१७ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

राज्यसँग आस मार्दै नागरिक: कुशको शव बनाएर धमाधम अन्त्येष्टि

भदौ १० गते बिहान साढे ६ बजे धादिङ सदरमुकाम धादिङबेंसी र आसपासका १४ दम्पतीसहित ३१ जना बा५ख १२५० नम्बरको बसमा रसुवाको गोसाइँकुण्डको यात्राका निस्किए। आफन्त र गाउँठाउँका साथीभाइसँगै एकसाथ यात्रामा निस्केका उनीहरू बेत्रावती पुग्दासम्म परिवारसँग सम्पर्कमै थिए। त्यतिबेलै भोटेकोसीमा आएको भीषण बाढीले माथिल्लो क्षेत्रबाट विनाश मच्चाउँदै बेत्रावतीसम्म क्षति पुर्‍याएको भनेर यात्रामा रहेकाहरूले नै परिवारका सदस्यलाई जानकारी गराएका थिए। तर उनीहरूले यति ठुलो बाढी आएको भनेर आकलन गर्नै सकेनन्। त्यसको केही मिनेटमै उनीहरूलाई यात्राकै क्रममा बाढीले छोप्यो। बाढीमा परी एउटै बसमा यात्रा गरिरहेका ३१ जनासहित धादिङका ११३ जना सम्पर्कविहीन छन्।

यात्रामा रहेका परिवारका सदस्य सम्पर्कबाहिर पुगेपछि आफन्त र छिमेकी खोजीमा जुटे र जीवितै भेटिने आशामा बेत्रावतीसम्म पुगे। बाढीको ताण्डवपछिको भयावह दृश्य देख्दा उनीहरूले यात्रुहरूको सास पाउने आस मारेका थिए तर पनि उनीहरूले राज्यका निकायलाई आफन्त खोजिदिन हारगुहार गरिरहे। सयौं नागरिक बेपत्ता भएकाले उनीहरूको गुहार फिक्का बन्यो। हराएका आफन्तको जीवन पाउने आशा गुमाउँदै गएका बेला प्रहरीले सार्वजनिक गरेका शवका फोटोकै पंक्तिमा गायत्री लम्साल पनि देखिइन्, जो त्यही बसका यात्रीमध्ये एक हुन्। भदौ १३ गते गायत्रीको शव पहिचानपछि बाँकी यात्रुको जीवनको आस पनि परिवारका सदस्यहरूले गुमाए।

परिवारका सदस्य गुमाएको पीडाबिच सोमबार गायत्रीको शव आफन्तले बुझे। सँगै यात्रामा निस्केका पति शिवहरि लम्सालको पनि कुशको प्रतिमा बनाएर धादिङबेंसीमा गायत्रीको अन्तिम संस्कार गरियो। शिवहरिको सास होइन, लास पाउने आस पनि परिवारका सदस्यले मारे।

शिवहरि र गायत्री दम्पती मात्र होइन, गोसाइँकुण्ड यात्रामा एकैसाथ रहेका तुलसी तिमल्सिना र ईश्वरी तिमल्सिनाको पनि हिन्दु परम्पराअनुसार कुशको प्रतिमा बनाएर अन्तिम संस्कार गरिएको छ।

बुवाआमा बाढीमा परेको सूचना पाएपछि अस्ट्रेलियामा रहेका तिमल्सिना दम्पतीका छोरा न्युटन र छोरी एलिजा स्वदेश फर्किएका छन्। केही महिनापछि बाबुआमालाई अस्ट्रेलिया लैजाने योजनामा उनीहरू थिए।

तिमल्सिना दम्पतीका आफन्त वासु तिमल्सिनाले आफन्तको खोजीमा आफूहरूले सक्दो प्रयास गरेको बताए तर राज्यकातर्फबाट खोजी र उद्धारमा पर्याप्त सहयोग नपाएको गुनासो गरे। ‘अब सास होइन, राज्यले लास खोजिदिने आस पनि बाँकी नभएकाले आफ्नै परम्पराअनुसारको कर्म सुरु गरेका हौं,’ उनले भने। धेरै जीवन जोगाउन सक्ने अवस्थाबाट राज्य चुकेको गुनासो उनले गरे। ‘हामीजस्ता सयौं परिवार अहिले आफन्तको प्रतीक्षामा छन् तर राज्यले आफ्नो उपस्थिति र दायित्व पूरा गरेन,’ उनले भने। भोटेकोसीको बाढीमा हराएका र प्रभावित परिवारले राज्यविहीनताको अवस्था महसुुस गरेको जनाउँदै उनले थपे, ‘हामीले त लासको पनि आस मार्‍यौं तर लास खोज्न पनि राज्यका निकायले आवश्यक तत्परता देखाएन।’

तिमल्सिना दम्पतीसँगै गोसाइँकुण्ड यात्रामा निस्किएकामध्ये प्रकाश लम्सालले बिहान करिब पौने १० बजे घरमा फोन गरेका थिए। बाढीले गाडी बगाएको जानकारी गराउँदै उनले आफूहरू एउटा घरको छतमा रहेको बताएका थिए। त्यसपछि लम्सालसहित यात्रामा रहेका कुनै पनि सदस्यसँग परिवारका सदस्यहरूको सम्पर्क हुन सकेको छैन।

