२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

देउवाको घरमा जलेको पैसा ‘एआई’ हो कि होइन रास्वपाले छानबिन गर्छ: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाको घरमा जलेको भनिएको पैसा एआई हो कि होइन भन्नेबारे रास्वपाले छानबिन गर्ने बताएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापामा मतदातासँग कुराकानी गर्दै देउवाको घरमा पैसा जलेको भनिएको भिडियो ‘एआई’ बाट बनाइएकाे बताएका थिए।

सोही कुराको कटाक्ष गर्दै लामिछानेले सो भिडियो ‘एआई’ हो कि होइन भन्नेबारे रास्वपाले छानबिन गर्ने बताएका हुन्।

लामिछानेले भनेका छन्, ‘भ्रष्टाचार नियन्त्रण कसरी हुन्छ ? जसजसले एआईमा जलेको पैसा भनेका छन् नि, त्यसको छानबिन रास्वपाले गर्छ। त्यो एआई हो कि होइन भन्ने कुराको हिसाब हुन्छ।’

उनले आफ्नो पार्टी सत्तामा पुगेको खण्डमा कसैसँग राजनीतिक प्रतिशोध नसाँध्ने तर मुलुक लुट्नेहरूलाई भने नछोड्ने स्पष्ट पारे।

‘हामीलाई राजनीतिक प्रतिशोध लिनु छैन। तर जनता र देशलाई ठगेको, लुटेको र देशमा पैसा नअटाएर विदेशमा समेत जम्मा गरेको सम्पत्तिको छानबिन र हिसाब हुन्छ,’ उनले उद्घोष गरे।

वैदेशिक रोजगारीका कारण नेपाली परिवारमा परेको पीडालाई पनि लामिछानेले सम्बोधन गरेका छन्। उनले भने, ‘आज आफ्नो बुवालाई राम्रो जुत्ता लगाइदिन नसकेर हाम्रो भाइ अरबको खाडीमा पसिना बगाइरहेका छन्। त्यो पसिनाको हिसाब हुन्छ। रुँदै रुँदै जनता लखेटेको सब चिजको हिसाब हुन्छ।’

सभापति लामिछानेले आगामी २१ गते हुने निर्वाचनमा घण्टी चुनाव चिह्नमा मतदान गरी नयाँ इतिहास रच्न र लुटतन्त्रको अन्त्य गर्न मतदातालाई आह्वान समेत गरेका छन्।

प्रकाशित: १० फाल्गुन २०८२ १९:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App