५ आश्विन २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

‘महाभारत’ का 'भीम'लाई जेल

‘महाभारत’ सिरियलमा भीमको भूमिकामा देखिएका अभिनेता तथा डब्ल्यूडब्ल्यूई रेसलर सौरव गुर्जरले महिलालाई विवाहको आश्वासन दिएको र मानसिक उत्पीडन गरेको आरोपमा हैदराबाद प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले उनलाई मुम्बई विमानस्थलबाट पक्राउ गरी हैदराबाद ल्याएको र कानुनी प्रक्रिया पूरा गरेपछि १४ दिनको न्यायिक हिरासतमा पठाएको बताइएको छ। एक महिलाले सौरवमाथि विवाह गर्ने वाचा गरेर आफूसँग लिभ–इन सम्बन्धमा बसेको र अमेरिकामा रहेको आफ्नो जागिरसमेत छोड्न लगाएको उनको आरोप छ।

महिलाका अनुसार जब–जब उनले विवाहका विषयमा कुरा गर्थिन्, सौरवले उनको फोन नम्बर ब्लक गर्ने र उनीबाट टाढिने गर्थे।

२९ वर्षीया महिलाको उजुरीअनुसार सन् २०२१ मा इन्स्टाग्राममार्फत उनको भेट सौरव गुर्जरसँग भएको थियो। त्यसपछि उनीहरू ह्वाट्सएपमा कुराकानी गर्न थाले र उनीहरूबीच नजिकको सम्बन्ध विकसित भयो।

महिलाले बताएअनुसार २५ डिसेम्बर २०२१ मा उनीहरू पहिलोपटक भेटेका थिए। त्यस क्रममा सौरवले उनीसँग विवाह गर्ने र पत्नीको दर्जा दिने आश्वासन दिएका थिए। त्यसपछि दुवै जना अमेरिकामा सँगै बस्न थाले र भारत फर्किएपछि पनि सँगै बसे।

महिलाले लगातार भइरहेको मानसिक उत्पीडनका कारण आफूले आफ्नो करियरमा ध्यान दिन नसकेको बताएकी छन्।  

पीडित महिलाले प्रहरीलाई दिएको जानकारीअनुसार सौरव अक्टोबर २०२५ देखि मार्च २०२६ सम्म उनीसँगै बसेका थिए। दुवै जना हैदराबादमा सँगै बसिरहेका थिए।

यसै क्रममा सौरवले कुनै जानकारी नदिई अचानक सम्पर्कविहीन भएको महिलाको आरोप छ। त्यसपछि उनले प्रहरीमा उजुरी दिइन्। मुद्दा दर्ता भएपछि गच्चीबोवली प्रहरीले अनुसन्धान सुरु गरेको थियो र सौरव गुर्जरलाई मुम्बई विमानस्थलबाट नियन्त्रणमा लिएको बताइएको छ।

सौरव गुर्जरले सन् २०१३ मा स्टार प्लसको शो ‘महाभारत’बाट अभिनय करियर सुरु गरेका थिए, जसमा उनले भीमको भूमिका निभाएका थिए। उक्त शो सन् २०१३ देखि २०१४ सम्म प्रसारण भएको थियो। यो सँगै उनले थुप्रै सिरियलमा काम गरेका छन्।

सन् २०२२ मा उनले ‘ब्रह्मास्त्र’ फिल्ममार्फत बलिउडमा डेब्यु गरेका थिए, जहाँ उनले सहायक खलनायकको भूमिका निभाएका थिए।

प्रकाशित: ५ आश्विन २०८३ ११:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App