नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन एमालेदेखि अत्तालिएको बताएका छन्। उनले एमालेदेखि अत्तालिएकैले पाँच दलीय गठबन्धनको आगामी वैशाख ३० गतेको निर्वाचनका लागि साझा उम्मेदवार तय गर्ने ढंगले अघि बढेको जिकिर गरे।
‘अत्तालिएर पाँच दलको साझा उम्मेदवार तय गरेपनि एमालेका उम्मेदवारलाई चुनावमा जिताए जगैदेखिको विकास हुनेछ,’ अध्यक्ष ओलीले बुधबार सुनसरीको इनरुवामा आयोजित आमसभामालाई सम्बोधन गर्दै भने।
उनले स्थानीय तहको निर्वाचन सरकार परिवर्तन गर्ने नभएपनि एमालेका उम्मेदवारले जिते जगैदेखिको विकास गर्न हुने आश्वासन दिए। ‘एमाले विकास गर्ने र देश बनाउने पार्टी हो,’ ओलीले भने, ‘भविष्यमा संघीय चुनाव जितेर सरकार बनाउँदा नयाँ योजना र भिजनका साथ देशको विकास गर्न जगैदेखिको विकास गर्न एमालेका स्थानीय तहका उम्मेदवारलाई जित्नु आवश्यक छ।’
उनले एमाले मधेस विरोधी पार्टी भनेर भ्रम फिजाए पनि यतिबेला मधेसमा छाएको जिकिर गरे। ‘एमाले मधेस विरोधी पार्टी भनेर हल्ला फैल्याए पनि यतिबेला मधेसी जनता एमालेमा लामवद्ध भएर लागेका छन्,’ उनले भने, ‘एमाले मधेसी, पहाडी, हिमाली सबैको पार्टी हो।’
ओलीले एमालेले गरेका काम रोक्न नसकेर प्रतिक्रियावादी शक्तिले समाप्त पार्न अदालतमा मुद्दा हालेर सरकारबाट बाहिरन बाध्य बनाएको बताए। ‘अहिलेको सरकार जनताको अभिमतबाट होइन, मुद्दा जितेर बनेको हो, जसले गर्दा अहिलेको सरकार क्षणीक हो,’ उनले भने, ‘अहिलेको सरकारले एमालेले ल्याएका विकास योजना कटौती गर्दैछ।’
देशको अवस्था श्रीलंकाको बाटोमा लागेको जिकिर गरे। ‘देशको अवस्था टाट पल्टिने अवस्थामा पुगेको छ। श्रीलंका जस्तै नाजुक अवस्थामा पुगी सकेको छ,’ ओलीले भने। उनले एमालेले नेपालका छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राख्न चाहेको बताए।
प्रकाशित: ३० चैत्र २०७८ १२:२१ बुधबार