१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

रविलाई उदयपुरमा भ्याइनभ्याइ

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार उदयपुरमा भ्याइनभ्याइ भयो। पूर्वका विभिन्न जिल्ला घुमेर सुनसरीबाट मदन भण्डारी लोकमार्ग हुँदै उदयपुर छिरेका लामिछाने जिल्लाको बेलका नगरपालिका ९ स्थित रामपुर बजारमा केही समय बिताए। 

रामपुरमा भेला भएका स्थानीय नेताकार्यकर्तासँग केहीबेर बिताएपछि सभापति लामिछाने अर्को नगरपालिका चौदण्डीगढी मुकाम बेलटार बजार आए। त्यहाँ पनि त्यसगरि स्थानीय नेताकार्यकर्तासँग भेटघाट र कुराकानी गरेका उनी सदरमुकाम गाईघाट भने तोकिएको समयभन्दा झण्डै ३ घण्टापछि आइपुगेका थिए।

दिउँसो ३:३० वजे नै गाईघाट आउने पार्टी कार्यकर्ताहरूको सामाजिक सञ्जाल र माईकिङ प्रचार भएकाले सोही आधारमा उनी आउने भनिएको गाईघाट लोकतान्त्रिक (पिपल) चोकमा ३:३० अगावै कार्यकर्ता र शुभेच्छुकहरू भेला भएका थिए। तर, ४:०० बजेसम्म पनि उनी नआएपछि सहभागीलाई थुमथुमाउन कार्यकर्ताहरूले ४:३० सम्ममा आइपुग्ने भन्ने जानकारी गराए।

सहभागीलाई रोक्नका लागि कार्यक्रमस्थलमा कविता वाचन, घण्टी बजाउने, गीत बजाउने तथा झण्डा हल्लाएर हुटिङ गर्ने काम कार्यकर्ताहरूबाट जारी रह्यो। ५:०० बजेसमम पनि लामिछाने नआएपछि तितरबितर हुन लागेका जमातलाई रोक्न कार्यकर्ताहरूले गीत, नारा र हुटिङ चर्काइरहे।

यता गाईघाट पिजी चोकस्थित चुनाव प्रचारप्रसार सम्पर्क कार्यालयमा पनि कार्यकर्ताहरूको जमघट थियो। पूर्वगृहमन्त्रीसमेत भएको नाताले उनको सुरक्षाका लागि प्रचार कार्यालय आसपास सुरक्षाकर्मीसमेत परिचालन गरिएको थियो। निकै पट्यारलाग्दो पर्खाइपछि ६:४७ बजे लामिछाने आफैँ जीप हाँक्दै प्रचार कार्यालय आइपुगे।  

केही समयअघि झापा ५ का उम्मेदवार बालेन साह यसैगरी प्रचार गरिएको भोलिपल्ट मात्र आएका थिए। उनी आउँदा सरासर प्रचार कार्यालय पुगेर त्यहाँ झुण्ड्याइएको घण्टी हल्लाएर हिँडेजस्तै रवि पनि घण्टी बजाएर हिँड्ने अनुमान गरिएको थियो।

तर, उनले भने त्यसो गरेनन्। बरु गाडी स्लो गर्दै आए, भित्रैबाट हात हल्लाउदै प्रचार कार्यालय नपसी सरासर अघि बढे र कार्यक्रमस्थल पिपलचोक पुग्नुअघि मुख्यचोकनजिक विद्युत मार्गदेखि गाडीमा अर्काे चालकलाई राखेर टाउको निकालेर हात हल्लाउँदै कार्यक्रमस्थल पुगे। त्यहाँ जम्मा भएका सहभागीहरूसँग भ्याएसम्म हात मिलाए, नभ्याएकालाई हात जोडेर अभिभावदन गरे, कार्यकर्ताहरूले दिएको माला पहिरिए।

पार्टी त्रियुगा नगर समिति अध्यक्ष उत्तम रिजालका अनुसार गाईघाटमा लगभग आधा÷पौनघण्टा बिताएका लामिछाने मञ्चमासमेत उत्रन पाएनन्। अत्याधिक भिड र समयाभावका कारण मञ्चमा नउत्रि गाडीबाटै केही मिनट आफ्ना कुरा राखे। उनले पुराना दलहरूले देश भड्खालोमा लगेकाले अव नयाँ दल (रास्वपा)लाई शासनको बागडोर सुम्पनुपनुपर्ने बताए। सहभागीहरूलाई देखेर उत्साहित भाव प्रकट गर्दै उनले रास्वपाप्रतिको उर्लदो आकर्षणले आउँदो फागुन २१ को चुनावले आफ्नो पार्टी स्पष्ट बहुमत प्राप्त गर्न सफल हुने अपेक्षा र विश्वास लिएको बताएका थिए।  

गाईघाटपछि कटारीमा तय भएको कार्यक्रम भ्याउन उनी त्यता लागिसकेका छन्। पार्टी उदयपुर सभापति चित्र कार्कीका अनुसार उनी कटारीमा रहेको प्रचार कार्यालयको अनुगमन गर्नेछन् भने कार्यकर्ताहरूसँगै कटारी बजार परिक्रमा गर्ने तय भएको छ।

प्रकाशित: १२ फाल्गुन २०८२ २१:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App