भोटेकोसी बाढीबाट मानिस र घरजग्गा मात्र बगेनन्, रसुवा, नुवाकोट, धादिङका स्वास्थ्य चौकीसमेत प्रभावित भए। रसुवाका स्याफ्रुबेंसी, टिमुरे, रसुवागढी स्वास्थ्य चौकी र मैलुङ सामुदायिक स्वास्थ्य केन्द्र क्षतिग्रस्त भए। धादिङका बैरेनी अस्पताल र चरौदी आधारभूत स्वास्थ्य चौकीमा आंशिक क्षति पुगेको छ।
नुवाकोटस्थित त्रिशूली अस्पताल र धादिङ जिल्ला अस्पताल सडक सञ्जालबाट विच्छेद भएका छन्। बाढीमा १२ स्वास्थ्यकर्मी बेपत्ता छन्। बाढीबाट सयौं परिवार विस्थापित भएका छन्। प्रभावितलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले वैकल्पिक उपाय अपनाएको छ।
सरकारले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्न हेलिकोप्टरमार्फत औषधि र स्वास्थ्यकर्मी परिचालन गरेको रसुवा जनस्वास्थ्य अधिकृत निरध्वज घर्ती मगरले जानकारी दिए। उनका अनुसार बाढीपछि रसुवाका गोसाइँकुण्ड, उत्तरगया र आमाछोदिङ्मो गाउँपालिका सडक सञ्जालबाट विच्छेद छन्।
बाढी प्रभावित पालिकामा स्थानीय स्वास्थ्यकर्मी, धुलिखेल अस्पताल र नेपाल प्रहरी अस्पतालबाट परिचालित चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरिरहेको छ। सडक सम्पर्क टुटेका पालिकामा हेलिकोप्टरमार्फत औषधि तथा राहत सामग्री पठाउने काम भइरहेको छ।
दीर्घरोगीलाई आवश्यक औषधि नियमित रूपमा पठाइएको र ती क्षेत्रमा रहेका गर्भवतीलाई प्रसूतिका लागि हेलिकोप्टरमार्फत माथिल्ला तहका अस्पतालमा पठाइएको जानकारी घर्ती मगरले दिए। ‘प्रभावित क्षेत्रमा फैलिन सक्ने महामारीलाई ध्यानमा राखेर सुरक्षित पिउने पानी, होल्डिङ सेन्टरको सरसफाइ र आधारभूत मानसिक स्वास्थ्य सेवा प्रदान गरिएको छ,’ उनले भने।
रसुवा जिल्लामा पाँच वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएका छन्। स्याफ्रुबेंसी गाउँपालिकाले दुई जना प्यारामेडिक्स राखेर स्वास्थ्य सेवा प्रदान गरिरहेको रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमित प्रजापतिले जानकारी दिए। संरचनामा असर नपुगेका स्वास्थ्य संस्थाले नियमित सेवा प्रदान गरिरहेका छन्।
सडक सम्पर्क विच्छेद भएका नुवाकोटका पालिकामा वैकल्पिक मार्ग तथा होल्डिङ सेन्टरमार्फत स्वास्थ्य सेवा सञ्चालन गरिएको जनस्वास्थ्य अधिकृत कृष्ण रिजालले बताए। त्रिशूली पुल नदीले बगाएपछि वारिपारिका पालिका तथा वडामा हेलिकोप्टरमार्फत स्वास्थ्य सामग्री पठाइएको उनले बताए। ‘दिनमा दुई वटा हेलिकोप्टरले राहत सामग्री र औषधि पुर्याइरहेका छन्,’ उनले भने।
बाढी प्रभावित क्षेत्रमा उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर, वज्रबाराही अस्पताल, टोखा अस्पताल, चितवन अस्पताल र बागमती प्रदेश स्वास्थ्य निर्देशनालयबाट स्वास्थ्यकर्मी खटाइएका छन्। होल्डिङ सेन्टरमा पनि एचआइभी, क्षयरोग तथा दीर्घरोगका बिरामीलाई आवश्यक औषधि उपलब्ध गराइएको उनले बताए।
स्वास्थ्य मन्त्रालयअन्तर्गत सञ्चालित स्वास्थ्य आपत्कालीन प्रतिकार्य केन्द्रले प्रभावित क्षेत्रमा मानसिक रोग विशेषज्ञ, दुई जना क्लिनिकल मनोपरामर्शदाता र ६३ जना तालिमप्राप्त मनोपरामर्शदाता परिचालन गरिएको जनाएको छ।
त्यसैगरी गर्भवती, सुत्केरी र नवजात शिशुका लागि युएनएफपिए र परिवार कल्याण महाशाखाको समन्वयमा किट उपलब्ध गराइएको जनाइएको छ। नुवाकोटमा ४५ वटा होल्डिङ सेन्टरमा आठ वटा स्वास्थ्य टोलीले सेवा प्रदान गरिरहेका छन्। मानसिक स्वास्थ्य सेवाका लागि ११ वटा हटलाइन सेवा सक्रिय रहेको केन्द्रले जनाएको छ।
प्रकाशित: १७ भाद्र २०८३ १०:५१ बुधबार


-600x400.jpg)


