१७ भाद्र २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिका-इरान द्वन्द्व चर्किएपछि विश्व बजारमा इन्धनको मूल्य आकाशियो

बुधबार अमेरिकाले इरानविरुद्ध ठुलो संख्यामा हवाई आक्रमण गरेपछि जवाफमा इरानले पनि प्रत्याक्रमण गरेको छ।

जारी यस द्वन्द्वका कारण विश्वव्यापी ऊर्जाको मूल्यमा भारी वृद्धि भएको छ भने यसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घरेलु लोकप्रियतालाई समेत प्रभावित पारेको छ। विश्व बजारको प्रमुख तेल मार्ग मानिने होर्मुज जलमार्गलाई इरानले व्यावसायिक ढुवानीका लागि प्रभावकारी रूपमा बन्द गरेपछि तनाव थप बढेको हो।

साताको अन्त्यतिर भएको झडप र होर्मुज जलमार्गबाट बाहिरिँदै गरेका दुई तेल ट्यांकरमाथि भएको आक्रमणपछि अमेरिकाले यो कारबाही अगाडि बढाएको हो। बुधबार विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल चार डलरभन्दा बढीले बढेर पाँच साताकै उच्च बिन्दुमा पुगेको छ।

अमेरिका र इरानबिच रातभर भएको हवाई आक्रमण र प्रत्याक्रमणपछि आपूर्ति अवरोधको चिन्ता बढ्दा तेलको मूल्य सुरुवाती कारोबारमै करिब एक प्रतिशतले बढेको छ। यसले अघिल्लो सत्रमा भएको तीव्र वृद्धिलाई थप विस्तार गरेको छ र मध्यपूर्वमा तनाव छिट्टै कम हुने आशालाई कमजोर बनाएको छ।

ब्रेन्ट क्रुड फ्युचर्स ८७ सेन्ट अर्थात् ०.९२ प्रतिशतले बढेर ९५.५२ डलर प्रतिब्यारेल पुगेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेलको फ्युचर्स ८० सेन्ट अर्थात् ०.८९ प्रतिशतले बढेर ९१.०२ डलर पुगेको छ। दुवै सम्झौता अघिल्लो सत्रमा चार डलरभन्दा बढीले बढेका थिए।

इरानले जोर्डन, बहराइन र खाडी क्षेत्रका अमेरिकी सम्पत्तिलाई लक्षित गर्दै जवाफ फर्काएको छ। ट्रम्पले इरानमाथि अझ कडा प्रहार गर्ने चेतावनी दिएका छन् भने अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले वासिङ्टनले नयाँ प्रतिबन्ध लगाउने तयारी गरिरहेको बताएका छन्। यी सबै चेतावनीका बाबजुद इरानले खाडीबाट तेल निर्यात रोक्ने चेतावनी दिँदै आफ्नो अडान कायम राखेको छ।

इरानी सञ्चारमाध्यमका अनुसार होर्मुज जलमार्ग नजिकैको दक्षिणी इरानको कुहेस्तक क्षेत्रमा विवाह समारोह भइरहेको एउटा घरमा भएको अमेरिकी आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने कम्तीमा ६८ जना घाइते भएका छन्। मृतकमध्ये एक बालक पनि रहेको जनाइएको छ। अमेरिकी सेन्ट्रल कमान्डले घटनामा सर्वसाधारण हताहत भएको रिपोर्टबारे जानकारी रहेको बताउँदै उक्त विवरण इरानी सरकारी सञ्चारमाध्यमबाट आएको जनाएको छ।

इस्लामिक रिभोलुसनरी गार्ड्स कोर (आईआरजीसी) ले एक विज्ञप्ति जारी गर्दै अमेरिकी आक्रमणले होर्मुज जलमार्गमाथिको आफ्नो नियन्त्रण अझ कसिलो बनाउने बताएको छ। युद्ध सुरु हुनुअघि विश्वको कुल तेल खपतको करिब पाँच भागको एक भाग यही जलमार्गबाट ढुवानी हुने गरेको थियो। इरानी सञ्चारमाध्यमका अनुसार इरानी संसद्का सभामुख मोहम्मद बाकर कालिबाफले भनेका छन्, ‘यदि शत्रुले हामीलाई फारसको खाडीबाट तेल निर्यात गर्न दिँदैन भने कसैले पनि तेल निर्यात गर्न सक्ने छैन।’

आधी शताब्दीदेखि कडा आर्थिक प्रतिबन्ध खेप्दै आएको तेहरानको अडानमा न त धम्कीले न त नयाँ आर्थिक प्रतिबन्धले नै कुनै फरक पारेको देखिन्छ। अमेरिकाले इरानका सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको सेन्ट्रल कमान्डले जनाएको छ। ती आक्रमणमा हवाई प्रतिरक्षा प्रणाली, राडार र सञ्चार केन्द्रलगायतका लक्ष्य समेटिएको बताइएको छ।

