१७ भाद्र २०८३ बुधबार
image/svg+xml
राजनीति

टनेलमा उद्धार ढिलाबारे प्रधानमन्त्रीले भने : पहिरोले थुनिएको टनेल होइन

 प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत आयोजनाका टनेलमा फसेकाहरूको उद्धारमा भइरहेको ढिलाइबारे उठेका प्रश्नको जवाफ दिँदै उक्त घटना सामान्य पहिरोले सुरुङ थुनिएको अवस्था नभएको बताएका छन्।

प्रधानमन्त्री शाहका अनुसार बाढीसँगै ठूलो मात्रामा हिलो र माटो टनेलभित्र पसेकाले सुरुङ पूर्ण रूपमा बन्द भएका छन्। यस्तो प्रकृतिको विपत्तिमा तत्काल प्रयोग गर्न सकिने प्रविधि र विशेषज्ञता विश्वमै सीमित रहेको उनको दाबी छ।  

‘यो पहिरोले प्रभावित भएको अथवा पहिरोले थुनिएको टनेल होइन। बाढीभित्र पसेर बाढीसँगै हिलो, माटोले पूरै पूर्ण रूपमा थुनिएका टनेल हुन्,’ शाहले भने।

उनले मौसम अनुकूल हुने, टनेलभित्रको हिलो केही सुक्ने, उद्धारका लागि मेसिन अड्याउने ठाउँ बन्ने र उद्धारकर्मी सुरक्षित रूपमा प्रवेश गर्न सक्ने अवस्था बनेपछि मात्रै प्रभावकारी उद्धार सम्भव हुने बताए।

साथै प्रधानमन्त्री शाहले टनेलभित्र एकैपटक ठूलो संख्यामा एक्स्काभेटर परिचालन गरेर उद्धार गर्न नसकिने पनि स्पष्ट पारे। उनका अनुसार भौतिक संरचना र टनेलभित्रको अवस्थाका कारण एकपटकमा एक–दुईवटा एक्स्काभेटरभन्दा बढीले काम गर्न सक्ने अवस्था छैन।

टनेल क्षेत्रमा हिलो र लेदोका कारण एक्स्काभेटर मात्र नभई नेपाली सेना तथा सशस्त्र प्रहरीका उद्धारकर्मीलाई समेत उभिन र उपकरण परिचालन गर्न कठिन भइरहेको उनले बताए।

शाहले चीन र भारतबाट आएका प्राविधिक टोलीले प्रभावित टनेल तथा जलविद्युत आयोजनाको हवाई रेकी गरिसकेको जानकारी बताए । उनले तत्काल हेलिकोप्टर अवतरण गर्न सक्ने अवस्था नरहेको भन्दै सुरक्षित रूपमा पुग्न सक्ने वातावरण बनेपछि विदेशी तथा नेपाली प्राविधिक र सुरक्षाकर्मीलाई परिचालन गरिने बताए।

उद्धार उपकरण राख्न तथा हेलिकोप्टर अवतरण गर्न सक्ने स्थान तयार भएपछि मात्रै उद्धार कार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउन सकिने उनको भनाइ छ।

प्रधानमन्त्री शाहले बाढीपछि सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा उद्धार कार्यबारे उठेका प्रश्न र गुनासो सरकारले बुझेको प्रधानमन्त्री शाहले बताए। घर वा टाढाबाट टनेलभित्रको वास्तविक अवस्था बुझ्न कठिन हुने भन्दै उनले विज्ञ, भूगर्भविद्, जियोटेक विज्ञ तथा इन्जिनियरसँगको परामर्शका आधारमा उद्धार प्रक्रिया अघि बढाइएको बताए।

प्रकाशित: १७ भाद्र २०८३ १३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App