१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

यसरी मनाए साकेला गाउँपालिका अध्यक्षले जन्मदिन...

ट्याब्लेट दिएर बालबालिकासँग जन्मदिन मनाउँदै अध्यक्ष राई। तस्बिर : नागरिक

जन्मदिन मनाउने परिपाटी पूर्व र पश्चिम मुलुक सबैतिर पाइन्छ। कतै तामझाम देखाएर मनाउने गरिन्छ भने कतै बोटबिरुवा रोप्ने, सरसफाइ गर्ने, चौतारा बनाउने, सेवा र सहयोग गर्ने, वृद्धाश्रममा बस्ने ज्येष्ठ नागरिकलाई भोजन गराउने जस्ता सिर्जनशील कर्म गरेर पनि जन्मदिन मनाउने गरिन्छ। यस्तै सिर्जनशील तरिकाले जन्मदिन मनाएका छन् खोटाङका एकजना जनप्रतिनिधिले।  

खोटाङको साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले यो वर्षको जन्मदिन रचनात्मक र सिर्जनशील तरिकाले मनाए। यही बुधबार उनले गाउँपालिकाका सबै बाल विकास केन्द्रमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री दिनुका साथै अपांगता भएकालाई सहयोग सामग्री प्रदान गरे।

गाउँपालिका अध्यक्षले पारिश्रमिकवापत पाउने कानुनबमोजिमको रकमबाट कम्प्युटर एलसिडी ट्याब खरिद गरेर बालबालिकालाई वितरण गरे। प्रारम्भिक शिक्षा लिने बाल विकास केन्द्रका बालबालिकालाई उनले लेखन विकास गर्न सहयोग पु¥याउने उद्देश्यले ‘राईटिङ एलसिडी ट्याब्लेट’ वितरण गरेका छन्।

गाउँपालिकाका प्रशासकीय अधिकृत महेश राईका अनुसार अध्यक्षले पारिश्रमिकवापत पाएको रकमबाट खरिद गरेर गाउँपालिकाभित्र सञ्चालित विभिन्न २२ वटा बाल विकास केन्द्रका २ सय २० जना बालबालिकालाई ट्याब्लेट उपलब्ध गराएका छन्।

अध्यक्ष राईले बाल विकास केन्द्रमै पुगेर बालबालिकालाई ट्याब्लेट वितरण गर्दै उनीहरुसँगै रहेर खुसी साटासाटसमेत गरे। सबभन्दा पहिला अध्यक्ष राईले प्रारम्भिक शिक्षा सुरु गरेको साकेलाको चण्डेश्वरी आधारभूत विद्यालयको बाल विकास केन्द्र पुगेर राईटिङ ट्याब्लेट वितरण गरे। वडाध्यक्ष हेमन राई र विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, अभिभावकसमेतको उपस्थितिमा अध्यक्ष राईले बालबालिकालाई ट्याब्लेट वितरण गरे।

सो अवसरमा उनले आफूले पाउने सेवासुविधाको रकमबाट आगामी दिनमा जन्मस्थलको चण्डेश्वरी आवि र सरस्वती आविका बालकक्षाको भौतिक पूर्वाधार मर्मत र व्यवस्थापन गरिदिने प्रतिबद्धतासमेत व्यक्त गरे।

‘म जहाँ जन्मिएँ र कखरा सुरु गरेँ, त्यसको गुन तिर्न धेरै काम गर्न बाँकी छ’ ट्याब्लेट वितरणपछि उनले भने, ‘शिक्षा नै समृद्धिको जग हो, जग बलियो भए मात्र घर बलियो हुन्छ भन्ने भनाइअनुरुप बालबालिकालाई कम्प्युटरको ज्ञान दिलाउने उद्देश्यले ट्याब्लेट उपलब्ध गराएको हुँ।’  

स्तरीय शिक्षाका लागि गाउँपालिका सधैं प्रयत्नशील भएको बताउँदै उनले त्यसका लागि शिक्षक, विद्यार्थी, अभिभावक र शिक्षाप्रेमीको साथ र सहयोग चाहिनेमा उनले जोड दिए। गाउँपालिका शिक्षा शाखा संयोजक कविराज राईका अनुसार उनले सबै बाल विकास केन्द्रलाई उपलब्ध गराउने गरी प्रधानाध्यापकसमक्ष एलसिडी राइटिङ ट्याब्लेट हस्तान्तरण गरे।

यसैगरी जन्मदिनकै अवसर पारेर अध्यक्ष राईले अपांगता भएका व्यक्तिलाई ह्विलचेयर पनि हस्तान्तरण गरे। उनले साकेला– २ रतन्छानिवासी चन्द्रकला राई र सात वर्षीया सृष्टि राईलाई घरमै पुगेर ह्विलचेयर हस्तान्तरण गरे।

प्रकाशित: २६ माघ २०८० ११:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App