२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

आँशुले आक्रोश शान्त पार्छ?

आँशुको गन्ध हुँदैन तर इजरायली वैज्ञानिकहरूले स्त्रीको आँशु परैबाट पुरुषको नाकले सुँग्न सक्ने वा एक किसिमको रासायनिक संकेत दिने दाबी गरेका छन्।

 स्त्रीको आँशु यति शक्तिशाली हुन्छ कि पुरुषको आक्रोशलाई यसले शान्त गरिदिन्छ। जब मानिसले रुन जान्यो, यही रुने प्रक्रियाले मानव जातिलाई परिवर्तनका लागि भूमिका खेलेको हुन सक्ने समेत वैज्ञानिकहरूले बताएका छन्।

 स्त्रीका आँशुको शक्ति कति हुन्छ त उसो भए? वैज्ञानिकहरू भन्छन्, ‘स्त्री रोदनका कारण पुरुषमा हुने आक्रोशलाई ४३.७ प्रतिशतले घटाउन मद्दत गर्छ।’

एउटा वैज्ञानिक प्रयोगमा स्त्री आँशु पुरुषहरूलाई सुँघ्न दिइएको थियो। यो सुँघेपछि उनीहरूको चित्त निकै शान्त भएको पाइएको थियो। आँशुजस्तै देखिने अन्य सामान्य सलाइन पानी वा अन्य घोलहरूले भने त्यस्तै प्रभाव भने देखाउन सकेन। वैज्ञानिकहरू के सहमत भएका छन् भने चाहे पुरुष आँशु होस् या स्त्री आँशु, दुवैको हकमा एउटै परिणाम निस्कन्छ।

प्राचीन समयमा कुनै स्त्री रोई भने, उसका बगिरहेका आँशु गालासम्म पुग्दा उसको पति वा प्रेमीले पिउने गर्छ। कहिलेकाहीँ आँशु बगेको डाम भएको गालालाई यसै बिनाकारण पुरुषले चुम्बन गर्दछ। यस किसिमको अन्तरक्रिया प्रायः संसारका हरेक संस्कृतिमा देख्न सकिन्छ।

यस्ता गतिविधिले स्त्रीपुरुष बीचको आत्मियता बढ्ने त छँदैछ तर किन त्यसो गर्छ भन्ने सन्दर्भमा गरिएको यो अध्ययनको निष्कर्ष छ-आँशुमा भएका रसायन भलै उसले अहिले चाल पाउँदैन, तर मानिस चारखुट्टेबाट दुई खुट्टेमा परिणत हुँदै जाँदा उसले त्यसको गन्ध पाउँथ्यो। यसका भावनात्मक-संज्ञानात्मक विकासका क्रममा उसले यो गुण गुमाउन पुग्यो।

यसअघि पनि यस्तै अध्ययनका क्रममा आँशुले निकाल्ने रासायनिक संकेतले पुरुषहरूको टेस्टोस्टेरोनको तह घटाउने निष्कर्ष निकालिएको थियो।

स्त्री रोएपछि पुरुषको यौन आकांक्षाको तह निकै तल पुग्ने यसअघि भएको अध्ययनलाई टेक्दै इजरायलको रेहोभटस्थित वेजमान इन्स्टिच्युट अफ साइन्सले आँशुलाई मात्रै अलग्गै अध्ययन गर्दा पुरुषमा रहेको आक्रोशलाई यसले शान्त गर्छ कि गर्दैन भनी अध्ययन गरेको हो।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: ९ पुस २०८० ०३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App