नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पाँचौंपटक इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छन्। २०५६ सालयताका सबै संसदीय निर्वाचनमा विजयी नेम्वाङलाई मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी हुन भने पार्टी अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको ‘अपजस’ पर्गेल्नुपर्ने बाध्यता छ।
नेम्वाङले आउँदो चुनाव जित्न आफूले चारपटक निरन्तर विजयी बन्दा निर्वाचन क्षेत्रका लागि गरेका कामबारे मतदातालाई ‘कन्भिन्स’ गर्नु आवश्यक छ। उनीसँग यसपटक सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काको मुख्य प्रतिस्पर्धा हुने अनुमान छ। खड्कालाई युवाको साथ छ तर ‘हेभिवेट’ नेम्वाङलाई उछिन्न उत्तिकै चुनौती पनि।
नेम्वाङले आफैंले तीनपटक चुनाव जितेको निर्वाचन क्षेत्रको भूगोल २०७४ सालको प्रतिनिधिसभा निर्वाचनअघि परिवर्तन भयो। परिवर्तित भूगोलमा समेत २०७४ सालमा जित हासिल गरेकाले विरासतलाई निरन्तरता दिने रणनीतिका साथ उनी चुनावी मैदानमा छन् । खड्का पनि यसपटक इलाम २ का मतदाताले नयाँ जनप्रतिनिधि चाहेको भन्दै विजयको दौडमा छन्।
यो क्षेत्रको चुनावी अंकगणितमा एमाले र कांग्रेसबाहेक नेकपा माओवादी केन्द्रले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। नेकपा एकीकृत समाजवादी (नेकपा एस) को प्रभावचाहिँ यो क्षेत्रमा कम छ। नेकपा एसको संगठन कमजोर हुँदाको फाइदा नेम्वाङले लिने एमालेजनको भनाइ छ।
यो क्षेत्रमा एमालेबाट सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस नेम्वाङ पार्टीभित्र निर्विवादजस्तै छन्। उनीप्रति छिटपुट असन्तुष्टि भने छन्। इलाम कांग्रेसले सातजनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको थियो। केन्द्रबाट खड्काले टिकट पाएपछि संस्थापनइतर केही नेता भित्री रूपमा उनीविरुद्ध सक्रिय भएको कांग्रेसनिकट स्रोत बताउँछ।
को हुन् नेम्वाङ?
२०१० सालमा जन्मिएका सुवासचन्द्र नेम्वाङको बाल्यकाल इलाममै बित्यो। बुबा अदालतका न्यायाधीश भएकाले उनले इलाम सदरमुकामको सुन्तलाबारीस्थित आफ्नै घरमा बसेर विद्यालय र उच्च शिक्षा लिए। उनले कानुनमा स्नातक (बिएल) गरेका छन्।
नेम्वाङ संविधानसभाको अध्यक्ष रहेकै बेला नेपालको संविधान, २०७२ जारी भयो। ३१ राजनीतिक दलबीचको छलफलबाट बनेको नयाँ संविधान जारी गर्ने कामको नेतृत्व अध्यक्षको हैसियतमा नेम्वाङले नै गरे। पहिलो संविधानसभा निर्वाचन, २०६४ पछि संविधानसभाको अध्यक्ष बनेका उनी दोस्रो संविधानसभा निर्वाचन, २०७० पछि पनि सोही भूमिकामा रहे।
२०४८ र २०५२ सालमा राष्ट्रियसभा सदस्य बनेका नेम्वाङ २०५६, २०६४, २०७० र २०७४ सालमा इलामबाट विजयी भए। उनी कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पनि बने। संसद्को सार्वजनिक लेखा समिति अध्यक्ष हुँदै उनी सभामुख पनि भए। २०२९ सालमा अनेरास्ववियुको अध्यक्षको जिम्मेवारीमा पुगेका नेम्वाङ नेपाल बार एसोसिएसनको महासचिवसमेत भए। उनी एमाले स्थायी कमिटी सदस्य हुँदै अहिले उपाध्यक्ष छन्।
