नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको विकास प्रयासमा छिमेकी चीनको सहयोग प्रसंशनीय रहेको बताएका छन्।
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको सन्दर्भमा जिपी कोइराला फाउन्डेसनले सोमबार यहाँ आयोजना गरेको तस्बिर प्रदर्शनीको उद्घाटन गर्दै उनले नेपाल–चीन सांस्कृतिक, आर्थिक र सामाजिक साझेदारी ऐतिहासिक र मजबुत रहेको बताए।
नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृतिक तथा शैक्षिक आदानप्रदान, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्यलगायत क्षेत्रमा चिनियाँ सहयोगप्रति आभार प्रकट गर्दै सभापति देउवाले आगामी दिनमा चिनियाँ सहयोग थप अभिवृद्धि हुने विश्वास व्यक्त गरे।
“फोटो प्रदर्शनीले चीनसँगको सहकार्यलाई थप मजबुत बनाउने, जनस्तरको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दछु”,उनले भने, “नेपाल–चीन सांस्कृृतिक र शैक्षिक सम्बन्धलाई पनि प्रगाढ बनाउनाका साथै यसले दुई देशका जनताबीच आपसी सहमति र सहकार्यको भावना जागृत गराउने छ।”
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाली भूमिमा चीनविरोधी कुनै पनि गतिविधि हुन नदिइने स्पष्ट पारे।
प्रकाशित: २२ वैशाख २०८२ २१:५३ सोमबार





