७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेस सभापतिमा देउवाको सम्भावना

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको मतदान राति अबेर सकिएको छ। विभिन्न २९ प्रकारका मतपत्र छपाइमा ढिला हुँदा पौने चार घण्टा ढिला गरी सोमबार बिहान ११ः४५ बजे मात्र मतदान सुरु भएको थियो।

पूर्वमहामन्त्री कुलबहादुर गुरुङले आगामी चार वर्षका लागि पार्टीको नयाँ नेतृत्व छनोट गर्न भएको निर्वाचनमा पहिलो मत दिए।

नेतृत्व चयनका लागि सभापतिसहित १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्यका लागि ४ सय ९० जना प्रतिस्पर्धामा छन्। प्रदेश नम्बर २ बाट आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएकाले सोमबार १ सय ३२ पदका लागि निर्वाचन भएको छ।

मतपत्र छाप्न ढिला हुँदा पटकपटक मतदान रोकिँदा रातिसम्म कांग्रेस महाधिवेशन प्रतिनिधि मतदान गर्न लाइनमा बस्नुपरेको थियो। मतदान राति ११ बजे सकिएको छ। सभापतिको मतगणना राति दुई बजे सुरु भएको छ। मंगलबार बिहान सात बजेसम्ममा मतगणना सकिने अनुमान गरिएको छ।

चार वर्षका लागि नेतृत्व छान्न भएको निर्वाचनमा सभापतिको प्रतिस्पर्धामा शेरबहादुर देउवा, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ छन्। सभापतिका पाँच उम्मेदवारमध्ये प्रधानमन्त्रीसमेत रहेका वर्तमान सभापति देउवा बलियो देखिएका छन्।

तर कांग्रेस सभापतिमा निर्वाचित हुन धेरै भोट ल्याएर मात्र पुग्दैन,दुईभन्दा बढी उम्मेदवार हुँदा कुनै पनि सभापतिको उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने हुन्छ। देउवाले पहिलो चरणमै विधानको व्यवस्थाअनुसार आवश्यक मत ल्याउने आकलन गरिएको छ। कुल ४ हजार ७ सय ४३ मतदाता रहेकोमा ४ हजार ६७९ मत खसेको छ। सभापतिमा निर्वाचित हुन यसको ५० प्रतिशत कटाउनु पर्छ।

१३औं महाधिवेशनमा दोस्रो चरणमा भएको निर्वाचनबाट मात्र देउवा सभापतिमा निर्वाचित भएका थिए। तर दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रिएका देउवाका लागि उनका समकक्षी नेता रामचन्द्र पौडेल नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिँदा सभापतिमा पुग्न सहज हुने देखिएको छ।

देउवा इतर समूहबाट साझा उम्मेदवार बनाउने प्रयास असफल भएपछि पौडेल मतदानमा पनि सहभागी भएनन्। देउवा इतर समूहबाट सभापतिको प्रत्याशी बनेका शेखर कोइराला र प्रकाशमान सिंह दुवैको पक्षमा पौडेल खुलेनन्। त्यसको लाभ पनि देउवालाई नै पुगेको छ।

कोइराला परिवारको लिगेसीसहित शेखर सभापतिको प्रत्याशी बनेको बताइए पनि निवर्तमान महामन्त्री एवं बिपी पुत्र शशांक कोइराला पनि खुलेनन्। सभापतिको आकांक्षी शशांक देउवाको विकल्प दिन पौडेललाई इतर समूहबाट साझा उम्मेदवार बनाउनुपर्ने पक्षमा देखिएका थिए। तर सिंह र शेखर दुवै आफ्नो अडानबाट पछि नहटेपछि शशांकले दाजु शेखरको पक्षमा पनि खुलेनन्।

बरु दुवै गुटले आफूलाई माया गरेर केन्द्रीय समितिको सूचीमा नाम राखेको प्रतिक्रियामा सीमित बने। आफ्नै समूहका नेताहरूप्रति असन्तुष्ट रहेका नेता पौडेललाई देउवाले उनकै निवासमा पुगेर भेटेर मन जित्ने प्रयास गरे। शशांकलाई सरकारी निवास बालुवाटारमा बोलाएर भेटे। पौडेल र शशांक सभापतिको कुनै पनि उम्मेदवारको पक्षमा नखुल्दा त्यसको लाभ वर्तमान सभापति देउवालाई नै पुग्नेछ।