प्रतिनिधिसभा विघटनको ‘अपजस’
संविधानसभाले २०७२ सालमा नयाँ संविधान जारी गरेपछिका धेरैजसो कार्यक्रममा मन्तव्य दिँदा नेम्वाङले नछुटाएको वाक्य हो, ‘यो संविधान विश्वकै उत्कृष्ट छ।’ उनले संविधान जारी हुँदाताका संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, आवधिक निर्वाचनलगायत दर्जनौं विशेषतासहित समाजवादोन्मुख, जनताको संविधान बनेको बताएका थिए। तर २०७७ पुस ५ मा एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री ओलीले करिब डेढ वर्ष अवधि बाँकी रहँदै प्रतिनिधिसभा विघटन गरिदिए।
यो कदमले पार्टीभित्रै खट्पटमात्रै बढेन, विभाजन नै आयो। ओलीले प्रतिनिधिसभा विघटन सिफारिसको औचित्यबारे आफ्नै ढंगले तर्क गरिरहँदा यो मामिलामा बहुसंख्यक इलामवासीले चाहिँ संविधान र कानुनका ज्ञातासमेत मानिने आफ्ना प्रतिनिधि नेम्वाङकै प्रतिक्रिया पर्खिएका थिए। यस विषयमा संविधानसभाको अध्यक्ष भएर संविधान निर्माणको नेतृत्व गरेका नेम्वाङको स्पष्ट प्रतिक्रिया पर्खिनेमा उनलाई भोट हालेर जिताउने इलामेलीमात्र थिएनन्।
प्रतिनिधिसभा विघटनको कदमविरुद्ध आफ्नै दलका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालसमेत खुलेर लाग्दा नेम्वाङले ओलीका बचाउ गरे। सर्वाेच्च अदालत पुगिसकेको यो विषयमा नेम्वाङले आमसभाहरूमा भनेका थिए, ‘सर्वाेच्च पुगेको विषयमा मैले प्रतिक्रिया दिनु उचित नभए पनि अध्यक्ष (ओली) को कदम सही छ भन्नेमा मलाई १ सय होइन, २ सय प्रतिशत विश्वास छ।’
तर सर्वाेच्चले प्रतिनिधिसभा विघटन बदर गरिदियो। त्यसपछि ओलीमात्रै होइन, नेम्वाङ पनि आलोचनाको पात्र बने। नेम्वाङले ओलीलाई साथ दिएर सही गरे वा गलत भन्नेमा एमालेभित्रै दर्जनौं छलफल भए। तर गृहजिल्ला इलाम नै भएका पूर्वप्रधानमन्त्री खनाल नयाँ दल नेकपा (एस) प्रवेश गर्दा जिल्लामा उनीनिकट केही नेता र स्थानीय तहका थोरै जनप्रतिनिधिबाहेक अरूले एमाले छाडेनन्, नेम्वाङलाई नै साथ दिए। नेम्वाङको निर्वाचन क्षेत्र२ मा त एमाले छाड्नेको संख्या अत्यन्त न्यून रह्यो।
एमाले नेतृत्वको सरकारले २ पटकसम्म गैरसंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरेको आरोप खेपिरहेको छ। नेम्वाङलाई मतदातासामु अहिले यही विषय पर्गेल्ने मुख्य चुनौती छ। ओलीलाई कानुनी सल्लाह दिने ‘बलियो ब्याकअप’ मानिएका नेम्वाङमाथि चुनावको मुखमा पनि संविधासभा विघटनको ‘डिफेन्स’ गरी आफू र पार्टीको रक्षा गर्ने जिम्मेवारी छ।
सामाजिक सञ्जालमा होस् या अन्य माध्यमबाट, नेम्वाङलाई उनकै क्षेत्रका मतदाताले मुख्य रूपमा सोधिरहेको प्रश्न ‘प्रतिनिधिसभा विघटन किन आवश्यक थियो?’ भन्ने छ। प्रतिस्पर्धामा रहेका अन्य दलका उम्मेदवारले समेत नेम्वाङलाई प्रतिनिधिसभा विघटनसँगै जोडेर आलोचनाको विषय बनाउँदै मतदाता आफूतिर प्रभावित पार्ने प्रयास गरिरहेका छन्।
