नेकपा एमालेले विगतदेखि नै आकर्षक चुनावी अजेन्डा बनाउँदै आएको छ। यस पटक पनि उसले आकर्षक र महत्वाकांक्षी अजेन्डाहरु समेटेर चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
एमालेले यही फागुन २१ गते हुने निर्वाचन लक्षित घोषणापत्र बिहीबार काठमाडौंस्थित एभरेस्ट होटलबाट सार्वजनिक गरेको हो।
घोषणापत्रमा एमालेले देशमा आर्थिक वृद्धिदरलाई प्राथमिकता दिँदै अर्थतन्त्रको आकारलाई ५ वर्षभित्र १०० खर्ब पुर्याउने लक्ष्य राखेको छ।
२०७९ को निर्वाचनमा पनि एमालेले देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) लाई पाँच वर्षभित्र १०० खर्ब रुपैयाँ पुर्याइने लक्ष्य एमालेले लिएको थियो। सोही लक्ष्यलाई उसले यस पटक दोहोर्याएको छ।
हाल अर्थतन्त्रको आकार करिब ५३ खर्ब रुपैयाँ हाराहारी रहेकोमा ५ वर्षमा यसलाई झण्डै दोब्बर बनाएर १०० खर्ब पुर्याउन वार्षिक औसत १५ देखि २० प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नुपर्छ। यस्तै, एमालेले प्रतिव्यक्ति आय ५ वर्षमा करिब ३ हजार अमेरिकी डलर पुर्याउने घोषणा गरेको छ।
एमालेले लोकप्रिय नाराका रूपमा युवालाई १० जिबी निःशुल्क इन्टरनेट डाटा, २० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण र सुत्केरीभत्ता २० हजार रुपैयाँ जस्ता कार्यक्रम पनि ल्याएको छ।
यी एमालेका नयाँ कार्यक्रम हुन्। श्रमिकको न्यूनतम पारिश्रमिक मासिक २५ हजार रुपैयाँ पुर्याउने एमालेको घोषणा श्रमिकका लागि आकर्षक सुनिएको छ।
हाल मासिक १७ हजार ३ सय रुपैयाँ रहेको पारिश्रमिकलाई एकै पटक ४४ प्रतिशतले वृद्धि गर्ने लक्ष्य उसले राखेको छ। एमालेले साना, मझौला तथा ठुला उद्योगको विस्तारबाट राष्ट्रिय आयमा उल्लेख्य वृद्धि गर्ने लक्ष्य लिएको थियो।
ज्येष्ठ नागरिक, दलित, एकल महिला, अपांगता भएका व्यक्ति, लोपोन्मुख जाति तथा लक्षित वर्ग र क्षेत्रका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने उसले जनाएको छ।
एमालेले आफूले सरकारको नेतृत्व गर्न पाए महिनावारी हुने उमेर समूहका देशभरिका महिलालाई गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिदका लागि वार्षिक १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ।
यस्तै, शतप्रतिशत गर्भवतीको गर्भ नियमित जाँच, दक्ष स्वास्थ्यकर्मीको सहयोगमा स्वास्थ्य संस्थाबाट नियमित प्रसुति सेवा सुनिश्चित गर्ने र ग्रामीण तथा दुर्गममा जोखिममा रहेका सुत्केरीको निःशुल्क आपत्कालीन उद्धार सेवा गर्न हवाई एम्बुलेन्स र एम्बुलेन्स सुविधा उपलब्ध गराउने एमालेको प्रतिबद्धता छ। एमालेले भ्रष्टाचार नियन्त्रणका लागि एआईको प्रयोग गर्ने जनाएको छ। यो कसरी हुन्छ भन्नेबारेमा भने उसले विस्तृत केही उल्लेख गरेको छैन।
अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउन उडान सेवा प्रदायकहरूसँग सहकार्य गर्ने, आन्तरिक हवाई सेवालाई सुरक्षित, भरपर्दो र आरामदायी बनाउने योजना पनि एमालेले अघि सारेको छ।
भिसा प्रक्रिया र आन्तरिक उडान भाडादर पुनरवलोकन गरी नेपाललाई थप आकर्षक गन्तव्य बनाउने, लक्जरी रिसोर्ट, इको–लज र वेलनेस सेन्टर निर्माण तथा सञ्चालनमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, सामाजिक सञ्जाल, अन्तर्राष्ट्रिय ट्राभल ब्लगर, इन्फ्लुएन्सर, वृत्तचित्र तथा चलचित्रमार्फत नेपालका विविध पर्यटन क्षेत्र र अनुभवहरूको आक्रामक प्रचार गर्ने योजना पनि एमालेले बनाएको छ।
यस अभियानमा नेपाली डायस्पोराको सक्रिय सहभागिता सुनिश्चित गरिने उसले जनाएको छ। घोषणापत्रमा पर्यटन विस्तारलाई गाउँ र सहर दुवै क्षेत्रमा रोजगारी र आम्दानी सिर्जना गर्ने माध्यमका रूपमा अघि सारिएको छ।
‘लामो बसाइ, बढी खर्च’ रणनीतिमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य राखेको एमालेले पर्यटनलाई समग्र आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्ने स्पष्ट संकेत दिएको छ।