दुई नेता शेखर वा सिंहको पक्षमा नखुले पनि उनीहरूले संस्थापन इतरका अन्य नेताहरूलाई पनि टिममा मात्र होइन, निर्वाचनमा पनि समेटेर अघि बढ्न सकेनन्। पार्टीका प्रभावशाली नेताहरू रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसीसहितका नेता शेखर वा सिंहको प्यानलमा अटाउन सकेनन्। त्यति मात्र होइन, उनीहरू पनि शेखर र सिंहको पक्षमा खुलेनन्।

अर्का नेता महेश आचार्य दुवै उम्मेदवारसँग नजोडिईकन उपसभापतिको उम्मेदवार बने। त्यसो हुँदा शेखरको समूहबाट उपसभापतिमा चन्द्रकान्त भण्डारी र धनराज गुरुङ उम्मेदवार बने। गिरिजाप्रसाद कोइराला पुत्री सुजाता कोइराला सिंहको समूहबाट उपसभापतिको प्रतिस्पर्धामा उत्रिइन्। सिंहले अर्को उपसभापतिमा कसैलाई पनि जोड्न सकेनन् भने महामन्त्रीमा युवा नेता विश्वप्रकाश शर्मा मैदानमा खडा भए। तर सिंहले अर्को महामन्त्रीमा पनि उम्मेदवार दिएनन्।

शेखरले मीनेन्द्र रिजाल र गगन थापालाई महामन्त्रीमा अघि सारे। रिजाल र थापा शेखरको सहारा त बने तर उपसभापतिमा बलियो उम्मेदवार नभएको निकटहरूको बुझाइ छ। सिंहले एक उपसभापति र महामन्त्रीमा बलियो उम्मेदवार दिए तर उनी पनि प्यानल बनाउन असफल भए। दुवै नेताले एकले अर्कालाई रोक्ने इगोको लाभ देउवालाई पुग्ने विश्लेषण गरिएको छ।

बिपीदेखि सुशील कोइरालासम्मका नेतासँग सँगै काम गरेका देउवा सत्ताका माहिर खेलाडी हुन्। पाँचौं पटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेका देउवाका लागि पार्टी नेतृत्वमा पुग्न त्यो पनि सहारा बन्ने देखिएको छ।

निकट भविष्यमा हुने तीन तहको निर्वाचनमा टिकट वितरणदेखि सरकारले गर्ने विभिन्न नियुक्तिको आश्वासनले पनि केही मतदातालाई आफ्नो पक्षमा उभ्याउन देउवाका लागि सहज भएको अनुमान छ। त्यसका साथै १३औं महाधिवेशनबाट तेस्रो धारका रुपमा उदाएको कृष्णप्रसाद सिटौला समूहले पनि उनै देउवालाई सहयोग गरेको छ। पछिल्लो चार वर्षमा विभिन्न पार्टी छाडेर कांग्रेस प्रवेश गरेका विजयकुमार गच्छदार, सुनिल थापासहितको समर्थन देउवालाई नै छ।

देउवा निकट उपसभापति विमलेन्द्र निधिले विद्रोह गर्दै सभापतिमा उम्मेदवारी दिएका छन्। तर अन्य पार्टीबाट आएकाहरूको समर्थन र सहयोगले त्यसको क्षतिपूर्ति हुने उनीहरूको बुझाइ छ। महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र देउवालाई चुनौती दिँदै सभापतिको प्रतिस्पर्धामा त उत्रिए। तर उपसभापति र महामन्त्रीमा एकएकजनालाई मात्र मैदानमा खडा गरे। त्यो पनि बलियो उम्मेदवार दिननसक्दा देउवाले निधिबाट धेरै थ्रेट महसुस गरेका छैनन्।

देउवाले उपसभापतिमा निवर्तमान महामन्त्री पूर्णबहादुर खड्का र उपसभापति गच्छदारलाई फेरि मैदानमा उतारेका छन्। कर्णालीका खड्का र प्रदेश १ का गच्छदार शेखर समूहका उम्मेदवारभन्दा बलिया र प्रभावशाली नेता हुन्। त्यसले पनि देउवालाई परिणाम आफ्नो पक्षमा पार्न बल पुग्ने देखिन्छ। महामन्त्री सिटौलासँग जोडिएका प्रदीप पौडेलका साथै प्रकाशशरण महतलाई देउवाले अघि बढाएका छन्। पौडेललाई महामन्त्रीमा अघि बढाउँदा सिटौला समूहसँग रहेको भोट देउवासँग जोडिएका छन्।

