११ पुस २०८२ शुक्रबार
image/svg+xml
कला/संस्कृति

कवि एवं कलाकार श्रेष्ठलाई अभिनन्दन

साहित्यिक पत्रकार सङ्घले कवि एवं कलाकार नरेन्द्रबहादुर श्रेष्ठ र उनकी धर्मपत्नी नीरू श्रेष्ठलाई अभिनन्दन गरेकाे छ।

नेवारी परम्परा अनुसार जङ्कु हुन लागेको अवसर पारेर त्यसको पूर्वसन्ध्यामा  उनीहरूलाई ३८ संस्थाबाट अभिनन्दन गरिएको हो। उक्त अवसरमा प्रदान गरिएको अभिनन्दनपत्रको उचाइ अभिनन्दित व्यक्तित्व  नरेन्द्रबहादुर श्रेष्ठकै उचाइ बराबर रहेको छ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व राजदूत केदारभक्त माथेमा र कार्यक्रम एवं साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली लगायतले श्रेष्ठलाई अभिनन्दनपत्र हस्तान्तरण गरिएको थियो।

उक्त कार्यक्रममा नरेन्द्रबहादुर श्रेष्ठबारे विभिन्न व्यक्तिहरू लेखिएका आलेख र उनका विभिन्न व्यक्तित्वबारे जानकारी दिने अभिलेख समावेश गरिएको ‘नरेन्द्रबहादुर श्रेष्ठ: आलेख र अभिलेख’ को लोकार्पण पनि गरिएकाे थियाे।

उक्त ग्रन्थको सम्पादन प्रमोद प्रधान प्रधानसम्पादक र श्रीओम श्रेष्ठ ‘रोदन’, विमल भौकाजी र मुरारी सिग्देल सम्पादक रहेर गरिएकाे हाे। ग्रन्थमा ८० लेखकका रचना समावेश छन्।

सोही कार्यक्रममा नरेन्द्रबहादुर श्रेष्ठका जराकलाले सजिएको नयाँ वर्ष २०८२ को क्यालेन्डर पनि लोकार्पण गरिएको थियो।

यसैगरी सर्वनामले तयार गरेकाे नरेन्द्रबहादुर श्रेष्ठको वृत्तचित्रको प्रदर्शन पनि गरिएको थियो। यस वृत्तचित्रको निर्देशन वरिष्ठ नाट्यकर्मी एवं आख्यानकार अशेष मल्लले गरेका थिए।

उक्त अवसरमा प्रमुख अतिथि पूर्व राजदूत केदारभक्त माथेमाले समाजलाई बाटो देखाउने सिर्जनशील व्यक्तिहरूको अभिनन्दन आफैंमा महत्त्वपूर्ण कार्य भएको बताए। उनले श्रेष्ठलाई बधाई ज्ञापन गर्दै उनको सिर्जनशील जीवनको कामना गरेका थिए।

अभिनन्दित व्यक्तित्व नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो साहित्यिक र कलायात्राको पृष्ठभूमि बताउँदै आजको दिन आफ्नो जीवनको अविस्मरणीय दिन भएको उल्लेख गरेका थिए। आफ्नो जीवनमा आमा र श्रीमती दुवैको उत्तिकै भूमिका भएको पनि उनले बताए।

साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले श्रेष्ठको व्यक्तित्व र योगदानकाे चर्चा गर्दै यो अभिनन्दन उनले समाज र देशलाई दिएको योगदानको लागि भएको बताए।

कार्यक्रममा प्रमुख वक्ता वरिष्ठ समालोचक प्रमोद प्रधानले नेपाली कविता, कला, समाजसेवा र अध्यात्म यी चार क्षेत्रमा नरेन्द्रबहादुर श्रेष्ठको योगदान अविस्मरणीय रहेको बताए। उनले भने, ‘उहाँलाई नरेन्द्रबहादुर बनाउन उहाँकी आमा र धर्मपत्नीको योगदान हामीले बिर्सन हुँदैन।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष कुशकुमार जोशीले आफूले सानामा नरेन्द्रबहादुर श्रेष्ठबाट कविता सुनेको सम्झिंदै आफूले उनीबाट प्राप्त गरेको प्रेरणाको चर्चा गरेका थिए।

कवि ठाकुर बेलवासेले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठ, ॐ आदि फाउन्डेसनका प्रमुख सल्लाहकार लक्ष्मी प्रसाईंंले पनि अभिनन्दित व्यक्तित्वलाई शुभकामना दिएका थिए। कार्यक्रममा श्रेष्ठका जेठो सुपुत्र निश्चलबहादुर श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रममा सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलले अभिनन्दनपत्र वाचन गरेकी थिइन्। कार्यक्रममा प्रमुख अतिथि र प्रमुख वक्तासहित सहभागी संस्थाहरू र लेखकहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।

प्रकाशित: ३ वैशाख २०८२ १३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App