१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गठबन्धनका शीर्ष नेता भन्छन्ः मंसिर ४ को निर्वाचन अग्रगामी र पश्चगामीबीचको प्रतिस्पर्धा हो

सत्ता गठबन्धन दलका शीर्ष नेताहरुले मंसिर ४ को निर्वाचनलाई  प्रतिगमनविरुद्ध अग्रगमनको लडाइको महाअभियान भएको बताएका छन्।

गठबन्धनले शुक्रबार बुटवलमा गरेको लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै गठबन्धनका शीर्ष नेताहरुले संविधान र लोकतन्त्र मास्न खोज्नेहरुका विरुद्ध अग्रगामी पाँच दलीय गठबन्धन चुनावी मैदानमा रहेको बताए।

कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले धेरै ठूलो लडाइ गरेर ल्याएको संघीय व्यवस्था र संविधान जोगाउन मंसिर ४ को निर्वाचनमा गठबन्धनले जित्नु पर्ने बताए। लोकतान्त्रिक गठबन्धनले नजिते प्रतिगमन फर्कन सक्ने खतरा र रहेको भन्दै उनले गठबन्धनका उम्मेदवारलाई जिताउन सबै इमान्दार भएर लाग्नु पर्नेमा जोड दिए।

संविधान र लोकतन्त्र मास्न खोज्नेहरुले प्रतिगामी गठबन्धन बनाएका छन् तीनलाई जसरी पनि रोक्नु पर्छ, होइन भने देश शंकट पर्छ’ सभापति देउवाले भने। संविधानको रक्षा गर्नु आफूहरुको प्रमुख दायित्व भएकाले गठबन्धन भित्र शंका उपशंका र बहानाबाजी नचल्ने पनी उनले बताए। गठबन्धनका चार दलले काँग्रेसलाई विश्वास गरेर राष्ट्रको नेतृत्व गर्ने अवसर दिएको उल्लेख गर्दै देउवाले एकले अर्कालाई विश्वास दिलाउने गरी काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिए।

संविधान रक्षाका लागि अझै केही वर्ष गठबन्धन आवश्यक भएको भन्दै उनले निर्वाचन पछि पनि थुप्रै वर्ष गठबन्धनले निरन्तरता पाउने बताए। संविधानको रक्षा गर्दै सुशासन, विकास र समृद्धि ल्याउनका लागि गठबन्धनका उम्मेदवारलाई मत दिएर जिताउन देउवाले मतदातालाई आग्रह गरे।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले झण्डै दुई तिहाई मत पाएको तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र र गणतन्त्र नै उल्टाउने प्रयास गरेकाले गठबन्धन बनाउनु परेको बताए।

‘बहुमत प्राप्त सरकारको नेतृत्व गरेकाबाटै १७ साल दोहोर्‍याउने प्रपञ्च गरीएपछि त्यसका विरुद्ध यो गठबन्धन बनेको हो। अब ती प्रतिगमनकारीहरुलाई परास्त गर्न हामी सबै एक ढिक्का भएर लाग्नु पर्छ’ पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले भने। दाहालले चुनाव सकिएपछि गठबन्धन सकिन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्दै प्रतिगमनको खतरा नसकिँदासम्म गठबन्धन निरन्तर रहने बताए।

मंसिर ४ गते आफू र आफनो पार्टीलाई मात्रै जिताउँछु भन्ने भ्रममा नपर्न आग्रह गर्दै उनले गठबन्धनका दलहरुबीच त्यस्तो सोचाइ राखे त्यो आत्मघाती हुने पनि बताए। ‘हामी एउटै डुङ्गामा छौं जिते सबै जित्ने हो हारे सबै हार्छौं’ उनले भने। आफूहरुले खबरदारी गर्दा गर्दै ओली सरकारले भयानक भ्रष्टाचार र प्रतिगामी कदमहरु चालेको उनले बताए।

‘भित्रैदेखि भ्रष्टाचार र बेथिति बढेपछि खबरदारी गर्दा सार्वभौम अधिकार रहेको संसद भङ्ग गर्ने कम्युनिष्ट खोल ओडेका प्रतिगमनका मतियार र उनको पार्टी भन्दा नेपाली काँग्रेस हजार गुणा बढी लोकतान्त्रिक छ’ दाहालले भने।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ठूलो बलिदान र दुःख गरेर ल्याएका परिर्वतन र संविधान समाप्त पार्ने खेल तत्कालीन प्रधानमन्त्री ओलीबाट सुरु भएपछि गठबन्धन गरेर अगाडि बढ्नु परेको बताए। नीति र विधिमा चल्न आग्रह गर्दा आलीले कामै गर्न दिएन भनेर रुन्चे मुख लगाउने गरेको उनले बताए।

बहुमतको सरकारको नेतृत्वकर्ताबाटै संविधान क्षतविक्षत हुने र लोकतन्त्र नै मासीने खतरा बढेपछि त्यसको प्रतिकारमा उत्रनु परेको पुर्वप्रधानमन्त्री समेत रहेका नेपालले बताए। ‘संविधान रक्षाका लागि हामीले जोखीम नउठाएको भए आज धेरै कुरा गुमिसकका हुन्थ्यौं। त्यही जोखीमकै निरन्तरा अहिले हामी यहाँ छौं र यो लोकतान्त्रिक गठबन्धन छ’ नेपालले भने। गठबन्नधनले जिते देशमा शुसासन, विकास र समृद्धि ल्याउने दाबी पनि गरे।

साथै कार्यक्रमलाई सम्बोधन गर्दै काँँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मंसिर ४ को निर्वाचन अग्रगामी र पश्चगामी बीचको प्रतिस्पर्धा भएको बताए। मुलुकमाथि खेलवाड गर्ने प्रतिगामी शक्तिविरुद्ध अग्रगमनकारीहरुले लोकतान्त्रीक गठबन्धन बनाएको उल्लेख गर्दै सत्ता नभइ व्यवस्था बचाउन लागि गठबन्धनलाई जिताउनु पर्ने बताए।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका कार्यबाहक अध्यक्ष रेश्मीराज नेपाली, नेपाली काँग्रेसका लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुन, लोसपाका लुम्बिनी प्रदेश अध्यक्ष सन्तोष पाण्डेय,लगायतले बोल्दै प्रतिगमनकारी शक्तिलाई परास्त गर्न लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले जित्नु पर्नेमा जोड दिए।

प्रकाशित: ४ कार्तिक २०७९ १४:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App