राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले राप्रपा देशको तेस्रो शक्ति भएको दाबी गरेका छन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रममा बोल्दै डा. लोहनीले कांग्रेस र एमालेपछि राप्रपा नै देशको पुरानो र बलियो शक्ति भएको जिकिर गरेका हुन्।
डा. लोहनीले भने, ‘राप्रपा कमजोर छैन। नेपाली कांग्रेस र एमालेपछिको यो तेस्रो पुरानो दल हो। यसले राष्ट्रलाई संकट पर्दा र छोटो समय सत्तामा रहँदा पनि ठूलो योगदान गरेको छ।’
उनले राप्रपाले देशका ७७ वटै जिल्लामा उम्मेदवार उठाएर सक्रिय रूपमा निर्वाचनमा भाग लिइरहेको बताए। ‘हामी आफ्नो एजेन्डा र दृष्टिकोण लिएर जनतामाझ गएका छौँ,’ उनले भने, ‘अहिलेको असन्तुलित विश्व परिवेश र नेपालभित्रको ध्रुवीकरणलाई चिर्दै देशलाई जोड्ने एकीकरणको शक्तिको रूपमा राप्रपा उभिएको छ।’
नयाँ दलहरूप्रति लक्षित गर्दै डा. लोहनीले देशलाई अहिले सुनामी र हुरी बतास नचाहिएको टिप्पणी गरे। उनले भने, ‘देशलाई अहिले सुनामी वा हुरी बतास होइन, परम्पराका सकारात्मक पक्ष र आधुनिकताको गतिशीलतालाई सन्तुलन गरेर लैजान सक्ने क्षमता चाहिएको छ, त्यो शक्ति राप्रपा हो।’
प्रकाशित: २१ माघ २०८२ १९:५३ बुधबार





