१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

बालेनका सक्रिय चार दिन: भावी प्रधानमन्त्री काे?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह चार दिनयता राजनीतिक संवादमा सक्रिय छन्। नयाँ दलमार्फत अगाडि बढ्ने गरी उनले यस अवधिमा ५० भन्दा बढी व्यक्तिसँग संवाद गरिसकेका छन्। उनले समानुपातिक उम्मेदवार टुंगो लगाउने गरी संवाद अघि बढाए पनि टुंगो भने लागिसकेको छैन। बालेनले विभिन्न रणनीति पनि अघि सारिरहेका छन्।

बालेनले पुराना दलहरूमा असन्तुष्ट रहेका नेताहरूसँग पनि छलफल गरेका छन्। पुराना दलमा असन्तुष्ट रही बाहिर आउन खोजेका नेताहरूको साथ खोज्नु छलफलको उद्देश्य हो। दलभन्दा बाहिर रहेका र सामाजमा सकारात्मक छवि बनाएका अभियन्ताहरूलाई साथमा लिने कोसिस पनि उनले गरेको देखिन्छ।

राजनीतिक रूपमा आफैं अघि बढ्ने भएपछि बालेनले समानुपातिक उम्मेदवारको चयन गर्ने र त्यसमा धेरैजसो सामाजिक अभियन्ता र जेनजी विद्रोहमा सामेल भएका व्यक्तिहरूलाई समेट्ने उद्देश्य राखेको देखिन्छ। सोमबार रातिपछि बिहीबारसम्म उनले समाजका धेरै पक्षसँग सरोकार राख्ने व्यक्तिहरूसँग भेटघाट गरेका छन्।

बालेनका सहयोगीहरूका अनुसार नयाँ पुस्ताका माग सम्बोधन गर्ने गरी छलफल थालिएको छ तर अहिले नै टुंगोमा पुगेको भने होइन। लामो समय बालेनको सचिवालयसँग जोडिएका धिरज जोशीका अनुसार सोमबारदेखि बिहीबारसम्मका छलफलबाट कुनै निष्कर्ष भने आइसकेको छैन। ‘अहिले नै निष्कर्ष निकाल्नु उपयुक्त हुन्न,’ जोशीले भने, ‘नयाँ शक्ति मिलेर जानुपर्छ भन्ने हाम्रो नीति हो।’

बालेनले रवि लामिछानेले नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), कुलमान घिसिङले नेतृत्व गर्ने उज्यालो नेपाल पार्टी र पुराना दलबाट बाहिरिएका र सामाजिक अभियन्ताहरूसँग छलफल गरेका छन्। खासगरी बुधबार र बिहीबार बालेन साह दिनभर विभिन्न समूहसँगको छलफलमा व्यस्त रहे। छलफलको निष्कर्षचाहिँ प्रधानमन्त्री को बन्ने भन्नेमा गएर अड्किएको छ। यो विषयमा लामिछाने र घिसिङ दुवै मौन बसेका छन्। ‘बालेनले अबको प्रधानमन्त्री को हुने भन्नेमा स्पष्ट हुन चाहेका हुन् तर निष्कर्ष आउन सकेको छैन,’ संवादमा रहेका एक नेताको दाबी छ।

रास्वपा सभापति लामिछानेसँग सोमबार राति लामो छलफल गरेका बालेन मंगलबारबाट आफ्नो सहभागितामै दल सञ्चालन गर्ने गरी अघि बढेका छन्। बिहीबार रातिसम्म आइपुग्दा उनले ५० भन्दा बढी व्यक्तिसँग छलफल गरेका छन्। बालेनले आफ्नै सचिवालयमा रहेका कुमार बेनको ललितपुरस्थित घरमा छलफल गरेका हुन्। बेन ललितपुरबाट चुनावी प्रतिस्पर्धा गर्ने तयारीमा छन्।

बालेनले आफैं बसेको स्थानमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईदेखि चिकित्सक डा. भगवान् कोइराला निवर्तमान स्वतन्त्र सांसदहरू अमरेश सिंह, नेपाली कांग्रेसका निवर्तमान सांसद सुनील शर्मादेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाही, जनमत पार्टीका सिके राउत, नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका अध्यक्ष रेशम चौधरीसम्मलाई भेटेर आफ्ना योजनाहरू सुनाएका छन्।

बालेनले उज्यालो नेपालका नेता एवं वर्तमान ऊर्जामन्त्री कुलमान घिसिङसँग पार्टी एकीकरणको प्रस्ताव राखेका छन्। घिसिङसँग जोडिएका सुमना श्रेष्ठहरूले बालेन र घिसिङलाई मिलाउने प्रयास गरिरहेका छन्। साथै लामिछाने र बालेनलाई मिलाउन शिशिर खनाल र कुमार बेनले प्रयास गरिरहेका छन्। बाबुराम भट्टराईले बालेनलाई भेटेर वैकल्पिक शक्तिहरू मिल्नुपर्ने सुझाव दिएका छन्। उनले आफ्नो १० वर्षअघिकै सपना भएकाले शुभेच्छा राखेको पनि बताए।

