८ वैशाख २०८१ शनिबार
राजनीति

धरानबासीले किन रोजे साम्पाङ

मत परिणाम सुन्न आफ्ना समर्थकहरूका साथमा बसेका हर्क साम्पाङ। तस्वीर: रोहित राई

वैशाख ३० गतेको निर्वाचन नजिकिँदै गर्दा लोकतान्त्रिक वाम गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने सबैको आकलन थियो।

अघिल्लो चुनावमा पाएको मत हिसाब गर्दै बसेका नेपाली कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सामाजिक अभियन्ता हर्कराज राई (साम्पाङ) लाई सामान्य रूपमा लिएको थियो। जब चुनावी मतपरिणाम आयो, तब सबै चकित भए।

सम्भवतः आइतबार साम्पाङ धरानको मेयर हुने सुनिश्चित भइसक्नेछन्। मतगणना नसकिए पनि उनले शनिबार बेलुकी ७ बजेसम्म गठबन्धनका उम्मेदवार किशोर राई र एमाले उम्मेदवार मञ्जु भण्डारीलाई फराकिलो मतान्तरले पछाडि छाडिसकेका छन्। गणना भइरहेका वडा १५, १६ र १७ मा पनि साम्पाङको चुनाव चिह्न लौरोकै पक्षमा जनमत देखिन्छ।

यसपटक धराने जनताले मुलुकको नेतृत्व गरिसकेको ठूला दल र तिनका उम्मेदवारलाई पत्याएनन् र एक व्यक्तिका पक्षमा उभिए। साम्पाङसँग न संगठन छ, न राजनीतिक दलका जस्ता कार्यकर्ता नै छन्। तर पनि उनलाई धराने जनताले पत्याए, आखिर किन? यसको जवाफ मतगणना भइरहेको धरान १२ स्थित पब्लिक माविको मैदानमा भेटिएका धरान १५, पर्शुराम राईले दिए।

उनले भने, ‘२०४६ सालपछि हामीले निरन्तर भोट हाल्यौ। तर कसैले पनि गर्छौं भनेको काम गरेनन्। बरू हर्क साम्पाङले जनताका पक्षमा वकालत गर्नुभयो। भ्रष्टाचारको विरोध गर्नुभयो, बीपी हस्पिटल सुधारका लागि लड्नुभयो। यो कुरा मनन गरेरै मैले लौरोमा भोट हालें।’ सुरुमा एमालेमा रहेका राई पछि माले भए। माओवादी खुला राजनीतिमा आएपछि उनले माओवादीलाई पनि साथ दिए, तर कसैले पनि जनताका लागि काम नगरेको भन्दै उनी निराश छन्।

‘हर्क साम्पाङ ठीक लाग्यो र यसपालि भोट दिएँ’, उनले भने। स्वतन्त्र उम्मेदवार साम्पाङले मुख्य चुनावी मुद्दा खानेपानीलाई बनाएका थिए। खानेपानी धरानको सबैभन्दा ठूलो समस्या हो। धरानमा ठूला दलहरूले राजनीतिक संयन्त्रमा हुँदा नै २२ मिलियन डलरको खानेपानी परियोजना ल्याउन भूमिका खेले। विरोध हुँदाहुँदै पनि करोडौं ऋणमा ल्याएको परियोजनाको समय सकियो, तर २०७४ र २०७६ को उपनिर्वाचनबाट चुनिएका जनप्रतिनिधिले पनि कार्यकाल पूरा भइसक्दा जनतालाई खानेपानी वितरण गर्न सकेनन्।

साम्पाङले यो आयोजनामा भ्रष्टाचार भएको भन्दै निरन्तर आन्दोलन गरेर जनताको मन जिते। कम्युनिस्टलाई निरन्तर जिताइरहेका धराने जनताले २०७६ को उपनिर्वाचनमा पहिलोपटक कांग्रेसलाई जिताए। अपेक्षित परिणाम पाउन नसक्दा पुनः निराश भए। प्रतिलिटर १ रूपैयाँ दरले पानी किनेर पिउनु परेपछि धरान ११ की बनु राईको मन साह्रै कुँडिएको थियो।

के गर्ने, कसो गर्ने भन्ने भइरहेका बेला साम्पाङले खानेपानीका लागि आन्दोलन गरेको उनले सुनिन्। त्यसपछि साम्पाङसँगै निरन्तर आन्दोलन र अभियानमा लागेकी थिइन्। यसपटक वडाध्यक्षमा उम्मेदवार पनि बनिन्। आफ्नो जित नभए पनि साम्पाङले जनताबाट साथ पाएकोमा उनी असाध्यै खुसी छिन्। ‘उहाँ निःस्वार्थ हुनुहुन्छ, बोलीको पक्का हुनुहुन्छ। धरानलाई सुशासन दिएर भ्रष्टाचारमुक्त बनाउनुहुन्छ भन्ने विश्वासले नै मैले पनि साथ दिएँ’, उनले भनिन्।

धरान १५ विशाल चोककी हिमा पौडेल पनि विगतमा एमालेलाई भोट दिँदै आएकोमा यसपटक स्वतन्त्र उम्मेदवारलाई भोट दिएको खुलेर बताउँछिन्। भोट दिनुको कारणबारे उनी भन्छिन्, ‘हामीले पार्टीलाई पटकपटक भोट दियौं, केही भएन। महँगी बढ्यो। पानी हप्तामा १ दिन पनि पाएनौं। जनतालाई आशा मात्र देखाउने तर काम नगर्ने भए। हामीलाई विश्वास घात गर्नुहुन्न भन्ने आशा लागेर यसपटक लौरोमा भोट हाल्यौं।’

