राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले अहिले देशलाई राजनीतिक सुनामी वा हुरी बतास नभई परम्परा र गतिशीलताको सन्तुलित संयोजन आवश्यक रहेको बताएका छन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रममा बोल्दै डा. लोहनीले आफ्नो पार्टी राप्रपाले नै यो आवश्यकतालाई सम्बोधन गर्न सक्ने दाबी गरे।
उनले भने, ‘अहिले देशलाई सुनामी पनि चाहिएको छैन, हुरी बतास पनि चाहिएको छैन। ठीक तरिकाले विचार गरेर, परम्पराका सकारात्मक पक्षहरू र आधुनिकताको गतिशीलतालाई सँगै लिएर जान सक्ने क्षमता र शक्ति चाहिएको छ। त्यो शक्ति भनेकै राप्रपा हो।’
डा. लोहनीले मानवतावादी सकारात्मक परम्परा र आर्थिक विकास एवं सामाजिक रूपान्तरणको गतिशीलतालाई राप्रपाले सँगसँगै अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
निर्वाचनमा राप्रपाको भूमिकाबारे सोधिएको प्रश्नमा डा. लोहनीले राप्रपा कांग्रेस र एमालेपछिको तेस्रो पुरानो र बलियो शक्ति भएको बताए।
उनले भने, ‘राप्रपा कमजोर छैन। हामीले देशलाई संकट पर्दा योगदान गरेका छौं। अहिलेको असन्तुलित विश्व परिवेश र नेपालभित्रको ध्रुवीकरणलाई चिर्दै एकीकरणको शक्ति लिएर हामी आएका छौँ।’
उनले राप्रपाले ७७ वटै जिल्लामा उम्मेदवार उठाएको र प्रजातान्त्रिक अभ्यासमा सक्रिय सहभागी भएको बताए। उनले राजसंस्थालाई अभिभावक र मनोवैज्ञानिक सुरक्षाको रूपमा मात्र राख्न खोजिएको स्पष्ट पारे।
प्रकाशित: २१ माघ २०८२ १९:५० बुधबार





