९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

ओलीलाई ‘आठ कक्षा फेल’ भन्दा दुखेको राधिकाको चित्त

‘प्रमाणपत्र लिनेको गुरु पनि केपी ओली नै हो’

प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले पतिलाई ‘आठ कक्षा फेल’ भन्ने गरेकामा चित्त दुखाई व्यक्त गरेकी छन्। शनिवार काभ्रेमा आयोजित कार्यक्रममा राधिकाले यस्तो भनेको भिडिओ अहिले सामाजिक सञ्जालमा छाएको छ। 

‘मैले दुई वटा विषयमा मास्टर्स गरेको छु । अस्तिको शिक्षक आन्दोलनमा पनि ‘८ क्लास फेल भएको मान्छेले देश चलाउने, हामी यत्रो पढेका शिक्षक सहरमा आन्दोलन गर्नुपर्ने ?’ भन्ने सुनेँ,’ राधिकाले भनेकी छन्, ‘म विनम्रसाथ सबैलाई के अनुरोध गर्न चाहन्छु भने दुई विषयमा मास्टर्स गरेको प्रमाणित कपी मसित छ । तर, मेरो श्रीमान् केपी ओलीमा रहेको विविध विषयको ज्ञानको अगाडि म केही पनि होइन ।’ 

ओलीले सर्टिफिकेट किन भएन ? भन्ने कुरा सबैलाई थाहा भएको पनि उनले बताएकी छन्। ‘जेलमा भएका थुप्रैले प्रमाणपत्र लिनुभएको छ । तर, प्रमाणपत्र लिने साथीहरूको गुरु पनि जेलमा केपी ओली नै हो । उहाँले हरेक विषयमा जेलमा बसेका साथीभाइहरूलाई जानेको कुरा सिकाइदिनुहुन्थ्यो,’ राधिकाले भनेकी छन्। 

ओलीले सबैलाई पढ्नुपर्छ भनेर प्रेरणा पनि दिने गरेको उनले बताएकी छन्। उनले अगाडि भनेकी छन्, ‘तर, उहाँले प्रमाणपत्र लिने काम किन गर्नुभएन भने प्रमाणपत्र लिएर कुनै संस्थाको हाकिम बनुँला भन्ने थिएन। एउटा त जेलबाट छुटिन्छ कि छुटिन्न भन्ने नै टुङ्गो थिएन र छुटिहाले पनि हाकिम भएर राम्रो जिन्दगी बाँच्ने कहिले पनि सोच्नुभएन भन्ने लाग्छ।’ 

ओलीको दिमागमा जेलमा बस्दा र जेलबाट बाहिर आएपछि जुनसुकै बेलामा पनि देश र जनताबाहेक अरू केही पनि नभएको आफूले महसुस गरेको पनि राधिकाले बताएकी छन्। 

‘पढेको छु’ भनेर ओलीलाई अनपढ भन्नेहरूका कुरा सुन्दा चित्त दुख्ने पनि राधिकाले सुनाएकी छन्। ‘आज पढेको छु, यसो छु, उसो छु भन्ने मान्छेहरूले उहाँलाई एउटा अनपढ भनेर चित्रण गरेको सुन्दा साँच्चै भन्नुपर्दा चित्त दुख्छ,’ उनले भनेकी छन्, ‘मैले दुई डिग्री हासिल गर्न सक्नुमा, मैले यो किताब लेख्न सक्नुमा मेरो प्रेरणाको स्रोत भनेको केपी ओली नै हो । लेख्ने पढ्ने गर, सिकाइ भनेको अन्त्य हुँदैन भनेर दिनहुँ भनेजस्तो घचघच्याइराख्नु हुन्थ्यो । उहाँको त्यो घच्घचाहट टाल्न नसकेर पनि मैले पढ्ने–लेख्ने र केही गर्ने काम गर्छु । धेरैपल्ट भनेपछि त कति नगर्नु ।’

प्रकाशित: २१ वैशाख २०८२ १७:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App