७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रहरी ‘स्कर्टिङ’मा पोखराको फोहोर १२ दिनपछि फालियो

पोखरा–३२ लामेआहालमा मंगलबार बिहान फोहोर खन्याउँदै पोखरा महानगरको गाडी । तस्बिर सौजन्यः पोखरा महानगर

प्रभावित क्षेत्रका स्थानीयको अवरोधले विगत १२ दिनदेखि रोकिएको पोखराको फोहोर सुरक्षाकर्मीको स्कर्टिङमा ल्याउण्डफिलसाइट लगेर मंगलबार व्यवस्थापन गरिएको छ। पोखरा महानगरपालिकासँग विभिन्न माग राखेर आन्दोलन गरेका स्थानीयको अवरोधले पोखराको फोहोर उठ्न सकेको थिएन।  

फोहोर नउठ्दा पर्यटकीय सहर पोखराको सडकमा ठाउँठाउँमा फोहोर थुप्रिएको छ। स्थानीयको घरघरमा थुप्रिएको फोहोर भने अझै उठेको छैन। पोखरा महानगरको सरसफाई शाखा प्रमुख कल्पना बरालका अनुसार मंगलबार बिहान फोहोर बोकेका २८ वटा गाडी ल्याण्डफिलसाइट पुगेका थिए। प्रहरी स्कर्टिङमा पुगेका गाडीको फोहोर ल्याण्डफिलसाइटमा खसालिएको छ ।  

‘१२ दिनपछि बल्ल ल्याण्डफिलसाइटमा फोहोर खसालिएको छ। सडक र घरघरमा रहेको फोहोर अब पालैपालो उठाएर ल्याण्डफिलसाइटमा पु¥याउने हो,’ उनले भनिन, ‘सडकमा थुप्रिएको फोहोर वर्षाको भेलसँगै बगेर सडकमा छरपष्ट हुँदा झनै समस्या परेको थियो। पहिलो चरणमा गाडीमा थुपारिएको फोहोर खसालिएको छ । अब घरघरको र सडकको फोहोर उठाउने हो।’ 

स्थानीयको अवरोधले फोहोर फाल्न रोकिएकोमा मंगलबार सुरक्षाकर्मी समेत लगेर फोहोर व्यवस्थापन गरेको उनले बताईन । ‘फोहोर बिसर्जनमा कुनै समस्या नहोस भनेर सुरक्षाकर्मी परिचालन भएको हो,’ उनले भनिन । बरालले अब घरघरको फोहोर उठाउनका लागि गाडी पुग्ने बताईन ।

नियमित रुपमा नउठेपछि कतिपय स्थानीयले रातीमा सडकमा फोहोर फ्याक्ने गरेका थिए। रातिको समयमा सडकमा फालिएको फोहोरको पोका पानी पर्दाको भेलले बगाएर यत्रतत्र पार्ने गरेको छ। रातभरको वर्षाले सडकमा छरपष्ट पारेको फोहोरलाई महानगरले बिहानपख उठाएर गाडीमै थुपार्दै आएको थियो। सडकमा फोहोर झर्न नरोकिएको र दिनहुँ उठाउँदा पनि सास्ती भएर व्यवस्थापन असहज भएपछि महानगरले केहीदिन अघि गाडीमा थुुपारिएको फोहोर महानगरकै दमकल शाखाकै जग्गामा खाडल खनेर पुरेको थियो।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनको तयारी भईरहँदा गत पुस मध्यदेखि पोखरा महानगरले सहरको फोहोर पोखरा–३२ को लामेआहालस्थित सेतीनदि किनारमा व्यवस्थापन गर्न थालेको थियो। त्यसअघि पोखरा–१४ को बाच्छेबुडुवास्थित ल्याण्डफिलसाइटमा फोहोर व्यवस्थापन हुँदै आएको थियो। तर, विमानस्थल संचालन गर्ने तरखर भईरहँदा बाच्छेबुडुवामा फोहोर फाल्न रोकेर लामेआहाल पु¥याउन थालिएको थियो।  

लामेआहालमा फोहोर फाल्ने तयारी महानगरले गर्दा स्थानीयले विरोध गरेका थिए। तर, विरोधका बाबजुत पनि महानगरले बढिमा ६ महिनाका लागि भन्दै त्यहाँ फोहोर खसाल्न थालेको थियो। ६ महिनाभित्र स्थायी संरचना बनाउने र त्यसपछि लामेआहालमा पनि फोहोर फ्याक्न छाड्ने भनेर महानगरले त्यो बेला स्थानीयलाई आश्वस्त पारेको थियो। तर, यो अवधिमा लामेआहाललाई उचित व्यवस्थापन गर्न नसकेको भन्दै स्थानीयले विरोध गरेपछि पोखरा सहरको फोहोर उठ्न रोकिएको थियो।

लामेआहालमा आवश्यक पूर्वाधार नबनाएको, फोहर खन्याएपछि नपुरेको, सडकमा जथाभावि फोहर खसालेको, दूर्गन्ध फैलिएको र ती समस्या समाधान गर्न आग्रह गर्दा हानगरले नटेरेको भन्दै स्थानीयले सहरको फोहोर लैजान रोकेका थिए। स्थानीयको अवरोधपछि बजारको फोहोर १२ दिनदेखि उठ्न सकेको थिएन।  

पोखरा महानगरका प्रवक्ता मोतिराज तिम्सिनाले पनि विरोधमा उत्रेका प्रभावित क्षेत्रका बासिन्दासँग सहमति नभईसके पनि उनीहरुसँग यसअघि भएको सम्झौता अनुसार काम गर्ने वचनवद्धताका साथ फोहोर फाल्न थालिएको बताए। ‘झन्डै दुइसातादेखि पोखराको फोहोर उठेको थिएन। लामो छलफलपछि अहिलेका लागि फोहोर खसाल्न थालिएको हो, अहिलेका लागि अवरोध हटेको छ,’ तिम्सिनाले भने, ‘अब नियमित रुपमा अन्यत्रको फोहोर पनि उठ्नेछ।’

महानगर र स्थानीयबीच यसअघि भएको १६ बुँदे सम्झौता पालना गर्नमा महानगर वचनवद्ध रहेको भन्दै महानगरले स्थानीयसँग प्रतिवद्धता जनाएको उनले बताए। ‘महानगर र स्थानीयबीच यसअघि भएको सम्झौता अनुसार काम हुनेछन। त्यसमा स्थानीयले आशंका गर्नुपर्ने छैन,’ उनले भने। उनले स्थानीयसँग अझै पनि छलफल भईरहेको बताए।  

महानरगरले यसअघि स्थानीयसँग गरेको प्रतिवद्धता पालना नगरेको भन्दै स्थानीयले उच्च अदालतमा रिट दायर गरेका थिए। अदालतले आइतबार निवेदकको माग बमोजिम अन्तरिम आदेश दिनु नपर्ने परमादेश दिएपछि महानगरलाई लामेआहालमा फोहोर फाल्न बाटो खुलेको थियो। महानगरका अनुसार पोखराबाट दिनमा औसतमा एकसय टन फोहोर संकलन हुन्छ। ३० वटा गाडीमार्फत पोखरा सहरको फोहोर आलोपालो प्रणालिमा उठाउने गरिएको थियो।

प्रकाशित: २३ श्रावण २०८० ०८:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App