१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

धान रोपाइँ २० प्रतिशत कम

यो वर्ष समयमा वर्षा नहुँदा धान रोपाइँ पोहोरको तुलनामा २० प्रतिशत कम भएको छ। मधेस, बागमती र गण्डकी प्रदेशमा मनसुन सुरु हुन ढिला भएका कारण रोपाइँ कम भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। रोपाइँ कम हुँदा उत्पादन घट्न सक्ने अनुमान गरिएको छ।

मन्त्रालयका अनुसार मुलुकभरि साउन ५ गतेसम्म ६८ प्रतिशत रोपाइँ भएको छ। गत वर्ष साउन ५ गतेसम्म ८८ प्रतिशत रोपाइँ भएको थियो। कर्णाली प्रदेशमा गोरुमा लम्पी स्किन रोग लागेका कारण भनेजति रोपाइँ हुन नसकेको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए। मन्त्रालयका अनुसार यस वर्ष मधेस प्रदेशमा सबैभन्दा कम ४६ प्रतिशत रोपाइँ भएको छ। अन्नको भण्डार मानिने मधेसमा रोपाइँ कम हुँदा यसको प्रभाव उत्पादनमा पर्ने देखिएको छ। सुदूरपश्चिम प्रदेशमा ९८, कर्णालीमा ७६, कोसीमा ७३, लुम्बिनमिा ७४, गण्डकमिा ६७, वाग्मतीमा ६५ प्रतिशत रोपाइँ भएको छ। समयमा रोपाइँ नहुँदा धान उत्पादन घट्न सक्ने अनुमान गरिएको छ।

नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष चामल उपभोग १३८ किलो रहेको एक अध्ययनले देखाएको छ।  

गत वर्ष १३ लाख ५७ हजार ८१६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो। विस्तारै मनसुन सक्रिय भइरहँदा, रासायनिक मलको उपलब्धता सुनिश्चित हुँदा र लम्पी स्किन रोगको प्रभाव कम हुँदै जाँदा धान रोपाइँ प्रतिशत क्रमशः बढ्दै जाने अपेक्षा गरिएको प्रवक्ता सञ्जेलले बताए। ‘मध्य तराईमा साउन मसान्तसम्म रोपाइँ हुन्छ। साउन सकिँदासम्म ९०–९५ प्रतिशतसम्म रोपाइँ हुने अपेक्षा गरिएको छ,’ उनले भने।

खेतीयोग्य जमिनमा समयमै रोपाइँ गर्न नसक्दा उत्पादन घट्न जान्छ। उत्पादन घटेपछि आयात वृद्धि हुन्छ। उन्नत जातको धान बिउ, रासायनिक मल, सिँचाइ सुविधा, धान रोप्ने मेसिनको अभावमा पनि उत्पादनमा कमी आउँछ।

मुलुकमा आवश्यकताअनुसार धान उत्पादन नहुँदा विदेशबाट आयात भैरहेको छ। नेपाली उपभोक्ताले छिमेकी मुलुक भारत, चीनदेखि अमेरिकामा उत्पादन भएको मिठो मसिनो चामल प्रयोग गर्दै आएका छन्। त्यसैगरी भियतनाम, थाइल्यान्ड, भुटानबाट पनि नेपालमा चामल आयात हुन्छ। कुनै बेला चामल निर्यात गर्ने नेपाल अहिले परनिर्भर भइसक्दासमेत उत्पादन बढाउने क्षेत्रमा सरकारले ठोस काम गर्न सकिरहेको छैन।

कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण नहुँदा उत्पादन बढ्न नसकेको हो। विदेशी मुलुकमा प्रतिहेक्टरमा ६ मेट्रिक टन धान फले पनि नेपालमा प्रतिहेक्टरमा ४ मेट्रिक टन पनि उत्पादन हुँदैन। अहिले नेपालमा प्रतिहेक्टर ३.८ मेट्रिक टन मात्र धान फल्ने गरेको छ। धानविज्ञहरू सिँचाइ, मल र बिउको अभाव, गुणस्तरीय बिउ प्रतिस्थापन दर न्यून, माटोमा प्राांरिक पदार्थ न्यून भई उर्बराशक्ति कमजोर हुनु र सन्तुलित मलखाद अभावले उत्पादकत्व वृद्धि हुन नसकेको बताउँछन्। धान उत्पादन बढाउन रासायनिक मलको अनुदानमा वृद्धि, कृषि अनुसन्धान परिषद् (नार्क) बाट धेरै उत्पादन दिने धानका जात विकास गर्ने काम पनि भइरहेको सरकारी अधिकारीको दाबी छ।  

मुलुकमा आर्थिक वर्ष २०७८-७९ मा धान उत्पादनमा निकै कमी आएको थियो। आर्थिक वर्ष २०७७-७८ को तुलनामा २०७८-७९ मा धान उत्पादनमा ८.७४ प्रतिशतले कमी आएको थियो। गत वर्ष ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो। धान थन्काउने बेला हावाहुरीसहितको वर्षाले क्षति पु¥याउँदा उत्पादनमा कमी आएको थियो।

अहिले नेपालमा प्रतिहेक्टर ३.८ मेट्रिक टन मात्र धान फल्ने गरेको छ। 

मुलुकमा पर्याप्त धान उत्पादन नहुँदा बर्सेनि चामल आयात बढ्दै गएको छ। उत्पादन वृद्धि नहुँदा ठुलो परिमाणमा धान, चामललगायतका कृषिजन्य वस्तु आयात गर्नुपरेको छ। सरकारले उत्पादन वृद्धि गर्न कृषिलाई आधुनिकीकरण, यान्त्रिकीकरण, व्यावसायीकरण गर्नेतर्फ विशेष ध्यान दिनुपर्ने किसानको माग छ।

अहिले पनि किसानले तीन दशक पुरानो धानको बिउ प्रयोग गरेका छन्। उन्नत जातको धानको बिउ लगाउन सके १५-२० प्रतिशत उत्पादन वृद्धि हुन्छ। चामल आयातको उच्च तथ्यांक रहे पनि करिब १० लाख मेट्रिक टन धान उत्पादन बढाउन सके चामल आयात गर्नुनपर्ने कृषि मन्त्रालयको दाबी छ। मुलुकको अर्थतन्त्रमा धानको मात्र झन्डै ७ प्रतिशत र कृषि क्षेत्रको १६ प्रतिशत योगदान छ। हाल नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष चामल उपभोग १ सय ३८ किलो रहेको एक अध्ययनले देखाएको छ।  

प्रकाशित: ६ श्रावण २०८० ०१:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App