सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पुँजी बजारको आधुनिकीकरण र पूर्वाधार विकासमा लगानी जुटाउन नयाँ वित्तीय औजारहरू परिचालन गर्ने नीति सार्वजनिक गरेको छ।
सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्डको पुनः संरचना गर्ने घोषणा गरेका हुन्।
सरकारले पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउन धितोपत्र नियमन प्रणाली र क्लियरिङ प्रणालीमा सुधार गर्ने लक्ष्य राखेको छ।
राष्ट्रपति पौडेलले भने, ‘धितोपत्र नियमन, नेप्से तथा क्लियरिङ प्रणालीको पुनःसंरचना गर्दै संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा, म्युचुअल फण्ड र गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिनेछ।’
मुलुकको पूर्वाधार विकासका लागि परम्परागत बजेटरी प्रणालीभन्दा बाहिर गएर नयाँ वित्तीय मोडेल अपनाइने सरकारको योजना छ। सरकारले ऋण बजार, पूर्वाधार बण्ड र जोखिम व्यवस्थापनका नयाँ उपकरणहरू विकास गरी दीर्घकालीन पुँजी निर्माण गर्ने नीति लिएको छ।
‘वैकल्पिक विकास वित्त, डायस्पोरा पुँजी र निजी लगानी परिचालन गरी पूर्वाधार वित्तपोषणको नयाँ मोडल लागू गरिनेछ,’ राष्ट्रपतिले भने।
प्रकाशित: २८ वैशाख २०८३ १६:५१ सोमबार





