राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले संविधानमा लेखिएको समाजवाद उन्मुख व्यवस्थाले युवालाई विदेशिन बाध्य पारेको र देशलाई परनिर्भर बनाएको आरोप लगाएका छन्।
बुधबार नागरिक न्युजको ‘नागरिक फ्रन्टलाइन’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले भने- ‘युवाहरूलाई विदेश पठाउने, उनीहरूले पठाएको डलरले साग र दाल किनेर खाने अर्थतन्त्रको मोडेललाई समाजवाद भन्न मिल्दैन। यही हो त समाजवाद ? जसले दशौं लाख नेपालीलाई विदेश जान बाध्य पार्छ ?’
उनले वर्तमान व्यवस्थाभित्रै मौलाएको बेथितिलाई औँल्याउँदै भने, ‘जुन समाजवादले सहकारीका नाममा अर्बौँ रुपैयाँ लुट्न दिन्छ, जसले लघुवित्तका नाममा जनतालाई घर न घाटको बनाउँछ, त्यो व्यवस्था असफल भइसक्यो।’
राप्रपाको वैचारिक स्पष्टताबारे बोल्दै डा. लोहनीले आफ्नो पार्टी ‘राइट अफ द सेन्टर’ शक्ति भएको बताए। उनले बेलायती चिन्तक एडमन्ड बर्कको ‘कन्जरभेटिभ’ दर्शनको उदाहरण दिँदै भने, ‘हामी सम्वर्द्धनवादी हौँ। राम्रा पुराना कुरालाई जोगाउने र नराम्रा कुरालाई छोड्दै समयसापेक्ष परिवर्तनलाई आत्मसात गर्ने हाम्रो नीति हो। हामीले परम्परा र आधुनिकतालाई जोड्न खोजेका छौँ।’
प्रकाशित: २१ माघ २०८२ २०:२० बुधबार





