२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

विद्यार्थी युनियन र कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारी निर्णय स्वागत योग्यः राप्रपा

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विदेशी दूतावासद्वारा सञ्चालित युथ काउन्सिल खारेज गर्न प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष अपिल गरेका छन्।

शाहीले जारी गरेको अपिलपत्रमा हालै विद्यार्थी युनियन तथा कर्मचारी ट्रेड युनियन खारेज गर्ने निर्णयको स्वागत गर्दै उक्त कदमले शिक्षा क्षेत्र र प्रशासनिक प्रणालीलाई राजनीतिक प्रभावबाट मुक्त बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन्।

उनका अनुसार देशको राष्ट्रिय स्वाभिमान, स्वाधीनता तथा युवा पुस्तामाथि पर्ने बाह्य प्रभावलाई ध्यानमा राख्दै नेपालमा विदेशी निकाय तथा दूतावासद्वारा सञ्चालन भइरहेका युथ काउन्सिलहरूबारे गम्भीर समीक्षा आवश्यक छ।

शाहीले यस्ता काउन्सिलहरू खारेज गर्न तथा नेपाल सरकारको स्पष्ट अनुमति बिना कुनै पनि विदेशी संस्थाले कार्यक्रम सञ्चालन गर्न नपाउने कडा व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

उनले शिक्षा, नीति तथा युवा विकासका क्षेत्रमा स्वदेशी मूल्य, इतिहास र आवश्यकतालाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै राष्ट्रिय हितको संरक्षण आजको प्रमुख आवश्यकता भएको बताएका छन्। साथै, देशको दीर्घकालीन हित र स्वाभिमानलाई केन्द्रमा राखी सरकारले आवश्यक निर्णय लिने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: २२ वैशाख २०८३ १६:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App