५ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

‘यस्तो महँगीमा चिया खान कहाँ जाने सभामुख महोदय ?’

क्याप्शन

संघीय संसद भवनभित्र सञ्चालित क्यान्टिनमा अस्वाभाविक रूपमा महँगो मूल्य लिइएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले उक्त क्यान्टिन तत्काल बन्द गर्न माग गरेका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसदको बरन्डामा फाइभ स्टार होटल चलाइएको भन्दै आपत्ति जनाएका हुन्।

बैठकमा सभामुखको ध्यानाकर्षण गराउँदै सांसद अधिकारीले महँगो मूल्यसूची नै पढेर सुनाएका थिए। उनका अनुसार कालो चियाको १००, दूध चियाको २००, मःमको ३००, चाउमिनको ४०० र पाउरोटीको ५०० रुपैयाँ मूल्य राखिएको छ।

वर्तमान अवस्थाका सांसदहरूसँग नै यति महँगो खानेकुरा खान सक्ने हैसियत छ कि छैन भन्दै उनले संसदमा प्रश्न उठाए।

महँगीका कारण संसद सचिवालयमा कार्यरत कर्मचारी र मर्यादापालकहरू मारमा परेको उनले बताए। ‘संसद सचिवालयभित्र काम गरिरहेका कर्मचारीहरू, मर्यादापालकहरूले त्यहाँ गएर पानी समेत खान पाउने अवस्था छैन,’ उनले भने, ‘कसले ल्याएको हो यो होटल ? तत्काल यो फाइभ स्टार होटललाई संसदको बरन्डाबाट बाहिर निकाल्नुपर्छ।’

केही दिनअघि ‘चिया खान जाऔं’ भन्ने एउटा अडियो भाइरल भएको सन्दर्भ जोड्दै सांसद अधिकारीले यस्तो महँगीमा चिया खान कहाँ जाने भन्दै प्रश्न गरेका थिए।

सुन्धारामा भन्दा धेरै होटल र क्यान्टिनहरू संसद भवन र सिंहदरबारभित्र खोलिएको भन्दै उनले यसलाई तत्काल नियन्त्रण गर्नुपर्ने बताए।

सिंहदरबारभित्र मनपरी पैसा असुल्न नपाइने भन्दै उनले मूल्यमा एकरूपता हुनुपर्ने माग राखे। नेपालगन्ज, वीरगन्ज वा दैलेखको बजारमा चियाको जति मूल्य पर्छ, संसद भवनभित्र पनि त्यही मूल्यमा बिक्री हुनुपर्ने भन्दै उनले मनपरी मूल्य असुल्ने क्यान्टिन तत्काल बन्द गर्न सभामुखसँग माग गरेका छन्।

प्रकाशित: ५ आश्विन २०८३ १५:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App