११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

'कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमा हाल्यो बाङ्गाको बाङ्गै भन्ने उखान कांग्रेस किन चरितार्थ गरिरहन्छ ?'

मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कांग्रेसले 'कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमा हाल्यो बाङ्गाको बाङ्गै' भन्ने उखान चरितार्थ गरिरहेको टिप्पणी गरेका छन्।

'नेपालको राजनीति संवेदनशील अवस्थामा रहेको बेला नेपालमा कस्तो शासन व्यवस्था चाहिन्छ भन्नेबारे गोष्ठी गरी त्यसमा विदेशी राजनीतिक नेताहरूलाई वक्ता बनाइ अर्ति-उपदेश दिन लगाइएको छ। त्यसरी अर्ति-उपदेश दिने व्यक्तिहरू विभिन्न गैरसरकारी संस्थामा संलग्न भएर अन्य देशको राजनीतिमा अवाञ्छित दखल दिँदै आएको उनीहरूकै देशका कतिपय व्यक्तिले खुलासा गर्ने गरेका छन्,' रावलले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्।

उनले अगाडि भनेका छन्, 'नेपालको राजनीतिमा २००७ सालदेखि नै बाह्य हस्तक्षेप गराएर सत्ता स्वार्थ पूर्ति गर्ने नेपाली कांग्रेसको चरित्र विमान अपहरणदेखि कतिपय हिंसात्मक घटनामा, २०४६ सालको जनआन्दोलको पूर्वसन्ध्यामा चाक्सिबारीमा, २०६२/६३ सालको आन्दोलन, शान्ति प्रक्रिया र संविधान जारी गर्ने बेलामा एवम् विदेशीसँगका कतिपय सन्धि-सम्झौता हुँदासमेत विभिन्न रूपमा प्रकट हुँदै आएको हो।'

उनले कांग्रेसले निम्त्याउने बाह्य हस्तक्षेपकारी भूमिकाले नेपालको राजनीतिलगायतका विषयमा स्वयम् नेपालीहरूले नै निर्णय गर्न पाउने आत्मनिर्णयको अधिकार र नेपालीको स्वाभिमानमा आघात पुर्‍याएको पनि बताएका छन्।

'त्यस किसिमले नेपालमा विदेशीहरूलाई बोलाएर नेपालको आन्तरिक मामिलामा दखल दिन लगाउनेहरूले देशको चीरकालीन अस्तित्व र अस्मिता एवम् स्वाधीनतामा योगदान दिने गरी नेतृत्व दिनसक्छन् भनेर पत्याउन सकिन्छ र देश र जनताले भोग्नु परेको पीडादायी अनुभव र घटनाहरूबाट शिक्षा लिनुको साटो निहित स्वार्थको अन्धवेगमा चल्ने कस्तो राजनीति हो ? कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमा हाल्यो, बाङ्गाको बाङ्गै भन्ने उखान चरितार्थ,' उनले भनेका छन्।

यसअघि कांग्रेसले भारतीय नेताद्वय सुदिन्द्र भरोदिया र केसी त्यागी बोलाएर ‘नेपाल-भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले पुर्याएको योगदान’ विषयक विचार गोष्ठीमा बोल्न लगाएको थियो। गणेशमान सिंह फाउन्डेसनले गत चैत २५ गते गरेको उक्त कार्यक्रमका सन्दर्भमा रावलले यस्तो बताएका हुन्।

प्रकाशित: २८ चैत्र २०८१ १८:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App