भारतले अन्तर्राष्ट्रिय कानुनविपरीत नेपालसँग कुनै समन्वय नगरी महाकाली नदीको धार नेपालतर्फ फर्काउने गरी बनाइरहेको तटबन्ध निर्माण कार्य रोकेको छ। भारतले बलमिच्याइँ ढंगले गरिरहेको तटबन्ध निर्माणको स्थानीयले विरोध गरेपछि तनाव उत्पन्न भएको र भारतीय पक्षले तटबन्धको निर्माण कार्य रोकेको हो।
महाकाली नदीको धार नेपालतर्फ फर्कंदा दार्चुला सदरमुकाम खलंगालगायत बस्ती नै बगाउने उच्च जोखिम भएकाले स्थानीय तटबन्ध निर्माणको विरोधमा उत्रिएका थिए। व्यापक विरोध भएपछि भारत पक्षले तटबन्ध निर्माण कार्य रोकेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। स्थानीयको विरोधपछि विवाद उत्पन्न भएसँगै सोमबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा पिथौरागढका एडिएमसहित अधिकारी र दार्चुलाका प्रजिअबीच छलफलसमेत भएको थियो। छलफलमा विवादित ठाउँमा तत्कालका लागि निर्माण कार्य रोक्ने सहमति भएको प्रजिअ उपाध्यायले बताए। ‘अहिले निर्माण कार्य रोकिएको छ, भारतीय अधिकारीहरू तटबन्ध निर्माण कार्य अहिलेलाई रोक्न सहमत भएका छन्,’ प्रजिअ उपाध्यायले भने।
स्थानीय बासिन्दासँग छलफल गरेर सहमति नहुँदासम्म तटबन्ध निर्माण नगरिने उनको भनाइ छ। महाकाली नदीको नेपालतर्फ पनि तटबन्ध निर्माण गर्नुपर्ने भए पनि निर्माण कार्य सुरु भएको छैन। अब विवादित क्षेत्रमा स्थानीयसँगको छलफलपछि सहमति जुटाएर नेपालतर्फ र भारततर्फ सँगसँगै तटबन्ध निर्माण गरिने उनी बताउँछन्। महाकाली किनारबाट वर नेपालतर्फको भूभागमा बनाइएको संरचना हटाउन भारतका अधिकारीलाई आग्रह गरेको उनले बताए।
छलफलमा सहमति जुटाउन दुई देशका प्रतिनिधि सम्मिलित संयन्त्रसमेत बनाउने सहमति भएको प्रजिअ उपाध्यायले बताए। प्राविधिक, स्थानीय राजनीतिक दल र प्रशासनका प्रतिनिधि सम्मिलित संयन्त्र बनाएर सहमति खोजिने भनिएको छ। स्थानीयको विरोधले विवाद उत्पन्न भएको र राष्ट्रिय रूपमै व्यापक आलोचना सुरु भएकाले भारतले तत्काल तटबन्द निर्माण रोक्ने बताए पनि लिखित रूपमा भने कुनै सहमति भएको छैन। छलफलमा मौखिक सहमति मात्र भएको छ। ‘विवाद रहेको क्षेत्रमा काम नगर्न भनेका छौं। मौखिक सहमति मात्र भएको हो। अन्य क्षेत्रमा उहाँहरूको काम जारी छ,’ प्रजिअ उपाध्यायले भने। भारतीय पक्षले तटबन्धभन्दा यता नेपाली भूभागमा ७ देखि १० मिटर क्षेत्रफलसम्म ग्याविन जाली लगाएको छ। सीमा विवाद बढेपछि भारतीय सुरक्षाकर्मी एसएसबीले सीमामा परिचयपत्र खोजेर नेपाली नागरिकलाई दुःख दिन थालेको स्थानीयले बताएका छन्। रोजगारीका लागि, दैनिक मजदुरी गर्न र उपभोग्य सामान खरिद गर्न यहाँका स्थानीयलाई धार्चुला बजार जानुपर्ने बाध्यता छ। कालापानी, लिम्पियाधुरा र लिपुलेक भूभाग अतिक्रमणको गहिरो पीडा खपेको दार्चुला जिल्लाका सीमा क्षेत्रका बासिन्दा भारतीय पक्षको ज्यादतीले सबैभन्दा बढी प्रताडित बन्दै आइरहेका छन्। कुटपिट, दुव्र्यवहार मात्र नभई ज्यान नै गुमाउने पीडा सहन बाध्य छन्।
प्रकाशित: २१ मंसिर २०७९ ०१:२० बुधबार