आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाल जितनजिक पुगेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याइरहेको ओमानले ३५ ओभरको समाप्तिमा ८ विकेट गुमाएर १४८ रन मात्र बनाएको छ।
ओमानलाई दबाबमा राख्न नेपालका अलराउन्डर गुलशन झाले सानदार प्रदर्शन गरे। उनले ८ ओभरमा मात्र २५ रन खर्चिएर महत्त्वपूर्ण ४ विकेट लिइसकेका छन्।
ओमानको आठौँ विकेटका रूपमा विनायक शुक्ललाई ३६ रनमा आउट गर्दै गुलशनले नेपालको जितको आधार बलियो बनाएका हुन्।
बलिङतर्फ गुलशनलाई करण केसी, नन्दन यादव र दीपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिएर साथ दिएका छन्। ओमानका सिद्धार्थ बुक्कापटनम भने रनआउट भए। लेग स्पिनर सन्दीप लामिछानेले ७ ओभरमा मात्र १८ रन दिएर किफायती बलिङ गरे पनि विकेट भने लिन सकेका छैनन्।
ओमानलाई जितका लागि अब अन्तिम १५ ओभरमा १०९ रन आवश्यक छ। क्रिजमा शकिल अहमद र हसनैन शाह संघर्ष गरिरहेका छन् भने नेपाल जितबाट मात्र २ विकेट टाढा छ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले ९४, अर्जुन कुमालले ४८ र आरिफ शेखले ४३ रनको योगदान दिएका थिए।
ओमानका लागि नदीम खानले ३ विकेट लिएका थिए।
प्रकाशित: २२ वैशाख २०८३ १६:१० मंगलबार