एमालेकै जिल्ला तहका एक नेता भन्छन्, ‘उहाँ (नेम्बाङ) पार्टीको केन्द्रीय पदाधिकारीसमेत रहनुभएकाले प्रतिनिधिसभा विघटनको औचित्य उहाँले विभिन्न कार्यक्रममा स्पष्ट पारिरहनुभएको छ। मतदातालाई यो प्रश्नको चित्तबुझ्दो जबाफ दिइरहनुभएको छ।’
नेम्वाङले इलाममा आयोजित चुनावी कार्यक्रममा मतदातासँग यो विषयलाई आफूले मुख्य जिम्मेवारी ठानेको बताएका थिए। प्रधानमन्त्री रहेका ओलीलाई पार्टीभित्रैबाट काम गर्न नदिइएपछि नयाँ जनादेशका लागि जनतामै जाने उत्तम बाटो खिेजिएको प्रतिक्रिया नेम्वाङले दिइरहेका छन्।
‘प्रतिनिधिसभा विघटनको निर्णय सर्वाेच्चले मानेन, त्यो अलग कुरा भो तर प्रधानमन्त्रीले मलाई काम गर्न दिइएन, अब नयाँ जनादेशका लागि जानुपर्छ भन्नु कसरी प्रतिगमन भो? सर्वाेच्चले विघटनको फैसला बदर नगरेको भए देशमा निर्वाचन भइसक्थ्यो, नयाँ संसद् बनिसक्थ्यो,’ नेम्वाङले मतदातासँग भनिरहेका छन्, ‘गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, मनमोहन अधिकारी, बाबुराम भट्टराईलगायतले पटक–पटक संसद् विघटन गरेका थिए, त्यो पनि प्रतिगमन थियो र?’ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईप्रति लक्षित गर्दै नेम्वाङ भन्छन्, ‘म अध्यक्ष भएको पहिलो संविधानसभा नै अचानक विघटन गर्ने त्यतिबेलाका प्रधानमन्त्री नै अहिले ओलीको कामलाई प्रतिगमनको संज्ञा दिँदै हिँड्दैछन्, यो हास्यास्पद होइन र?’
सडकको सकस
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ६ अर्ब रूपैयाँ लागत अनुमानको राँके–रवि भेडेटार सडक शिलान्यास गरे। यो सडकको अधिकांश भाग नेम्वाङकै निर्वाचन क्षेत्रमा पर्छ। भौगोलिक रूपले विकट मानिने इलामको पश्चिमी भेग र पाँचथरको सीमा भएर जाने सय किलोमिटरको यो सडक कालोपत्रेसहितको ठेक्कामा लागेको थियो। तर निर्माणको काम द्रुत गतिमा अघि बढ्न नसकेपछि बर्खामा यो सडकमा सवारीसाधन चल्न सक्ने अवस्था छैन।
हिलाम्मे सडकका कारण हजारौं सर्वसाधारणले यो सडकमा यात्रा गर्दा सास्ती खेप्नुपरेको छ। नेम्वाङले तदारुकता नदेखाउँदा यो सडक समयमै निर्माण हुन नसकेको उपभोक्ताको आरोप छ। यो सडकको कामलाई नेम्वाङसँग जोडेर सामाजिक सञ्जालमा आलोचना हुनु निर्वाचनको मुखमा उनका लागि अर्काे चुनौती भएको छ। स्थानीयले यो सडकमा नेम्बाङले चासो नदिएको, पटकपटक यही क्षेत्रबाट जितेर गए पनि भौतिक विकासमा पर्याप्त काम गर्न नसकेको आरोप लगाउने गरेका छन्।
योबाहेक दर्जनौं सडक बेहाल रहेको, आवश्यक स्थानमा पुल, सिँचाइ, विद्युत्लगायत पूर्वाधार नै नपुगेको गुनासो सर्वसाधारणको छ। ‘नेताहरू चुनावमा भोट माग्न मात्र आउँछन्, जितेर गएपछि जनता बिर्सिहाल्छन्,’ देउमाई नगरपालिका ३ का एक चिया किसान भन्छन्, ‘अहिलेसम्म यहाँबाट जितेर जाने नेताले हामीजस्ता किसानका लागि कहिल्यै सोचेनन्, कुनै योजना बनाएनन् र किसान उकास्ने कुनै कार्यक्रम ल्याएनन्।’
