सर्लाही–१ मा चुरेको विकट बस्तीदेखि जिल्लाकै प्रमुख व्यापारिक केन्द्र लालबन्दी र बयलबास पर्ने भए पनि यहाँका समस्याप्रति नेताहरू उदासीन रहेको पाइएको छ। यस क्षेत्रका अधिकांश मतदाता कृषि पेसामा आबद्ध छन्। तर आफूले उठाएका मुद्दामा उम्मेदवारहरूले जनतालाई आश्वस्त पार्न सकेका छैनन्।
सर्लाही–१ मा एक लाख ३० हजार ८७१ मतदाता छन्। उनीहरूले भनेग्दै आएका समस्याहरूप्रति नेताहरू उदासीन हुँदा जनतालाई चुनावको रहर छैन। नेताहरू घरदैलोमा रहे पनि जनताले चासो दिइरहेका छैनन्। आसन्न प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा सर्लाही–१ मा उम्मेदवारहरूले सडक, खानेपानीको अभाव र सिँचाइको समस्या, शिक्षा, कृषि, रोजगार, स्वास्थ्य सुधारदेखि युवा बेरोजगारीसम्मका समस्यालाई मुख्य अजेन्डा बनाए पनि पुरानै दोहोर्याइएकाले जनता उत्साही देखिएका छैनन्।
सर्लाही–१ मा २८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। कांग्रेसबाट शम्भुलाल श्रेष्ठ, एमालेबाट मनोजकुमार देवकोटा, नेकपाबाट प्रमोद साह, जसपाका र रास्वपाबाट नीतिमा कार्की उम्मेदवार छन्। यीमध्ये शम्भुलाल र प्रमोद पूर्वप्रतिनिधिसभा सदस्य हुन्। त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) नेपालका रामप्रकाश चौधरी पनि पूर्वप्रतिनिधिसभा सदस्य नै हुन्।
२०७९ सालको निर्वाचनमा गठबन्धनका तर्फबाट तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका रामप्रकाश चौधरी (हाल जसपा) २४ हजार ८३८ मत प्राप्त गरी निर्वाचित भएका थिए। उनलाई गठबन्धनबाट कांग्रेस र तत्कालीन नेकपा एकीकृत समाजवादीले साथ दिएक थिए। उनलाई पछ्याएका स्वतन्त्र उम्मेदवार मानबहादुर खड्काले १८ हजार ४०४ र एमालेसँगको गठबन्धनका उम्मेदवार जसपा नेपालका प्रमोद साहले १४ हजार २५५ मत प्राप्त गरेका थिए। चौधरी यसपालि जसपाबाट जित निकाल्ने भन्दै उम्मेदवार बनेका हुन्।
सर्लाही–१ मा एक लाख ३० हजार ८७१ मतदाता छन्। चुरे भेगको सिन्धुलीसँगको सीमादेखि मधेसको समथर भूभागसम्म पर्ने सर्लाही–१ मा चन्द्रनगर गाउँपालिका सबै (१–७), लालबन्दी नगरपालिका सबै (१–१७), ईश्वरपुर नगरपालिकाको १५ बाहेक सबै (१–१४), हरिपुर नगरपालिकाको १ बाहेक सबै (२–९), कविलासी नगरपालिका–१, २ र ७ नम्बर वडा पर्छन् । सर्लाही–१ का अधिकांश मतदाता कृषि पेसामा आबद्ध छन्। यस निर्वाचन क्षेत्रमा मुख्य गरी खानेपानीको अभाव र सिँचाइको समस्या मुख्य रहेको स्थानीय बताउँछन्।
सर्लाही–१ मा कृषि विश्वविद्यालय स्थापना, सुनकोसी–मरिण सिँचाइ आयोजनाको पानी वितरण, लालबन्दी–मरिण–नेपालथोक सडक सञ्जाल निर्माणलगायत मुद्दा केही समयदेखि उठ्दै आइरहेका छन्। चुनावी सरगर्मी बढ्दै जाँदा सर्लाही–१ का मतदाता भने अहिले उखु काट्ने, दलहन तथा तेलहन बाली थन्क्याउने, हिउँदमा फुर्सदको समय भएकाले मजदुरी गर्न विभिन्न ठाउँमा पुग्ने र गहुँबालीमा मलखाद गर्ने काममा व्यस्त छन्।
सर्लाही–१ मा प्रमुख दलबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सूर्यनारायण यादव, जनमत पार्टीबाट श्रीन्जय महतो, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट रमाकान्त कापर, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट लुमडीप्रसाद धिमाल, मंगोल नेसनल अर्गनाइजेसनबाट अमृतलाल बोम्जन, नेपाल जनता संरक्षण पार्टीबाट जितेन्द्रप्रसाद साह रौनियार, नेपाल जनता पार्टीबाट इनरजित साह तेली, श्रम संस्कृति पार्टीबाट सुमन हरि अधिकारी, उज्यालो अभियान पार्टीबाट छत्रबहादुर डुम्जन, बहुल एकता पार्टी नेपालबाट राजाराम पासवान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट टेकबहादुर श्रेष्ठ, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट विकासकुमार ठाकुर, राष्ट्रिय निर्माण दल नेपालबाट तैयव मन्सुर र आम जनता पार्टीबाट मो. अस्फाक उम्मेदवार बनेका छन्।
प्रकाशित: १२ फाल्गुन २०८२ २१:४० मंगलबार





