नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले भदौ १० गते रसुवामा भएको विनाशकारी बाढी प्राकृतिक कारणले आएको हो वा मानव सिर्जित दुर्घटनाको परिणाम हो भन्ने विषयमा अध्ययन गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले भदौ १० गतेको घटना कसरी हजारौँ नागरिकका लागि ‘कालरात्रि’ बन्न पुगेको बताउँदै घटनाको वास्तविक कारण र प्रकृति पहिचान गर्न सके मात्रै भविष्यमा यस्ता विपद् रोक्न तथा त्यसबाट हुने क्षति न्यूनीकरण गर्न सकिने उनको भनाइ छ।
‘भदौ १० गतेको त्यो भयानक बिहानी कसरी हजारौँ नागरिकहरूको कालरात्रि बनेर आयो? यो प्रकृति सिर्जित विध्वंस हो वा मानव निर्मित दुर्घटना? शोक र पीडाको घडीमा यो गम्भीर प्रश्नको वस्तुनिष्ठ विवेचना गर्न अत्यन्त जरुरी छ,’ उनले भने।
थापाले जलवायु परिवर्तन तथा भूमण्डलीय तापक्रम वृद्धिले मानव जातिको अस्तित्वमै संकट उत्पन्न गरिरहेको बताए। विकसित मुलुकहरूले उद्योग, यातायातलगायतका क्षेत्रमा पेट्रोलियम पदार्थ, कोइला र ग्यासको अत्यधिक प्रयोग गर्दा हरितगृह ग्यास उत्सर्जन बढेको र त्यसले विश्वको तापक्रम वृद्धि गरिरहेको उनको भनाइ छ।
तापक्रम वृद्धिका कारण हिमालको हिउँ पग्लिने र त्यसबाट भयावह बाढी तथा पहिरोको जोखिम बढ्दै गएको उनले बताए। त्यसले मानव बस्तीको अस्तित्वमै चुनौती सिर्जना गरिरहेको थापाको भनाइ छ।
त्यस्तै, उत्तरी तथा दक्षिणी ध्रुवको हिउँ पग्लिँदा समुद्री सतह बढ्दै गएको र समुद्री तटीय मुलुकको अस्तित्वमा समेत खतरा बढिरहेको उनले बताए। वन विनाशले पनि जलवायु परिवर्तन तथा भूमण्डलीय तापक्रम वृद्धिमा नकारात्मक भूमिका खेलिरहेको थापाले उल्लेख गरे। नेपालमा हरेक वर्ष बाढीपहिरोबाट हुने जनधनको क्षतिलाई नियतिका रूपमा स्वीकार गर्न नहुने उनले बताए।
‘प्रत्येक वर्ष बाढीपहिरोको विनाशलीला भोग्नुपर्ने हाम्रो नियति जस्तै भएको छ। प्रत्येक वर्ष विध्वंसमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु हाम्रो परम्परा जस्तै भएको छ। के हामी यो नियति र परम्परालाई बदल्न सक्दैनौँ? निश्चय पनि हामीले त्यसलाई बदल्न दृढ संकल्प गर्नै पर्दछ,’ उनले भने।
प्रकाशित: १७ भाद्र २०८३ १५:३२ बुधबार

