१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

दसैंदेखि नै कर्मचारीले पाएका छैनन् तलब

दैलेखको आठबिस नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा दसैंपछि कर्मचारीले तलब खान पाएका छैनन्। प्रमुख प्रशासकीय अधिकृत नतोकिँदा तलबसँगै नगरपालिकाका कामसमेत प्रभावित भएका हुन्।

लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा नगरपालिकाका काम भइरहेका छन्। जसका कारण निर्णय लिनुपर्ने महत्त्वपूर्ण काम प्रभावित हुने गरेका छन्।

निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर शाहीलाई तोकिएको थियो। फेरि बीचमा दानबहादुर एडी प्रमुख प्रशासकीय अधिकृतका रूपमा एक दिन हाजिर भए। एक महिना पुग्दासमेत एक दिन हाजिर भएर फर्केका एडी पुनः नगरपालिकामा फर्केर आएका छैनन्।

स्रोतका अनुसार सामान्य प्रशासन मन्त्रालयमार्फत एडी अन्यत्रै सरुवाको तयारीमा रहेका छन्। आठबिस नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बस्न नमान्दा विकास योजनालगायतका कामहरूको भुक्तानी, कर्मचारीको तलबलगायतका काममा बर्सेनि समस्या झेल्ने गरेको पाइएको छ।  

प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकामा कर्मचारी भेट्नै मुस्किल हुने गरेको स्थानीय गणेश शाहीले बताए। नगरबाट दसैंपछिबाट तलब निकासा नभएको आठबिस नगरपालिका– ८ स्थित वीरेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक डरेन्द्रबहादुर चन्दले बताएका छन्।

‘तीन महिनाको अन्तरमा तलब आउनुपर्नेमा दसैंपछि एक पटक पनि तलब आएको छैन,’ प्रधानाध्यापक चन्दले भने, ‘प्रमुख प्रशासकीय अधिकृत नहुँदा तलब खान नपाइएको हो।’

तलबका लागि आठबिसमा शिक्षक महासंघले विज्ञप्ति निकालेर नगर प्रमुख र शिक्षा शाखा प्रमुखलाई बुझाएका छन्। तलब समयमा नपाउँदा निकै सकस हुने गरेको शिक्षकहरूको दुखेसो छ।

नगरमा ५९ विद्यालयमा ४०२ शिक्षक कार्यरत छन्। ५९ विद्यालयका कुनै पनि शिक्षकले दसैंयता तलब खान नपाएको आठबिस नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रेमराज खनालले बताए।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा आठबिस नगरपालिकामा कार्यरत कर्मचारीले पनि लामो समयदेखि तलबभत्ता खान नपाएको स्वास्थ शाखा प्रमुख देवबहादुर तिमिल्सेनाले बताए।

प्रकाशित: ४ फाल्गुन २०८० ११:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App