एमालेले घोषणापत्रमा विगतका उलब्धिको पनि संक्षिप्त रुपमा चर्चा गरेको छ। एमाले नेतृत्वको सरकारका पालामा ८ लाख ५० हजार निजी आवास निर्माण, ७५ सय विद्यालय र १५ सय स्वास्थ्य संस्थाको स्वास्थ्य क्षेत्रका संरचनाको पुनर्निर्माण, सांस्कृतिक सम्पदाको जगेर्ना, प्रतिदिन ५ किलोमिटर सडक कालोपत्रे, दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन निर्माण, आधुनिक रेल र सुरुङमार्गको सुरुवात, राष्ट्रिय गौरवका योजना सञ्चालन, लोडसेडिङ अन्त्य र ऊर्जा निर्यात, अन्तर्राष्ट्रिय विमानस्थल र मेलम्ची आयोजना, संघीय संरचनाहरुको निर्माण, डिजिटल नेपाल र सुशासनअन्तर्गत ७ जिल्लामा फोरजी सेवा विस्तार, अनुगमनका लागि ‘एक्सन रुम’ निर्माण, ६५ जिल्लामा स्वास्थ्य बिमाको पहुँच पु¥याएको दाबी घोषणापत्रमा गरिएको छ।
‘समृद्धिको बहस’ सँगै एमालेले घोषणापत्र जारी गरेको हो। घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि पार्टी नेतृत्वमा बन्ने सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाटै निर्णय गरेर समयसीमा तोकी तत्काल गर्ने ११ काम अघि बढाउने घोषणासमेत गरे।
‘निराशा हटाउन समृद्धिको सपना देख्नु अपराध थिएन, होइन । जस्तोसुकै कठिनाइ आए पनि लोकतन्त्रका आधारभूत मूल्य र मान्यतामा सम्झौता हुँदैन, गरिंदैन’, ओलीले भने । उनले यसै क्रममा अगाडि थपे, ‘आज हाम्रा सामु अर्को जिम्मेवारी थपिएको छ। सिंहदरबार, अदालत, संसद् भवन, र अन्य जलाइएका संरचनाहरुको पुनर्निर्माण गर्नु छ। निजी र व्यावसायिक क्षेत्रको ढलेको मनोबल उठाउनु छ । शान्ति सुव्यवस्थाप्रति भरोसा फर्काउनु छ। यो काम भावनाले मात्र होइन, अनुशासन, योजना तर्जुमा र त्यसको कार्यान्वयनले हुन्छ। विगतका रेकर्डले बोल्छ, यी काम एमालेले मात्र गर्न सक्छ।’
एमालेले सरकारको नेतृत्व गरेदेखिको अभिलेख प्रस्ट रहेको अध्यक्ष ओलीको भनाइ थियो । ‘एमालेसँग विगतका कामका अभिलेखहरु छन्। आन्दोलनमा मात्र होइन, नीति, सुशासन र विकास निर्माणमा पनि हाम्रो कार्यशैली जनताले चिनेका छन्।
लक्ष्य तोक्ने, समयसीमा तोक्ने, काम सुरु गर्ने, काम पूरा गर्ने हो। कागजमा होइन, व्यवहारमा काम गर्ने हो’, ओलीले भने। उनले थपे, ‘गत भदौ २३ र २४ को राजनीतिक हुण्डरी र विध्वंशपछि फेरि अनिश्चयको तुवाँलो अझ बाक्लो गरी फैलियो र लामो संघर्षको उपलब्धि संविधान र समग्र व्यवस्थामाथि धावा बोलियो। स्वाधीनता र स्वाभिमानमाथि आक्रमण गरियो । आज देश यस्तो दोबाटोमा उभिएको छ, जहाँ एकातिर रिस, आवेग र आक्रोश छ भने अर्कातिर विवेक र जिम्मेवारी छ। भत्काउने र बनाउने दुई सोचबिचको जारी द्वन्द्वमा देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदै छ। त्यसतर्फ सचेत हुनुपर्छ।’
घोषणापत्र जारी गर्दै ओलीले आफूहरु निर्माणका पक्षमा रहेको, उत्तेजनाको पक्षमा नभएको बताए। ‘हामी स्वाधीनता र सार्वभौमसत्ताका रक्षक हौं, त्यसैले कस्तै आक्रमणको बेलामा पनि मौन बस्दैनौं। हामी भय र त्रासमा बाँचेको समाजलाई शान्ति र सुव्यवस्थातर्फ फर्काउन चाहन्छौं। त्यसैले विचारहीन र दिशाहीन स्टन्टबाट टाढा छौं। हाम्रो गन्तव्य स्पष्ट छ, समृद्ध नेपाल, सुखी नेपाली। हाम्रो संकल्प स्पष्ट छ, सुशासन, विकास, समृद्धि, समानता’, ओलीले भने। उनले पुस्तान्तर र अन्तरपुस्ताबारे पनि बोले।
उनले भने, ‘पुस्तान्तर र अन्तरपुस्ता द्वन्द्व ! म आज स्पष्ट शब्दमा भन्न चाहन्छु, यो देश पुस्ताहरूबिचको द्वन्द्वले बनेको होइन र द्वन्द्वले बन्दैन पनि। देश बनाउन युवाको ऊर्जा चाहिन्छ, त्यो जोश, त्यो सपना, त्यो हिम्मत जसले जस्तोसुकै कठिन पहाड पनि चढ्न सक्छ। तर सँगसँगै, अनुभवी पुस्ताको दृष्टि पनि चाहिन्छ। त्यो बुद्धि, त्यो संयम, त्यो मार्गदर्शन जसले युवा लड्खडाउँदा भरोसा दिन्छ।’

प्रकाशित: ७ फाल्गुन २०८२ २१:५९ बिहीबार





