राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुन: संसद् बहिष्कार गरेका छन्। बिहीबार (आज) दिउँसो १ बजेका लागि बोलाइएको तर, अबेर गरी सुरु भएको बैठक रास्वपा र राप्रपा बहिष्कार गरेर बाहिरिएका हुन्।
रास्वपा र राप्रपाले गृहमन्त्री रमेश लेखक जोडिएको भनिएको भिजिट भिसा प्रकरणलाई लिएर संसद् अवरुद्ध गर्दै आएका छन्। उनीहरूले उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोगको माग गरेका छन् तर, सरकार भने त्यसका लागि तयार छैन।
सरकारले 'ब्यूरोक्रेटिक' समिति बनाएको छ तर, रास्वपा र राप्रपाले त्यसमा चित्त बुझाएका छैनन्। पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा बनेको सात सदस्यीय उक्त समितिका प्रति विश्वास व्यक्त गर्न नसकिने भन्दै रास्वपा र राप्रपाले संसद् बहिष्कार गर्न छाडेका छैनन्।
बजेट अधिवेशन गत जेठ १४ गते बोलाइएको थियो, रास्वपा र राप्रपाले त्यही दिनदेखि संसद् अवरोध गर्दै आएका छन्। सुरुमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) पनि यही लाइनमा थियो तर, उसले जेठ ३० गते सत्तासीन दलहरू कांग्रेस र एमालेसँग ३ बुँदे समझदारी गर्यो। यसपछि उसले आफ्नो तर्फबाट संसद् खुलायो तर, रास्वपा र राप्रपा अझै बहिष्कारको पक्षमा छन्।
प्रकाशित: ८ श्रावण २०८२ १४:१७ बिहीबार





