६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

भक्तपुरका धेरै मतदानस्थल खुल्ला आकाशमुनि

भक्तपुरका धेरै मतदानस्थल तथा केन्द्रहरु खुल्ला आकाशमुनि छन् । जिल्ला निर्वाचनको कार्यालय भक्तपुरले बुधबार गरेको मतदानस्थल तथा केन्द्रहरुको अनुगमनको क्रममा यस्तो भेटिएको हो ।

जिल्ला प्रशाशन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ), भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी, जिल्ला निर्वाचन कार्यालय सल्लाघारी भक्तपुरका प्रमुख, जिल्ला मतदान केन्द्रका प्रमुख प्रमुख अधिकृत, जिल्ला निर्वाचन अधिकृतको कार्यालय भक्तपुर क्षेत्र नं २ का प्रमुख, ठिमी प्रहरी बृतका डिएसपीलगायत सुरक्षा निकायका प्रमुखलगायतका सरोकारवालाहरुको सहभागितामा भएको अनुगमनको क्रममा यस्तो भेटिएको हो । पहिलो दिन जिल्लाको भक्तपुर क्षेत्र न २ को मध्यपुर थिमि नगरपालिका क्षेत्रभित्रका मतदनस्थल तथा केन्द्रहरुको अनुगमन भएको थियो । भक्तपुर क्षेत्र नं २ मा मध्यपुर थिमि र सूर्यविनायक नगरपालिका गरी दुई वटा नगरपालिका पर्दछन् ।

पहिलो दिनको अनुगमनको थालनी मध्यपुर थिमि नगरपालिका वडा नं ८ बोदेस्थित बोदे मावि मतदानस्थलबाट सुरु भएको थियो । त्यहाँको मतदानस्थल स्कुलभित्रको खुल्ला आकाश मुनि रहेको छ । अनुगमनको क्रममा मध्यपुर थिमि नगरपालिका धेरै मतदानस्थल तथा केन्द्रहरु यस्तै भेटियो । अनुगमन दिनभर भएको थियो ।

अनुगमन टोलीलाई जानकारी दिंदै मध्यपुर थिमि नगरपालिका वडा नं ८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठले आफनो वडामा प्रत्येक वर्ष वोदे स्कुल कम्पाउण्डभित्रको खुल्ला ठाउँमा मतदान हुने गर्दै आएको जानकारी गराए । यो वडामा दुई वटा मतदानस्थलमा पाँच वटा मतदान केन्द्रहरु रहेका छन् । आवश्यकता अनुसार एउटा मतदानस्थलमा आवश्यक मतदान केन्द्रहरु रहने गरेका छन् । एक मतदान केन्द्रमा एक हजार मतदाताको हिसावले मतदान केन्द्रहरुको वन्दोवस्त रहेको जनाइएको छ । मध्यपुर थिमि नगरपालिका वडा नं ८ मा एक हजार ६ सय ६१ पुरुष र दुई हजार ७७ महिला गरी कुल चार हजार ३८ मतदाताहरु रहेको तथ्यांक छ ।    

भक्तपुर जिल्लामा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि दुई निर्वाचन क्षेत्रहरु रहेका छन्, भक्तपुर क्षेत्र नं १ र २ । त्यसका लागि कुल ७६ वटा मतदानस्थलमा २३३ मतदान केन्द्रहरू निर्धारित गरिएको छ । यसवर्ष पहिलाका वर्षहरुमा भन्दा मतदाता बढेको र यही कारण मतदान केन्द्रहरू थप गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

भक्तपुर क्षेत्र नं १ मा ३७ मतदानस्थलमा ११९ मतदान केन्द्र तथा भक्तपुर २ मा ३९ मतदानस्थल र ११४ मतदान केन्द्रहरु निर्धारित छन् । यस चुनावमा सुरक्षित, संवेदनशील तथा संवेदनशीलभन्दा उच्च जोखिम भएका मतदानस्थलहरूसहित सुरक्षा र व्यवस्थापनमा जोड दिइएको जनाइएको छ ।

यसबाहेक भक्तपुर र अन्य क्षेत्रमा मतदानका लागि प्रायः स्कूल, सार्वजनिक भवन, सरकारी हल आदि स्थानहरू प्रयोग हुने गरेको जिल्ला निर्वाचन कार्यालय सल्लाघारी भक्तपुरका प्रमुख प्रकाश मगरले बताए । यसो हुँदा, केही स्थानमा छत नभएका वा अस्थायी कभर भएको स्थल हुने गरेको उनले बताए ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले खुल्ला आकाशमुनिका मतदानस्थल तथा केन्द्रहरुलाई पालको वन्दोवस्त गर्ने योजना रहेको जानकारी गराए । साथै सुरक्षा व्यवस्थालाई पनि उतिकै मजबुद बनाउने भएकाले मतदानमा सहभागी हुन सम्पूर्ण मतदाताहरुलाई उनले अनुरोध गरे ।

प्रकाशित: २१ माघ २०८२ २०:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App