ती किसानले नेम्वाङले संविधान बनाउने कामको नेतृत्व गरे पनि आफ्नो क्षेत्रको विकासमा ध्यान नदिएको बताए। तर नेम्बाङसहित पाँचथर, मोरङ र धनकुटाका ८ सांसदले भेडेटार–रवि–राँके सडक निर्माणमा ठेकेदारले लापरबाही गररेको, म्याद थप्दासमेत १८ प्रतिशतभन्दा बढी भौतिक प्रगति नगरेको भन्दै ठेक्का तोडेर नयाँ प्रक्रिया थाल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई गत साउन १५ मा लिखित आग्रह गरेका थिए।
नेम्वाङले पटकपटक चुनाव जितेको क्षेत्रभित्रका कतिपय वडामा अहिलेसम्म सडक, विद्युत्, सिँचाइलगायत आधारभूत सेवासमेत पुग्न सकेको छैन। आमचोककी पवित्रा परियार नेपाली गाउँमै स्वास्थ्य उपचार नपाउँदा ज्यादै दुःख पाएको बताउँछिन्। उनले भनिन्, ‘मेरो नानी बिरामी भएर उपचार गर्न नपाउँदा मर्नु न बाँच्नुको अवस्थामा महँगो भाडा तिरेर झापा जानुपर्यो। गाउँमै राम्रो अस्पताल र डाक्टर भएका भए यो दुःख पाउनुपर्ने थिएन।’
दमक–रवि, राँके–गैडे–महमाईलगायत दर्जनौं सडक निर्माण थालिए पनि सम्पन्न र स्तरोन्नति नहुँदा सर्वसाधारणले कष्ट झेल्नुपरेको छ। भौगोलिक विकटताका कारण सर्वसाधारणले दैनिक आवश्यकताका लागि पनि सास्ती खेप्नुपरेको छ। फाकफोकथुम गाउँपालिकाका दुर्गा दाहाल भन्छन्, ‘पहिला हुँदै नभएका ठाउँमा अलि–अलि सडक त बनेका छन् तर हिउँदमा जसोतसो गाडी चल्ने सडक बर्खामा ठप्प हुने भएपछि गाउँमा के विकास भयो भन्नु?’ उनले २ नम्बर क्षेत्रका कतिपय नागरिक अझै पनि सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइलगायत सुविधाबाटै वञ्चित रहेको गुनासो गरे।
नेम्वाङ भने आफूले चुनाव जितेको क्षेत्रमा भौतिक पूूर्वाधार विकासको जग बसालेको दाबी गर्छन्। ‘यो क्षेत्रबाट चुनाव जितेर २५ वर्षयता सुवास नेम्बाङले के गर्यो भन्ने साथीभाइ (विपक्षी) ले प्रश्न गरेको सुन्छु,’ उनले भने, ‘अरू त केही भन्दिनँ, करिब ३ दशक साथीभाइ (कांग्रेस) कै दलको नेतृत्वमा सरकार रहेका बेला इलाम क्षेत्र २ का आयोजनाहरूमा आएको भन्दा बढी बजेट त मेरो पहलमा एउटै आयोजनामा आएको छ, त्यस्ता आयोजना दर्जनौं छन्।’
नेम्वाङले आफ्नै पहलमा राँके–रवि–भेडेटार सडकमा ६ अर्ब रूपैयाँ, दमक–चिसापानी सडकमा अढाई अर्ब र इलाम–बेलासे–झापा सडकमा ५६ करोड रूपैयाँ विनियोजित भएको दाबी गरे। आफूले चुनाव लड्दा २०५६ सालमा यो क्षेत्रलाई ‘इलामको कर्णाली’ भनिने गरेकोमा अहिले पूर्ण रूपमा नभए पनि विकासको लहर भने सुरु भएको उनको भनाइ छ।
‘यसरी बजेट छुट्टिएका दर्जनौं सडकसहित विद्युत्, सञ्चार, शिक्षा, स्वास्थ्य, पुल, सिँचाइ आयोजनालगायत पूर्वाधारलाई पूर्णता दिन बाँकी छ। यी कामलाई पूर्णता दिन र २ नम्बर क्षेत्रको चौतर्फी विकासलाई तीव्रता दिन यहाँका मतदाताले मलाई पुनः अवसर दिनुहुन्छ भन्ने विश्वास छ,’ उनले भने। उनले काम निरन्तर भइरहेका सडकमा चाँडै कालोपत्रे र स्तरोन्नतिका लागि प्रतिबद्धता जनाइरहेका छन्।
