२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कटारी ‘लिजा’ र ‘एफआरए’ मा उत्कृष्ट

स्थानीय तहलाई सेवाग्राहीमैत्री, जनउत्तरदायी, वित्तीय पारदर्शिता तथा सामाजिक सुशासनमा अब्बल राख्दै समावेशी र परिष्कृत बनाउने उद्देश्यले सरकारले स्वमूल्यांकन गर्ने प्रावधान अघि सारेको छ।

स्थानीय तहमा अत्यधिक स्वेच्छाचारिता बढ्नुका साथै वित्तीय अनुशासनहीनता मौलाएर भ्रष्टीकरणले चरमसीमा नाघ्­न थालेपछि तीन वर्षयता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वमूल्यांकनको अवधारणा अघि सार्दै कार्यान्वयनमा ल्याएको हो।

जसअनुसार ‘संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि २०७७’ बनाएर सरकारले बर्सेनि स्थानीय तह, प्रदेश हुँदै संघीय मन्त्रालयमार्फत मूल्यांकन गर्दै आएको छ।

एक सय पूर्णांकका फरकफरक विषयक्षेत्र बनाई अंकभार तोक्दै मन्त्रालयले ‘स्थानीय तह संस्थागत क्षमता स्व–मूल्यांकन (लिजा)’ कायम गरेको छ भने आर्थिक पक्षलाई सबल बनाउन ‘स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए)’ विधि बनाएको छ। ती दुवै मापकबाट वर्षेनी अघिल्लो आर्थिक वर्षमा भएका समग्र गतिविधिको मूल्यांकन गर्ने गरेको छ।

यी दुवै मापदण्डमा उदयपुरका आठ स्थानीय तहमध्ये कटारी नगरपालिका गत आव २०७९÷८० को नतिजामा उत्कृष्ट दरिएको छ। कटारीले लिजा र एफआरए दुवैमा सर्वाधिक अंक ल्याउँदै जिल्लामा उत्कृष्ट स्थान पाउन सफल भएको मन्त्रालयको तथ्यांकले देखाएको छ।

मन्त्रालयका अनुसार कटारीले लिजातर्फ ९३.२५ अंक ल्याएको छ भने एफआरएमा ८३ अंक ल्याएको हो। अन्य स्थानीय तहमा लिजातर्फ रौतामाई गाउँपालिका ८७ अंकसहित दोस्रो र तेस्रो भएको उदयपुरगढी गाउँपालिकाले ८५.०५ अंक प्राप्त गरेको छ।

त्यसैगरी चौदण्डीगढी नगरपालिका ८० अंक ल्याउँदै चौथो भएको छ भने सदरमकुामको त्रियुगा नगरपालिकाले ७७ अंक पाएको छ। बेलका नगरपालिकाले ७२.२५, लिमचुङ्बुङ गाउँपालिकाले ६९.५ र ताप्ली गाउँपालिकाले ६६ अंक पाएका छन्।

त्यस्तै गत वर्षको एफआरएमा पनि कटारीले सबै सूचक पार गर्दै उदयपुयरको अब्बल स्थानीय तह सावित भएको छ। कटारीपछि उदयपुरगढी गाउँपालिका ७३ अंक ल्याउँदै दोस्रो, चौदण्डी नगरपालिका ७२.५ सहित तेस्रो भएको छ। 

रौतामाई गाउँपालिका ६०, बेलका नगरपालिका ५५.५, ताप्ली गाँउपालिका ५२.५, सदरमुकाम त्रियुगा नगरपालिकाले ४९.५ र लिमचुङबुङ गाउँपालिकाले सबैभन्दा कम ४६.५ अंक ल्याएको छ।

मन्त्रालयको कार्यविधिअनुसार लिजातर्फ विभिन्न १० र एफआरएतर्फ पाँचवटा अगलअलग सूचक तोकेर मूल्यांकन गर्नुपर्ने प्रावधान मन्त्रालयले बनाएको छ। लिजातर्फ ‘शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना, वित्तीय एवं आर्थिक, सेवा प्रवाह, न्यायिक कार्य, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विकास र सहकार्य र समन्वय’ रहेका छन्।

त्यसैगरी एफआरएतर्फको एक सय पूर्णांक पूरा गर्न पाँचवटा सूचक छन्। जसमा योजना, बजेट तथा कार्यक्रम व्यस्थापनमा २१ अंकभार तोकेको छ भने कार्यान्वयन क्षमता तथा व्यवस्थापन २९, लेखांकन तथा प्रतिवेदन १७, अनुमगन, मूल्यांकन तथा लेखा परीक्षण १६ र राजस्व व्यवस्थापनमा १७ अंकभार राखिएको छ।

कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले अघिल्ला वर्षमा न्यूनतम अंक पाउँदै आएको कटारीले प्रगतिमा फड्को मार्दै उत्कृष्ट हुनुमा कर्मचारी संयन्त्र मुख्य कारण भएको भन्दै प्रशंसा गरे।

आव २०७८-७९ मा ४२ र त्यसअघि २०७७-७८ मा ३६ अंक ल्याएर असफल भएको कटारी यसरी छलाङ मार्दै उत्कृष्ट गन्तव्यमा पुग्नुमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अनिल किराती नेतृत्वको कर्मचारी संयन्त्र नै मुख्य कारण भएको मेयर श्रेष्ठले स्मरण गरे।

प्रकाशित: २० फाल्गुन २०८० ०८:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App