तीबाहेक सामाजिक सञ्जालमा अतिरञ्जना गर्ने भीम उपाध्याय, विवेकशील साझाका पूर्वउपाध्यक्ष मिलन पाण्डे, अभियन्ता सागर ढकाल, जेनजी अभियन्ता रक्षा बम, केपी खनाललाई समेत भेटेर बालेनले सहयोगको अपेक्षा गरेका छन्।

बालेनले कलाकार निश्चल बस्नेत, कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहिया, पत्रकारहरू सुरजसिंह ठकुरी र ऋषि धमलालगायतलाई पनि भेटेर आफ्ना धारणा राखेका छन्। उनीहरूसँगको भेटपछि जेनजी समूहका केही अगुवालाई बालेनले एकजुट भएर आउन आग्रह गरेका थिए। सोमबारको भेटमा लामिछानेले बालेनलाई प्रधानमन्त्री प्रस्ताव गरेका थिएनन्।

बिहीबारको भेटमा पनि लामिछानेले सबै विषयलाई प्याकेजमै डिल गर्ने प्रस्ताव राखेका छन्। बालेनले आफू अघि बढिसकेको र पुराना दलहरूलाई यसपल्ट नै पराजित गर्न दुवै जना मिल्नुको विकल्प नभएको दोहोर्‍याएका थिए। बिहीबारको भेटमा पनि लामिछानेले बालेनलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको स्रोतको दाबी छ।

नयाँ शक्ति कसैसँग पनि आइतबारसम्म सहकार्य नभए बालेनले निर्वाचन आयोगमा दर्ता भएको पार्टीमार्फत आफैं अघि बढ्ने निश्चित गरेको स्रोतको दाबी छ। बालेनका सहयोगीले देशविकास पार्टी निर्वाचन आयोगमा दर्ता गराइसकेका छन्। यसको चुनाव चिह्न लौरो छ। अनन्तराज घिमिरेका नाममा रहेको सो पार्टीलाई बालेनले आफ्नो सहयोगीका नाममा ल्याएका हुन्।

बालेनले आफूलाई भावी प्रधानमन्त्री भनेर यही पार्टीबाट चुनावमा जाने सोच पनि बनाएका छन्। उनले आफू उम्मेदवार बन्ने क्षेत्र भने निर्धारण गरेका छैनन्। केपी ओली जुन क्षेत्रबाट चुनावमा उठ्छन् बालेन पनि त्यही क्षेत्रबाट उठ्ने भन्दै प्रचारबाजी भने गराइएको छ । बालेन र उनको सचिवालयले यो विषयमा केही बताएका छैन।

रक्षा बम समूहले सहकार्य गर्ने

बालेन राजनीतिक दलमार्फत चुनावी प्रक्रियामा आए रक्षा बम समूहले सहकार्य गर्ने भएको छ। बालेनले लोकतन्त्र, गणतन्त्र, संघीयता र संविधान मान्ने बताएपछि रक्षा बम समूहले सहकार्य गर्ने जनाएको हो। उता मिलन पाण्डे समूहको विकेकशील साझा पनि बालेनसँग रहने बताइएको छ। सो समूहमा रहेका केही अभियन्ता र साहित्यकार पनि जोडिन सक्ने बताइएको छ। रक्षा बमलगायतका समूहसँग बालेनले ‘म राजनीतिमा आएँ, तपाईंहरूको सहयोग चाहियो’ भनेका थिए । रक्षा समूहले जवाफमा सहयोग गर्ने बताएको छ।

सुदन गुरुङको अवस्था के?

बालेनसँग छलफलमा रहेका सुदन गुरुङले भने कुनै प्रतिक्रिया दिएका छैनन्। बिहीबार दिउँसो लामिछाने र बालेनलाई मिल्न दबाब दिएको सन्देश प्रवाह गर्न गेटमा ताल्चा लगाएको तस्बिर सार्वजनिक गरेका सुदनले आफ्नो अवस्था के हो भनेर केही खुलाएका छैनन्। सुदनप्रति रवि, बालेन र रक्षा तीनै जना सकारात्मक छैनन्। उनीहरूले सुदनका लागि  तत्कालै गेट बन्द गर्ने नीति पनि लिएका छैनन्। ‘सुदनको बानीब्यहोरा सुधार नभएसम्म हामी हुन्छ वा हुँदैन भन्ने अवस्थामा छैनौं तर अहिले नै उनलाई यहाँ नआउनू भन्न पनि सकिन्न,’ बालेननिकट एक जेनजीले भने।  

प्रकाशित: ११ पुस २०८२ ०६:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App