नेम्वाङलाई पूर्वमाओवादीको साथ
इलाममा २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि नेकपा माओवादी केन्द्रका धेरैल कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए। स्रोतका अनुसार त्यतिबेला जिल्लाभर माओवादीका २ हजार ७ सय सदस्य रहेकोमा १ हजार १ सय जना एमालेमा प्रवेश गरेका थिए। यसरी प्रवेश गर्नेहरू सबैजसो नेम्वाङकै क्षेत्रका थिए।
आफूहरूले अहिले नेम्बाङलाई साथ दिएको माओवादी त्यागेर एमाले प्रदेश कमिटी सदस्य भएका राजकुमार थापा बताउँछन्। ‘एमाले प्रवेश गर्ने सदस्यमात्र होइन, तिनका परिवारसमेतले यो पटक नेम्वाङलाई साथ दिएका छन्,’ थापाले भने, ‘गत स्थानीय तह निर्वाचनमा एउटै गठबन्धनमा रहेका कांग्रेस उम्मेदवारले जित्नु तर माओवादी पराजित हुनुको कारण पनि यही हो।’
धर्मगुरुको ‘आशीर्वाद’
यो निर्वाचन क्षेत्रको लारुम्बामा किरात धर्मगुरु आत्मानन्द लिङ्देनको बसोबास छ। किरात धर्मावलम्बीको बाक्लो बसोबास रहेको यो क्षेत्रबाट निरन्तर नेम्वाङ नै विजयी हुनुलाई कतिपयले ‘धर्मगुरुको आशीर्वाद’ का रूपमा अथ्र्याउँछन्। नेम्बाङले सधैं लारुम्बाको विकास र उन्नतिका लागि प्रयास गरिरहेको यो क्षेत्रका एमाले नेता बताउँछन्।
हरेक मंसिर १८ मा हुने धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मोत्सव समारोहमा सहभागी हुन नेम्वाङमात्र होइन, देशका उच्च पदस्थ व्यक्ति यहाँ आइपुग्छन्। यसपटक पनि चुनावमा उम्मेदवारी दिइसकेपछि नेम्बाङ र सत्ता गठबन्धनका उम्मेदवार खड्का समेतले गुरुलाई भेटेरै मतदातासँग भेटघाट सुरु गरेका थिए।
गठबन्धनबाट इलाम क्षेत्र २ (२) का प्रदेशसभा सदस्यका उम्मेदवार माओवादी केन्द्रका हर्क लावती (कान्छा) ले उम्मेदवारी मनोनयनपछि धर्मगुरुसँग भेटेको तस्बिर राखेर सामाजिक सञ्जालमा लेखेका थिए, ‘गुरुको आशीर्वाद लिइयो, विजय निश्चित गरियो।’ गठबन्धनका उम्मेदवार खड्का पार्टीको १४औं अधिवेशनबाट जिल्ला सभापति निर्वाचित हुनेबित्तिकै कार्य समितिले धर्मगुरु लिङ्देनलाई लारुम्बा पुगेर सम्मान गरेको थियो। तर राजनीतिक दलका उम्मेदवारलाई निर्वाचित गराउने वा नगराउने भन्नेमा धर्मगुरु लिङ्देनको भूमिका, हस्तक्षेप, आग्रह केही पनि नरहने एक अनुयायी बताउँछन्।
‘चुनावमा यसलाई जिताउने, उसलाई नजिताउने भन्नेमा गुरुको कुनै भूमिका हुँदैन, सबै मतदाता आफूलाई मन परेका उम्मेदवारलाई मतदान गर्न स्वतन्त्र हुन्छन्,’ ती अनुयायीले भने, ‘गुरुलाई भूमिका नै नभएको यस्तो राजीतिक विषयमा मुछ्न पनि हुँदैन।’
युवा प्रतिस्पर्धी
