१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

उज्यालिंदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले एक हजार २६ वटा स्मार्ट ‘स्ट्रिट लाइट’ जडान गरेको छ।महाराजगन्ज–लैनचौर–जमल खण्डमा तीन सय १८ वटा, महाराजगन्जको प्रहरी तालिम केन्द्र–बालुवाटार–नक्साल हुँदै माइतीघर मण्डलासम्म तीन सय ६३, कमलपोखरीदेखि गौशालासम्म एक सय ८१, त्रिपुरेश्वर–थापाथली–माइतीघर मण्डलासम्म ७६, चाबहिल–बौद्ध सडक खन्डमा ९९ वटा बत्ती जडान गरिएका हुन्।

महानगरपालिकाका इलेक्ट्रिकल इन्जिनियर पदमराज पौडेलका अनुसार फराकिला सडकमा एक सय २० वाट र साँघुरा सडकमा ९० वाटका बत्ती जडान भएका छन्। योसँगै पोलमा राखिएका बत्तीले प्रकाश नपुग्ने ठाउँमा नयाँ पोल थपिएका छन्। यसका लागि एक सय ७७ वटा पोल प्रयोग भएको र बिजुली जडान गर्न ३० हजार सात सय १० मिटर तारको प्रयोग भएको महानगरपालिकाले जनाएको छ।

स्मार्ट लाइट जडान गर्न वा पोललाई पुनः प्रयोगमा ल्याउन नसकिने चार सय २१ सोलर प्यानल भने हटाइएको छ। यी पोलहरू महानगरपालिका, विद्युत् प्राधिकरण र निजी क्षेत्रले गाडेका थिए। रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक सडक बत्ती जडान गरिएको महानगरको भनाइ छ।

जडान गरिसकेपछि सबै बत्तीहरूलाई एउटै प्रणालीमा आबद्ध गरिनेछ। यसपछि एउटै स्क्रिनबाट बत्तीलाई आवश्यकताका आधारमा चहकिलो बनाउने, मधुरो बनाउने, निभाउने वा बाल्ने काम गर्न सकिन्छ। ११ करोड ९९ लाख ७४ हजार नौ सय २५ रूपैयाँ लागत अनुमानको ६० प्रतिशत रकम काठमाडौं महानगरपालिकाले र ४० प्रतिशत रकम नेपाल विद्युत् प्राधिकरणले व्यहोर्ने सम्झौतामा उल्लेख छ।

प्रकाशित: २३ माघ २०८० ०९:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App