८१ १४:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App