नेम्वाङका मुख्य प्रतिस्पर्धी ठानिएका सत्ता गठबन्धनका उम्मेदवार कांग्रेस जिल्ला सभापति डम्बरबहादुर खड्का युवा नेता हुन्। खड्का २०७४ सालको निर्वाचनमा इलाम क्षेत्र २ (१) बाट प्रदेशसभा सदस्यमा एमालेका रामबहादुर रानासँग पराजित भएका थिए। कांग्रेस संस्थापन पक्षका खड्का गत वर्ष सम्पन्न पार्टी अधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित भए।
नेपाल विद्यार्थी संघको पूर्वउपाध्यक्ष रहेका खड्का निर्माण व्यवसायी पनि हुन्। उनी समाजसेवामा पनि क्रियाशील छन्। खड्काले कोरोना महामारीमा पनि कतिपय सर्वसाधारणलाई खाद्यान्न र स्वास्थ्य सामग्री उपलब्ध गराएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक, सांस्कृतिक, खेलकुद, युवा र अन्य क्षेत्रमा आर्थिक सहयोग गरेका छन्।
खड्काको यस्तो ‘लगानी’ बढीजसो जिल्लाको क्षेत्र नम्बर १ मा भए पनि उनी क्षेत्र नम्बर २ बाट उम्मेदवार छन्। ‘जनताको सुख–दुःखमा साथ दिनेमात्रै वास्तविक प्रतिनिधि हो,’ उनी भन्छन्, ‘म युवा भएकाले पनि हरेक नागरिकको समस्यामा सहयोग गर्न सक्छु, आफैं जुटेर समाजको प्रगति र विकासमा लाग्ने भएकाले मलाई यो पटक मतदाताले जिताउनुहुन्छ भन्ने विश्वास छ।’ उनलाई नयाँ जनप्रतिनिधि बनाउन चाहने युवा पंक्ति पनि सानोचाहिँ छैन।
तर कांग्रेस नेत्री जुनु माखिमले पार्टी छाडेर यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएपछि खड्कालाई चुनावी प्रतिस्पर्धामा चुनौती थपिएको छ। एमाले उम्मेदवार नेम्वाङलाई भने माखिमको उम्मेदवारीले सहजता दिलाएको विश्लेषण गरिएको छ। ‘महिलालाई हरेक क्षेत्रमा पुरुषभन्दा पछि राखेर मूल्यांकन गरिन्छ,’ माखिमले भनिन्, ‘मेरो उम्मेदवारी कसैका विरुद्धमा होइन, लामो समय यो क्षेत्रमा पुरुषले मात्रै चुनावी प्रतिस्पर्धा गरेका छन्, जितेका छन्। अब महिलाको पनि पालो आउनुपर्छ भनेर मैले उम्मेदवारी दिएकी हुँ।’
२०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३६ हजार ५ सय १७ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका केशव थापाले २६ हजार ८ सय ६५ मत ल्याएका थिए। यो निर्वाचन क्षेत्रमा जिल्ला सदरमुकामसमेत रहेको इलाम नगरपालिकाका १२ वटा वडामध्ये १० बाहेक सबै, देउमाई नगरपालिका, माई नगरपालिकाका वडा ७, ८, ९ तथा फाकफोकथुम, माङ्सेबुङ र चुलाचुली गाउँपालिका पर्छन्।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा इलाम नगरको मेयर र चुलाचुली गाउँपालिकाको अध्यक्ष कांग्रेसले जितेको छ। देउमाई नगरको मेयरसहित फाकफोकथुम र माङ्सेबुङको अध्यक्ष एमालेले जितेको छ। यो क्षेत्रमा १ लाख १५ हजार ३ सय ४२ मतदाता छन्।
नेम्बाङ, खड्का र माखिमसहित यो क्षेत्रबाट राष्ट्रिय जनमुक्ति पार्टीका खड्गप्रसाद पालुङ्वा, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्दसिंह लिम्बु, नेपाली कांग्रेस (बिपी) का डाकप्रसाद गौतम, सामाजिक लोकतान्त्रिक पार्टीका तिलकबहादुर मगरलगगायत १४ जनाको उम्मेदवारी दर्ता भएको छ।
प्रकाशित: २१ कार्तिक २०७९ ०१:४१ सोमबार