यात्रामा रहेकी गायत्रीको शव भेटिएसँगै कोही पनि जीवित भेटिने आशा क्षीण भएको आफन्त रामहरि लम्सालले बताए। यात्रामा रहेका सबैको हिन्दु परम्पराअनुसार मंगलबार अन्त्येष्टि गर्ने तयारी गरिएको भए पनि सोमबार राति एकै स्थानमा २३ जनाको शव फेला परेको जानकारीपछि आफन्तहरू काठमाडौं आएका छन्।

 प्रकाश लम्साल, रामचन्द्र खनाल, हरिप्रसाद र बिन्द सिलवालको शव पहिचाननजिक रहेको स्थानीय मनीष दुवाडीले जानकारी दिए। सास होइन लास पाउन पनि कठिन रहेको जनाउँदै उनले भने, ‘राज्यको भद्रगोल व्यवस्थापनले सास होइन लास पाउन पनि कठिन देखियो।’ शवहरू गलेर दुर्गन्धित भइसकेको र प्रभावित क्षेत्रबाट पठाइएको संकेत नम्बर र जिल्लाबाट प्राप्त संकेत नम्बर पनि नमिलेको जनाउँदै उनले भने, ‘शव व्यवस्थापनमा देखिएको भद्रगोलले राज्यलाई गिज्याइरहेको छ।’

नीलकण्ठ–१२ का एकाघरका तीन दाजुभाइ र उनीहरूका पत्नीहरू दयाराम र सीता लम्साल, ठाकुर र शारदा लम्साल तथा प्रकाश र इन्दिरा लम्साल हराइरहेका छन्।

त्यसैगरी नीलकण्ठ–९ का एकाघरका कृष्णप्रसाद र राधिका खनाल, रामचन्द्र र भगवती खनालका साथै दम्पतीमा शिवहरि र गायत्री लम्साल, नारायणप्रसाद र सीता लम्साल, राजन र न्याउरी लम्साल तथा रामशरण र जानुका लम्साल छन्। त्यसैगरी एकै परिवारका गुणनीधि सुवेदी, उनकी पत्नी मुरलीदेवी, छोरा रामहरि र बुहारी बिन्दुरा पनि सुवेदी बेपत्ता छन्। सिद्धलेक–१ का हरिप्रसाद र बिन्दा सिलवाल तथा घनश्याम र कल्पना भट्टका दम्पती, नीलकण्ठ–३ का तुलसी र ईश्वरी तिमिल्सिना दम्पती तथा बस चालक छविलाल श्रेष्ठ गोसाइँकुण्ड तीर्थयात्राका लागि निस्किएका थिए। बाढीमा उनीहरू बिलाएसँगै कतिपय घरमा ढोका खोल्ने र बत्ती बाल्नेसम्म कोही छैन। छिमेकी र आफन्तहरूले आएर घर तथा पशुचौपायाको रेखदेख गरिरहेका छन्।

भदौ १० गतेको बाढीले उनीहरूजस्तै सयौंको घर तथा परिवारको अवस्था त्यस्तै छ। घरको ढोका खोल्ने मान्छे छैन भने आफन्त र परिवारजनले सास होइन अब लास पाउने आस पनि मारेका छन्, राज्यप्रतिको विश्वास र भरोसा गुमाएका छन्।

धादिङका तिमल्सिनाको शव भेटिने आशा नभएपछि कुशको शव बनाएर अन्त्येष्टि गरिएसँगै पर्सा जिल्लाको पोखरिया नगरपालिका–७ रानीगन्ज रहरियाका सोनालाल पण्डितको पनि त्यसरी नै अन्त्येष्टि गरिएको छ।

रसुवाको बाढीमा परेर बेपत्ता भएके छैटौं दिनसम्म शव नभेटिएपछि परिवारले कुशको शव बनाएर सोनालालको अन्तिम संस्कार गरेको हो। आफन्तका अनुसार लगातार खोजी गर्दा पनि सोनालालको शव फेला नपरेपछि धार्मिक परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको हो। आफन्तका लागि आफ्नै सदस्यको वास्तविक शवसमेत फेला नपरी अन्तिम बिदाइ गर्नुपर्ने अवस्था आफैंमा अर्को पीडा बनेको छ।

यसैगरी बाढीप्रभावित नुवाकोटमा पनि कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालिएको छ। पत्रकार निराजन पौडेलले बुधबार भोटेकोशी बाढीमा परेर बेपत्ता भएका बुवा, आमा, काका, काकी र बहिनीको कुश बनाएर अन्त्येष्टि गर्दै छन्। बाढीमा परेर परिवारका पाँच सदस्य हराइरहेका र लगातार खोजतलास गर्दा पनि नभेटिएपछि कुशको शव बनाएर काठमाडौंमा अन्त्यष्टि गर्ने निर्णयमा पौडल पुगेका थिए।  

प्रकाशित: १७ भाद्र २०८३ १०:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App