२९ भाद्र २०८१ शनिबार
image/svg+xml
समाज

चैतेदसैँमा कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो

चैतेदसैँको अवसरमा तनहुँको पवित्र धार्मिकस्थल तनहुँ कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। 

व्यास नगरपालिका–४ सहिद शान्ति पार्कभित्र रहेको कालिका मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो।

बडादसैँ र चैतेदसैँको अवसरमा कालिका मन्दिरमा विशेष पूजाआजा हुने गरेको छ। मन्दिरमा पूजाआजा गर्नका लागि दमौली आसपासबाट भक्तजन आएका व्यास–४ का वडाध्यक्ष मनबहादुर गुरुङले बताए।

विगतको केही वर्ष कोरोना महामारीका कारण भक्तजन उपस्थिति कम देखिने गरेकामा यस वर्ष उल्लेख्य वृद्धि भएको व्यास–३ का अजित पन्तले जानकारी दिए।

घुइँचोका कारण पूजाआजा गर्न समय लागेको उनको भनाइ छ।उक्त मन्दिर मल्लकालीन प्यागोडा शैलीमा निर्माण गरिएको छ।

तीन करोड लागतमा मन्दिर निर्माण गरिएको हो। तीन तले मन्दिर ५५ फिट उचाइको रहेको छ। मन्दिरमा विभिन्न देवीदेवताका आकृति भएका ६० वटा टुँडाल हालिएको छ भने मन्दिरमा नौ फिट उचाइको गजुर राखिएको छ। 

पृथ्वी राजमार्गअन्तर्गत दमौली बजारबाट एक किलोमिटरको दूरीमा रहेको मन्दिर परिसरमा पार्क निर्माण गरी पैदलमार्ग बनाइएको वडाध्यक्ष गुरुङले बताए।उनका अनुसार सवारीसाधनका लागि पक्की बाटो निर्माणको योजना बनाइँदै छ।

‘अप्ठ्यारो ठाउँमा ८० मिटर बाटो ढलान गरिएको छ। दमौली बजारबाट एक किमी दूरीमा पर्ने पार्कभित्र सरकार, निजी क्षेत्र र स्थानीयवासीको सहयोगमा केही पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् भने गुरुयोजना अनुसारको थप पूर्वाधार निर्माण हुन बाँकी छ’, वडाध्यक्ष गुरुङले भने।

उनका अनुसार ३७ हेक्टर क्षेत्रफलमा काँडे तारबार, १० फिट चौडाइको एक किमी पक्की सिँढी निर्माण, दुई वटा वनभोजस्थल, एउटा कुरुवा घर, सार्वजनिक शौचालय निर्माण सम्पन्न भइसकेका छन्। रिजर्भ ट्याङ्की बनाएर खानेपानीको व्यवस्थापन गरिएको उनले जानकारी दिए। रासस

प्रकाशित: ४ वैशाख २०८१ १२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App