इरानी सञ्चारमाध्यमले अहवाज सहर नजिकै र जिरोफ्ट नागरिक विमानस्थलमा अमेरिकी मिसाइल आक्रमण भएको रिपोर्ट गरेका छन्। यसबाहेक बन्दर अब्बास, क्यूशम द्वीप र होर्मुज जलमार्ग नजिकका दक्षिणी तटीय क्षेत्रमा पनि विस्फोटका आवाज सुनिएको जनाइएको छ। सिरीक क्षेत्रमा माछा प्रशोधन केन्द्र, माछा मार्ने घाट र बन्दरगाह तथा सामुद्रिक संगठनको एउटा टावरमा समेत आक्रमण भएको इरानी सरकारी टेलिभिजनले जनाएको छ।

राष्ट्रपति ट्रम्पले मंगलबारको आक्रमणको जवाफ नदिन इरानलाई चेतावनी दिँदै फेरि आक्रमण गरिए अझ कडा तहमा प्रहार गर्ने बताएका थिए। ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर यो ती सबैमध्येको ठुलो आक्रमण हुनेछैन, त्यो पछि आउँदैछ र जब यो सकिनेछ, इरानको इस्लामिक रिपब्लिकको अति थोरै भाग मात्र बाँकी रहनेछ।’

यद्यपि, आईआरजीसीले जोर्डनस्थित एक अमेरिकी आधार शिविरमा भारी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गरेको र ठुलो संख्यामा अमेरिकी सैनिक मारिएको दाबी गरेको छ। जोर्डनमा रहेका अमेरिकी केन्द्रमाथि इरानले गरेको आक्रमणबाट हालसम्म कुनै अमेरिकी मानवीय क्षति नभएको दुई अमेरिकी अधिकारीले बताएका छन्। जोर्डनको सेनाले आफ्नो वायु रक्षा प्रणालीले आफ्नो आकाशमा प्रवेश गरेका १३ वटा ब्यालिस्टिक क्षेप्यास्त्रमध्ये १० वटालाई आकाशमै नष्ट गरेको र बाँकी तीन वटा निर्जन क्षेत्रमा खसेको जनाएको छ।

इरानी सञ्चारमाध्यमका अनुसार देशको सेनाले ठुलो मात्रामा ड्रोन आक्रमण गरी बहराइनस्थित अमेरिकी अखडालाई पनि निशाना बनाएको छ। कुवेती सेनाले पनि आफ्नो वायु रक्षा प्रणालीले ड्रोन आक्रमणको प्रतिकार गरिरहेको जनाएको छ। बहराइनमा इरानी ड्रोन आक्रमण भएको इरानले दाबी गरे पनि त्यसको तत्काल स्वतन्त्र पुष्टि हुन सकेको छैन।

इरान र अमेरिकाबिच पछिल्लो छ महिनादेखि चलिरहेको द्वन्द्व यसअघि मुख्यतः आर्थिक र सैन्य दबाबमा सीमित थियो। फक्स न्युजसँगको अन्तरवार्तामा राष्ट्रपति ट्रम्पले अर्को युद्धविरामको सम्भावनालाई कम आँकेका छन्। होर्मुज जलमार्गमा इरानको नियन्त्रणको विषयलाई लिएर जुनमा भएको अन्तरिम सम्झौता पनि लामो समय टिक्न सकेन। सम्झौताले तत्काल युद्धविराम र व्यापक सहमति खोज्न ६० दिनको वार्ता प्रक्रिया अघि बढाउने व्यवस्था गरेको थियो, तर केही समयमै त्यो प्रक्रिया भत्किएको थियो।

ट्रम्पले भनेका छन्, ‘मलाई लाग्छ उनीहरूसँगको सम्झौता यो लेखिएको कागजको टुक्रा बराबर पनि छैन। हामीले उनीहरूलाई धेरै मौकाहरू दिएका छौँ।’ राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा प्रकाशित एक पोस्टमा वासिङ्टनले तेहरानसँग नयाँ सम्झौता खोजिरहेको भन्ने रिपोर्टलाई खारेज गर्दै इरानलाई वार्ताको टेबलमा फर्काउन आफूले बाध्य पार्ने प्रयास नगरेको बताएका छन्।

‘मलाई अहिले हाम्रो स्थिति धेरै राम्रो लाग्छ, होर्मुज जलमार्गको लगभग पूर्ण नियन्त्रण र उनीहरूको अर्थतन्त्र पूर्ण रूपमा ध्वस्त हुँदैछ,’ ट्रम्पले भनेका छन्। उनले इरानले ‘अपरिहार्य कुरा खेलिरहेको’ थप्दै सोधे, ‘इरानी जनता कहिले उठेर लड्ने?’

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिकाको नयाँ आक्रमणपछि जारी गरेको सन्देशमा देशका सशस्त्र बलले वासिङ्टनका लागि ‘बिर्सन नसकिने पाठ’ तयार राखेको बताएका छन्। एजेन्सीको सहयोगमा

प्रकाशित: १७ भाद्र २०८३ ०७:२३ बुधबार