साम्पाङका पक्षमा खुलेका यी तीनजना प्रतिनिधि पात्र हुन्। यसपालि धरानका जनताले नगर प्रमुख पदमा राजनीतिक दलका उम्मेदवारलाई अस्वीकार गरिदिए। महेन्द्र बहुमुखी क्याम्पस धरानका उपप्राध्यापक राजेशकुमार यादव ‘विद्रोही’ धरानको यो मतपरिणामलाई दलहरूप्रतिको नागरिकको आक्रोशको अभिव्यक्ति भन्छन्।

दलहरूप्रति जनताले पटकपटक गरेको विश्वास र अपेक्षा पूरा नभएका कारण आक्रोशपूर्ण अभिव्यक्ति मतपरिणाममा आएको उनले बताए। जनताका सपना ठूलो नभएको तर नेताहरूले नै ठूला सपना देखाएर पूरा नगर्दा निराशा छाएको उनको भनाइ छ। खानेपानी, शिक्षा, स्वास्थ्य, महँगी नियन्त्रणमा मात्र ध्यान दिँदा पनि जनता खुसी हुने उनको भनाइ छ।

‘अब दलहरूले टिकट दिँदैमा जित्छ भन्न सकिँदैन। लोकतन्त्रमा मतदाताले मताधिकारमार्फत आफ्नो अभिमत व्यक्त गर्ने हुन्, अहिले त्यही भइरहेको छ’ उपप्राध्यापक विद्रोहीले भने, ‘दलहरूले उम्मेदवार छनौट गर्दा पनि विवकेपूर्ण देखिएनन्। जनताले चाहेको, जनतामा भिजेको उम्मेदवार भएको हुनुपर्ने रहेछ। मतदाता सचेत हुन थालेका छन्। छानीछानी आफूले रोजेको उम्मेदवारालई भोट दिएका छन्।’

राजनीतिक विश्लेषक एवं सहप्राध्यापक डा. राजेन्द्र शर्मा पनि साम्पाङले निरन्तर जनचासोका विषय, बेथिथि र भ्रष्टाचारविरुद्ध आवाज उठाइरहेकाले जनताको विश्वास जितेको बताउँछन्। सर्दु जलाधार अतिक्रमणविरुद्ध, खानेपानी, बसपार्क, सर्दु उत्खननमा भएको अनियमितता, बीपी प्रतिष्ठानको बेथिति, नगरपालिकाको भ्रष्टाचारविरुद्ध साम्पाङले निरन्तर आवाज उठाउँदै खबरदारी गरेको र जनताले त्यही रुचाएको शर्माले बताए।

‘जनताले यो मान्छे आयो भने गर्छ भनेर विश्वास गरे। पार्टीहरूले उठाएका पुराना अनुहार मन पराएनन्, भ्रष्टाचारको जालो र सेटिङका कारण जनताले विकल्प खोज्दा परिणाममुखी व्यक्तित्व हर्क साम्पाङ भेटें’, शर्मा भन्छन्। साम्पाङ पनि आफूले निरन्तर जनताका समस्या, जनजीविकाका विषयमा आवाज उठाइरहँदा नै आफूलाई विश्वास गरेको ठान्छन्।

‘मैले ठूला मुद्दा उठाएको होइन, जनताका जनजिविकाका विषयमा आवाज उठाएको हुँ, जनतालाई ठूला कुरा चाहिएको पनि होइन रहेछ’, उनी भन्छन्, ‘खानेपानी समस्या, नगरपालिका र बीपी प्रतिष्ठानको भ्रष्टाचारबारे बोलें, सडकका खाल्डाखुल्डी, महँगी नियन्त्रणबारे पनि आवाज उठाएँ, यो सबै जनताकै मुद्दा हो, त्यसैले जनताबाट पनि मैले साथ पाएँ।’

साम्पाङ २०७६ को उपनिर्वाचनमा पनि मेयरमा स्वतन्त्र उम्मेदवार थिए। त्यसबेला उनी ४२२ मत ल्याएर पराजित भए, तर उनी निराश भएनन्। निरन्तर बस्तीबस्तीमा पुगेर जनताका समस्या बुझ्ने काम गरे। राजनीतिक दलहरू चुनावका बेला मात्र घरदैलो गर्दा साम्पाङ भने सधैं जनताकै माझमा पुगिरहेका हुन्थे। उनी कहिले सीमा अतिक्रमण र एमसीसीविरुद्ध एक्लै प्रदर्शन गर्थे, कहिले सीमित संख्यामा आफ्ना समर्थकहरूका साथमा विरोधमा उत्रने गर्थे।

सीमा अतिक्रमणको मुद्दा चर्किंदा उनले इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतनाअघि पनि पुगेर सेनालाई ब्यारेकमा होइन, सिमानामा खटाऊ भन्दै प्रदर्शन समेत गरेका थिए। सर्दु खोला जथाभावी उत्खनन भएको विरोधमा जाँदा ठेकेदार समूहले उनका समर्थकलाई आक्रमण गरेर घाइते समेत बनाएको थियो।

पछि प्रहरीले उल्टै उनी र उनका साथीहरूलाई मुद्दा चलाएको थियो। खानेपानी मुद्दा निरन्तर उठाइरहेका साम्पाङलाई पाइप तोडफोड गरेको आरोपमा प्रहरीले समातेर मुद्दासमेत लगायो। ‘मैले जे गरें, जनताकै लागि गरें, जनताले मलाई नियालिरहनुभएको रहेछ भन्ने लागेको छ’, साम्पाङ भन्छन्।

प्रकाशित: ८ जेष्ठ २०७९ ०३:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App