पौडेललाई महामन्त्रीमा अघि बढाउँदा देउवा निकटका अन्य आकांक्षीहरूमा केही असन्तुष्टि देखिए पनि त्यसको प्रभाव निर्वाचनमा प्रकट भएको छैन। महामन्त्रीका आकांक्षी बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र एनपी साउद थिए। गृहमन्त्रीसमेत रहेका खाँणले महामन्त्रीको उम्मेदवार हुन नपाएकोमा आफू दुःखी नभएको बताए। ‘सिटौला पक्षलाई महामन्त्री दिएर म दुःखी छैन,’उनले भने, ‘सभापतिका केही बाध्यतालाई बुझ्नुपर्छ। सिटौला पक्षसँग सहकार्य गर्नुपर्छ भन्ने मान्यता मेरो पनि हो।’

त्यसका साथै पार्टीको संस्थापन पक्ष रहेका देउवाका लागि क्रियाशील सदस्यता वितरणदेखि महाधिवेशन प्रक्रियामा त्यसको पनि लाभ पुग्ने देखिएको छ। कृष्णप्रसाद सिटौलाले सभापतिका उम्मेदवार शेरबहादुर देउवाले पहिलो चरणमै जित्ने विश्वाससहित मत खसालेको बताए। आफ्नो माहोल राम्रो रहेको बताउँदै सभापतिका प्रत्याशी देउवाले मतदानस्थलबाट बाहिरिने क्रममा पत्रकारहरूसँग भने, ‘माहोल राम्रो छ।’ 

सभापतिका अन्य प्रत्याशीले भने पहिलो चरणमा कुनै पनि उम्मेदवारले विधानको व्यवस्थाअनुसारको मत नपाउने दाबी गरेका छन्। धेरै मत पाउने दुई जनाबीच हुने प्रतिस्पर्धाको परिणाम सोचेभन्दा फरक आउने बताउँदै अर्का उम्मेदवार सिंहले भने,‘पहिलो चरणमा नतिजा निस्केन भने दोस्रो चरणमा नेतृत्व परिवर्तन हुन्छ।’

निधिले पहिलो चरणमा कसैले पनि आवश्यक मत नपाउने भन्दै दोस्रो चरणमा जाने दाबी गरे। दोस्रो चरणमा देउवा इतरका उम्मेदवार एक ठाउँमा उभिने अवस्था आउने र नेतृत्व परिवर्तन हुने उनको बुझाइ छ। दोस्रो चरणमा देउवा र शेखरबीच प्रतिस्पर्धा हुने सम्भावना बढी छ।

त्यस्तो अवस्थामा सिंहको सहयोग शेखरलाई हुनेमा धेरैले आशंका गर्दै आएका छन्। उमेरले शेखर सिनियर भए पनि राजनीतिमा जुनियर रहेको भन्दै सिंहले आफूलाई आफ्नो विचार समूहबाट अन्याय भएको बताउँदै आएका छन्। महाधिवेशनको प्रतिस्पर्धाले उनीहरूमा बढाएको तिक्तताले सिंहको रोजाइ शेखरभन्दा देउवा नै हुने विश्लेषण गरिएको छ।

देउवालाई विगतदेखि नै नेता मान्दै आएको र १३औं महाधिवेशनबाट पनि सभापतिमा चुनिएकाले नेतृत्व स्वीकार गर्न सहज हुने बुझाइ छ। निवर्तमान उपसभापति विमलेन्द्र निधिलाई देउवाले बढी च्यापेको भन्दै सिंहले १२औं महाधिवेशनमा उनको साथ छाडेका हुन्।

त्यति बेला उनी सुशील कोइराला समूहबाट महामन्त्रीको प्रत्याशी बन्दै निर्वाचित भएका थिए। अहिले निधि देउवा समूहबाट बाहिरिएका छन्। तर अहिले फेरि देउवासँग सिटौला जोडिएका छन्। सिटौला र निधिको सम्बन्ध पनि सुमधुर भने छैन।यसैबीच सभापतिबाहेक अन्य पदका लागि भएको निर्वाचनको मतपेटिका भने पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ।

प्रकाशित: २८ मंसिर २०७८ ००:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App